कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

एपीएफ शीर्ष स्थानमा

भाद्र ३१, २०८१
एपीएफ शीर्ष स्थानमा

Highlights

  • एपीएफको लगातार चौथो जितसँगै पाँच खेलबाट १३ अंक

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन तथा उपाधिको सबैभन्दा बलियो एपीएफ आइतबार एन्फा वुमेन्स लिग २०२४ मा पहिलो पटक शीर्ष स्थान उक्लिएको छ । उसलाई यहाँ पुग्न पाँचौं चरणसम्म कुर्नुपरेको थियो । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको लिगको उसको पाँचौं खेलमा एपीएफले कर्णालीलाई ६–० ले हराउन सफल रह्यो ।

एपीएफको यो लगातार चौथो जित हो र पाँच खेलबाट १३ अंक भएको छ । आफ्नो सुरुआती खेलमा पुलिससँग बराबरीमा रोकिएयता थप १२ अंक बटुलेको हो । उसको पछाडि पुलिस रहेको छ । पुलिस प्रतियोगितामा अराजित अर्को टिम रहेको छ । उसको ११ अंक छ र दोस्रो स्थानमा छ । आर्मी भने १० अंकमा तेस्रोमा छ ।

निशा थोकरले पाँचौं मिनेटमा गरेको गोलको मद्दतले अग्रता लिएको एपीएफका लागि रश्मीकुमारी घिसिङले ११ र २५ औं मिनेटमा दुई गोल गरिन् । त्यसपछि गीता रानाले ५३ र हिमा रावतले ७७ औं मिनेटमा गोल गरे । खेलको अन्तिम मिनेटमा वर्षा ओलीले आत्मघाती गोल गरिन् र कर्णालीमाथि आधा दर्जन गोल पूरा भएको थियो । आइतबारको दोस्रो खेलमा चन्द्रपुर र वाग्मतीबीच गोलरहित बराबरीमा टुंगियो । यो नतिजापछि पाँच खेलबाट चन्द्रपुरको छ अंक भएको छ र छैटौं स्थानमा छ । उसले पछिल्ला दुई खेलबाट चार अंक बटुलेको छ । वाग्मतीको पनि समान पाँच खेलबाट चार अंकसहित सातौं स्थानमा उक्लिएको छ ।

वाग्मतीले पछिल्ला तीन खेलमा गोल गर्न सकेको छैन । पूरा खेल अवधिमा दुवै टिमले खासै अवसर सिर्जना गर्न सकेनन् । खेलको आठौं मिनेटमा सजनी थोकरको फ्रि किक पोस्टको केही दूरीबाट बाहिरियो । यस्तै खेलको २५ औं मिनेटमा वाग्मतीकी इभा प्याट्रिकको फ्रि किक नै सलोनी चौधरीले गोल लाइन नजिकबाट क्लियर गरेकी थिइन् ।

प्रकाशित : भाद्र ३१, २०८१ ०६:५६
x
×