झुम्राको बल खेल्दै राष्ट्रिय खेलाडी

घरनजिकको मैदानमा खेल देख्दा अनिता बस्नेतको मन थामिन्नथ्यो, खेल्न पुगिहाल्थिन्, गाउँका केटाहरूसँग झुम्राको बल खेल्दाखेल्दै फुटबलमा लत बस्यो, उनी अहिले नेपाली महिला राष्ट्रिय फुटबल टिमकी भरपर्दो मिडफिल्डर बनेकी छन् 

आश्विन ३, २०८१

लक्ष्मी गौतम

National player playing grass ball

पाँचथर — नेपाली महिला राष्ट्रिय फुटबल टिमकी भरपर्दो मिडफिल्डर हुन्, अनिता बस्नेत । तेह्रथुमको फेदाप गाउँपालिकामा जन्मेकी अनिताको सानैदेखि फुटबलप्रति लगाव थियो । यसको कारण थियो, घरबाट २ मिनेटको दूरीमा रहेको भगवती आधारभूत विद्यालयको धुले मैदान ।

त्यो मैदानमा फाट्टफुट्ट खेलकुद प्रतियोगिता भइरहन्थे । खाजा समयमा स्कुलकै केटाकेटी खेल्थे भने साँझ गाउँघरबाट भेला भएर खेल्न आउनेहरू प्रशस्तै हुन्थे । घरछेउको मैदानको खेल देख्दा अनिताको मन थामिन्नथ्यो । सहभागी हुन पुगिहाल्थिन् । 

गाउँका केटाहरूसँग झुम्रे बल खेल्दाखेल्दै फुटबलमा उनको लत बस्यो । ‘नजिकैको मैदानमा बल खेलिरहेका साथीलाई देख्दा झ्यालबाट हाम फालेर पनि पुग्थें,’ उनले विगत कोट्याइन् । २०५३ सालमा जन्मेकी उनले १५ वर्षको उमेरसम्म आइपुग्दा जिल्लास्तरका थुप्रै प्रतियोगितामा भाग लिइन् ।

‘बुबा शिक्षक हुनुहुन्छ, सायद खेलको महत्त्व बुझेकै कारण कहिल्यै मलाई रोक्नुभएन, विद्यालय पढ्दाताका गाउँघरमा आयोजना हुने साना र मझौला सबैखाले प्रतियोगितामा भाग लिन्थें,’ उनी भन्छिन्, ‘आमा खेलेर हुँदैन, पढाइ र घरको काममा पनि ध्यान दिनुपर्छ भन्दै सम्झाउनु हुन्थ्यो, जिद्दी गरेर मन जितिछाड्थें । बुबालाई सोझै भन्न डर लाग्थ्यो, आमालाई नै भन्न लगाउँथें, अनुमति नदिए भागेरै जान्थें ।’ 

National player playing grass ball

बाआमाको आँखा छलेर खेल्न जाँदा भएको एउटा घटनाले उनलाई सधैंभरि झस्काउँछ । २०६७ को चैतमा एसएलसी परीक्षा आउन १० दिन बाँकी थियो । तेह्रथुमको जिरिखिम्तीमा लाग्ने खरण्डे मेलामा फुटबल खेल्ने निम्तो आयो । बाआमालाई सुनाइन् । उनीहरूले परीक्षा आउनै लागेकाले यस पटक नजान सुझाव दिए । 

तर, राति नै कपडा प्याक गरेर उज्यालो नहुँदै घरबाट निस्किइन् । प्रतियोगितामा उनको टिम पहिलो त भयो तर खेल्ने क्रममा लडेर अनिताको दाहिने हात भाँचियो । सदरमुकाम म्याङलुङमा भरपर्दो अस्पताल थिएन । उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान जानुपर्ने भयो । उनले घटनाबारे घरमा नसुनाइदिन साथीहरूलाई भनिन् ।

‘आयोजक र साथीहरूले मेलाबाटै पैसा उठाएर धरान लगे । हात प्लास्टर गरियो । घरमा आउँदा आमाले चित्त दुखाउनुभयो,’ उनले भनिन्, ‘मैले यतिका उमेरसम्म चोटपटक लाग्न दिएको थिइनँ, तिमीले आफ्नो जीवन बर्बाद पार्‍यौ भन्दै आमा रुनुभयो, एसएलसी पनि त्यही प्लास्टर गरेको हातले लेखेर उत्तीर्ण गरें ।’

गाउँ, जिल्ला र क्षेत्रीयस्तरमा आयोजना हुने प्रतियोगितामा अनिता फरवार्ड खेल्थिन् । २०६८ मा नवलपरासीमा आयोजित राष्ट्रिय खेलकुदमा पाँचथरको फुटबल टिमका प्रशिक्षक पासाङ तामाङले आफ्नो टिमबाट खेल्न प्रस्ताव गरे । त्यहाँ गएर खेलिन् । धनगढीमा आयोजित छैटौं राष्ट्रिय खेलकुदमा मोरङको टिमबाट खेलिन् । त्यसपछि क्रमशः उनलाई खेल्न भ्याइनभ्याइ हुन थाल्यो । धनगढीको प्रतियोगितापछि उनको प्रदर्शन सशस्त्र प्रहरी बलका प्रशिक्षकको नजरमा पर्‍यो । त्यसयता उनी सशस्त्र प्रहरीको टोलीबाट क्लबस्तरीय प्रतियोगिता खेल्दै आएकी छन् । क्लबबाट खेल्दाखेल्दै उनले राष्ट्रिय टोलीमा पनि अवसर पाइन् ।

अनिताले राष्ट्रिय टोलीमा खेल्न थालेको ११ वर्ष पुगिसकेको छ । सन् २०१४ को महिला साफ च्याम्पियनसिपमा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् । एक दशकमा राष्ट्रिय टोलीबाट ८ गोल गरिसकेकी छन् । सन् २०१९ मा भएको हिरो गोल्ड कपमा इरानविरुद्ध राष्ट्रिय टोलीबाट पहिलो गोल गरिन् । खेलको ४१ औं मिनेटमा गरेको त्यो पहिलो गोल आफ्नो खेल जीवनकै महत्त्वपूर्ण भएको उनी स्मरण गर्छिन् । त्यही वर्ष विराटनगरमा भएको पाँचौं साफ महिला च्याम्पियनसिपमा उनले श्रीलंकाविरुद्ध राष्ट्रिय टोलीबाट दोस्रो गोल गरेकी थिइन् । सन् २०२० मा किर्गिस्तानमा भएको नादेज्दा कपमा किर्गिस्तानविरुद्ध २ गोल गरिन् ।

त्यसको २ वर्षपछि काठमाडौंस्थित दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा सावित्रा भण्डारी र अनिता बस्नेतको २–२ गोलको मद्दतले नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो । सोही प्रतियोगिताको फाइनलमा बंगलादेशले नेपालविरुद्ध २–० ले अग्रता लिइरहेका बेला अनिताले ७० औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरिन् । त्यो अनिताको राष्ट्रिय टोलीबाट सातौं गोल थियो । आठौं गोल वाफ महिला च्याम्पियनसिपमा कर्नरबाट गरेकी थिइन् । 

उनले माल्दिभ्स र भारतबाट व्यावसायिक फुटबल पनि खेलेकी छन् । हाल उनी सशस्त्र प्रहरीको सहायक हवल्दार पदमा छिन् । ‘बाल्यकालमा जागेको बल खेल्ने इच्छा शक्तिले नै यहाँसम्म आइपुगें, देश र नेपाली फुटबलका लागि अझ धेरै गर्नु छ,’ उनी भन्छिन् ।

युवा ग्यालरी

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully