कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

कालुङचोक क्रिकेट मैदान हस्तान्तरण

भाद्र २२, २०८१
कालुङचोक क्रिकेट मैदान हस्तान्तरण

सुर्खेत — कर्णाली प्रदेश खेलकुद परिषद्ले निर्माण सम्पन्न भएको कालुङचोक क्रिकेट मैदान कर्णाली प्रदेश क्रिकेट संघलाई हस्तान्तरण गरेको छ । संघको दोस्रो वार्षिकोत्सव कार्यक्रममा परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले प्रदेश अध्यक्ष एवं क्यान कोषाध्यक्ष पदमबहादुर खड्कालाई मैदान हस्तान्तरणको पत्र दिए ।

कालुङचोकमा तीन पिचसहित ६५ यार्डको क्रिकेट मैदान, तीनकोठे प्रिफेब घर, एक पानी ट्याङ्कीसहितको मोबाइल शौचालयसहितका संरचना हस्तान्तरण गरिएको हो । यही मैदानमा असार ८ देखि १४ सम्म मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना भइसकेको छ । प्रदेश अध्यक्ष खड्काले रंगशालाको अभावबीच कर्णालीमा क्रिकेटको विकास र विस्तार भइरहेको बताउँदै अब ठूला प्रतियोगिता आयोजना गर्न समस्या नहुने बताए । उनले प्रदेश राजधानी वीरेन्द्रनगरमै दुई क्रिकेट रंगशाला तयार भएकाले यसको संरक्षण र रेखदेखको जिम्मा क्रिकेटप्रेमीको भएको औंल्याए ।

क्रिकेट रंगशाला संरक्षणका लागि केन्द्रले ५ लाख रुपैयाँ छुट्याएको जानकारी गराइएको थियो । ‘निकट भविष्यमै कर्णाली प्रदेशमा १० औं राष्ट्रिय खेलकुद आयोजना हुँदै छ,’ उनले भने, ‘त्यसका लागि क्रिकेट मैदानको रेखदेख र संरक्षणका लागि संघले आवश्यक रकम छुट्याएको हो ।’

उनले समयमै साधारणसभा आयोजना गर्ने जिल्ला र प्रदेश शाखालाई प्रोत्साहनस्वरुप ५० हजार र क्रिकेट गतिविधि आयोजनाका लागि थप एक लाख दिने निर्णय भएको बताए । उनले पहिलो चरणमा नेपालका १० जिल्लामा महिला क्रिकेटर प्रोत्साहन कार्यक्रम गर्न लागिएको बताए । ती १० जिल्लामा कर्णालीबाट दैलेख र सल्यान छनोट भएको छ ।

अध्यक्ष खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो पटक कर्णाली सहभागी हुने अवसर पाएको बताए । ‘विगतमा सात टिम हुन्थे, वाग्मतीको प्रतिनिधित्व चितवनले गर्दथ्यो, काठमाडौंको छुट्टै टिम हुन्थ्यो,’ उनले भने, ‘अब एनपीएलमा कर्णाली आफ्नो पहिचानसहित सहभागी हुनेछ ।’ उनले एनपीएल आयोजनाबाट संकलित रकम प्रदेश र जिल्लालाई समानुपातिक वितरण गरिने जनाए ।

कर्णाली खेलकुद परिषद्का सदस्य–सचिव सञ्ज्यालले क्रिकेट रंगशाला निर्माणसँगै अब खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताए । उनले क्रिकेटप्रतिको बढ्दो लोकप्रियतालाई संघले ध्यान दिनुपर्ने बताए । ‘गाउँगाउँमा क्रिकेट खेलको विकासका लागि स्कुल स्कुलमा आउटडोर नेट राखेर अभ्यास गर्ने बानी बसाल्नुपर्छ,’ उनले सुझाए, ‘यसो गर्न सकेको खण्डमा कर्णालीमा उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिन्छ ।’

सदस्य सचिव सञ्ज्यालले प्रदेश राजधानी सुर्खेतमा दुई क्रिकेट मैदानका साथै इन्डोर र आउटडोर अभ्यासका लागि नेट राखिएको बताए । उनले पूर्वी सुर्खेतको मैनतडामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको पहल भइरहेको जानकारी गराए ।

प्रकाशित : भाद्र २२, २०८१ २१:३०
×