कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

पारालिम्पिक कमिटीबाट पलेशासहित पारा ओलम्पियनहरू सम्मानित

आश्विन २, २०८१
पारालिम्पिक कमिटीबाट पलेशासहित पारा ओलम्पियनहरू सम्मानित

काठमाडौँ — राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५ औं वार्षिकोत्सवमा पेरिस पारा ओलम्पिकमा कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनसहित ५ सदस्यीय टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ ।

उक्त सम्मानमा एनसेलको तर्फबाट पलेशालाई १० लाख, प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख, पेरिस पारा ओलम्पिक खेलेका तेक्वान्दोका भरहसिंह महता, पौडीका भीमबहादुर कुमाल र पौडीका प्रशिक्षक विजेनमान श्रेष्ठलाई जनही १ लाख प्रदान गर्‍यो ।

एनपीसी नेपालले पनि पेरिस पारा ओलम्पिकमा सहभागी टोलीसहित विगतका पारा ओलम्पियन विक्रमबहादुर राना, मैयाँ विशुंखे, लक्ष्मी कुँवर र निर्मला ज्ञवालीलाई पनि सम्मान गरेको थियो । निर्मला कार्यक्रममा उपस्थित थिइनन् ।

एनपीसीले पारा खेलकुदप्रति चासो व्यक्त गर्दै सहयोग पुर्‍याएवापत राखेप सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष तथा ओलम्पिक काउन्सिल अफ एसियाका सदस्य जीवनराम श्रेष्ठ, पेरिस पारा ओलम्पिकका तेक्वान्दो टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ, पेरिस पारा ओलम्पिकका सेफ द मिसन सरोज श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।

उनीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एनपीसी नेपालकी अध्यक्ष राधा घले, वरिष्ठ उपाध्यक्ष केदार सिवाकोटी, एनसेलका प्रतिनिधिलगायतले सम्मान गरे ।

बुधबारै काठमाडौं जिल्ला तेक्वान्दो संघले पलेशालाई १ लाख ३८ हजारसहितसम्मान गरेको थियो । प्रशिक्षक कविराजलाई ५८ हजार र भरतसिंहलाई १० हजारसहित प्रशंसापत्र प्रदान गरियो । उनीहरूलाई नेपाल च्याम्बर अफ कमर्सका सदस्य रुपकराज वंशी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले सम्मान गरे ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको थियो । प्रिन्सिपल वंशीले पलेशालाई ५० हजार प्रदान गरे । त्यस्तै काठमाडौं महानगरपालिका वडा ८ ले पनि पलेशा र प्रशिक्षक लामालाई जनही ५१ हजारसहित सम्मान गरेको थियो ।

प्रकाशित : आश्विन २, २०८१ २१:४५
x
×