कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

अब ६ प्रदेशमा सरकारी मेडिकल कलेज : सुदूरपश्चिमलाई बेवास्ता

भाद्र २३, २०८१
अब ६ प्रदेशमा सरकारी मेडिकल कलेज : सुदूरपश्चिमलाई बेवास्ता

Highlights

  • सरकारले गेटालाई विगतमा मेडिकल कलेज वा प्रतिष्ठान बनाउने भन्दै आएको थियो ।

धनगढी — सुदूरपश्चिममा मेडिकल शिक्षा अध्यापन गराउने उद्देश्यले कैलालीमा गेटा मेडिकल कलेजका लागि संरचना निर्माण गरिए पनि सरकारी बेवास्ताका कारण सञ्चालनमा आउन सकेको छैन । कलेजसँग सम्बन्धित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसद्मा विचाराधीन हुँदा पनि सरकारी तबरबाट मेडिकल शिक्षा अध्यापन सुरु हुन नसकेको हो ।

गेटामा कम्तीमा ६ सय शय्यासम्म सञ्चालन गर्न सकिने संरचना दुई वर्षअघि नै निर्माण भएको थियो । अस्पतालले ३ सय शय्यासम्मको अनुमति मागे पनि सरकारले भने ५० शय्याको अस्पतालमात्रै सञ्चालनको स्वीकृति दिएको छ । संघीय सरकारले ०८० असारमा ‘न्यूनतम सुविधा’ सहितको एक सय शय्याको अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले ५० शय्याको अस्थायी स्वीकृति दिएको हो ।

चिकित्सा शिक्षा अध्यापनका लागि कम्तीमा ३ सय शय्याको अस्पताल सञ्चालनमा रहेको हुनुपर्ने व्यवस्था छ । अस्पतालका तत्कालीन निर्देशन डा. प्रमोद जोशीले ०८० कात्तिक १ देखि ओपीडी सेवा सुरु गरेका थिए । ओपीडी सेवा प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको अवस्थामा अस्पताल प्रमुख डा. विप्लव सापकोटाले गत साउन ३२ देखि अन्तरंग (इन्डोर) सेवा पनि सुरु गरेका छन् । इन्डोर सेवा थालेको तीन साता बितिसक्दा एक जना बिरामी पनि गेटा अस्पताल पुगेको अभिलेख छैन ।

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले ओपीडीमा दैनिक ४० जनासम्म बिरामी हुने गरेको बताए । अस्पतालमा एक सय ४१ जनाको अस्थायी दरबन्दी छ । सूचना अधिकारी कार्कीका अनुसार हाल १० जना विशेषज्ञ चिकित्सक छन् । तीन जना हाडजोर्नीका चिकित्सक र दुई रेडियोलोजिस्ट छन् । यस्तै स्त्रीरोग विशेषज्ञ, फिजिसियन, जनरल सर्जन, एमडीजीपी र एनेस्थेसियन एक/एक जना छन् । थप ५ जना मेडिकल अधिकृत छन् । बिरामी नआएपछि उनीहरू अधिकांश दुई घण्टाजति अस्पतालमा हाजिर लगाएर धनगढी फर्किने गरेका छन् ।

अस्पतालमा आकस्मिक सेवा, फार्मेसी, प्रयोगशाला, अप्रेसन थियटर, आईसीयू स्थापना हुन सकेको छैन । ‘आधारभूत सेवा सञ्चालन नभएसम्म इन्डोर सञ्चालन हुन सक्ने कुरै भएन,’ एक कर्मचारीले भने । अस्पतालले तीन सय शय्याको स्वीकृति र दरबन्दी माग गरी मन्त्रालयमा पठाइएको जनाएको छ ।

अस्पताल प्रमुख डा. सापकोटा आफू जिम्मेवारीमा आएदेखि नै अस्पतालका लागि आवश्यक कार्य गर्न लागिपरेको दाबी गर्छन् । ‘बाहिरबाट हेर्दा विशाल र भव्य भवनभित्र अहिलेको सुरुआती अवस्था देख्दा मनमा प्रश्न उठ्नु स्वाभाविकै हो । तर अस्पतालका लागि आन्तरिक पूर्वाधार व्यवस्थापन जहाँसुकै शून्यबाट सुरु गर्नुपर्छ,’ उनले भने, ‘उपकरण स्थापना गरेर सञ्चालनमा आउनेबित्तिकै सेवा प्रभावकारी बनाउन सकिनेछ । धेरैजसो मेडिकल पूर्वाधार स्थापना हुने चरण पुर्‍याएका छौं ।’

सरकारले गेटालाई विगतमा मेडिकल कलेज वा प्रतिष्ठान बनाउने भन्दै आएको थियो । ०७९ माघ २९ मा मन्त्रिपरिषद्को बैठकबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभा सदस्य गरिमा शाहले गेटाको विधेयक राष्ट्रिय सभाबाट ०८० माघ २९ मा सर्वसम्मत रूपमा पारित गरिसकेको बताइन् ।

‘हाल प्रतिनिधिसभामा रहेको उक्त विधेयक चाँडो पारित भएर कार्यान्वयन प्रक्रियामा जाओस् भन्ने सुदूरपश्चिमको साझा धारणा हो,’ उनले भनिन् । प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले उक्त विधेयक प्रतिनिधिसभाको शिक्षा समितिमा छलफलको चरणमा रहेको बताए । ‘कहिले पारित हुन्छ, भन्न सकिन्न,’ उनले भने, ‘सकभर यसै अधिवेशनमा पारित होस् भन्ने चाहन्छौं ।’

प्रकाशित : भाद्र २३, २०८१ ०५:२३
×