कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

दशरथ रंगशालामै एसिया रग्बी सेभेन्स हुने

आश्विन २, २०८१
दशरथ रंगशालामै एसिया रग्बी सेभेन्स हुने

काठमाडौँ — काठमाडौंमा असोज १८ र १९ गते एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी प्रतियोगिता हुने भएको छ ।

एसिया रग्वीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता दशरथ रंगशालामा खेलाइने छ । सन् २०२२ मा एसिया रग्बी यू–१८ र २०२३ मा एसिया यू–२० रग्बीको सफल आयोजनापछि नेपाल रग्बी संघले एसियाली रग्बीको सबैभन्दा ठूलो प्रतियोगिता गर्न लागेको हो ।

बुधबार पत्रकार सम्मेलन गर्दै रग्बी संघले प्रतियोगिता तयारीबारे जानकारी गराएको छ । संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगितामा नेपालसहित एसियाका १७ देशको सहभागिता रहने बताए । उनका अनुसार पुरुष रग्बी सेभेन्सतर्फ १४ टिम र महिला रग्बी सेभेन्समा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा एसियाका ४ सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियल नेपाल आउने अध्यक्ष देवकोटाले बताए । कार्यक्रम आयोजनाका लागि करिब २ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने संघको अनुमान छ । प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण, दोस्रो हुनेले रजत र तेस्रोले कांस्य पदक जित्नेछन् ।

संघका महासचिव गोविन्द घिमिरेले विश्व रग्बी महासंघको पूर्ण सदस्यता पाएपछि संघले आफ्नो गतिविधि अझ प्रभावकारी बढाइरहेको बताए । एसियाली रग्बीको ठूलो प्रतियोगिता आयोजनाबाट नेपालको खेल पर्यटन अभिवृद्धिमा सहयोग पुग्ने उनको विश्वास छ ।

नेपालबाट १६–१६ खेलाडी बन्द प्रशिक्षणमा रहेको संघले जनाएको छ । उनीहरूलाई न्युजिल्यान्डका प्रशिक्षकले प्रशिक्षण गराइरहेका छन् ।

रग्बी खेलाएर दशरथ रंगशालाको मैदान बिग्रिएको हो त ? भन्ने प्रश्नमा अध्यक्ष देवकोटाले विश्वको धेरै देशमा पनि फुटबल र रग्बीको एउटै मैदानमा हुने अनि रग्बी खेलेर मैदान बिग्रिने कुरा सत्यता नभएको बताए । मैदानलाई राम्रोसँग संरक्षण नगरेका कारण बिग्रिएको उनको दाबी थियो ।

प्रकाशित : आश्विन २, २०८१ १८:५६
x
×