कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

प्रयास मञ्चद्वारा दर्जन बढी खेलकर्मी सम्मानित

आश्विन ३, २०८१
प्रयास मञ्चद्वारा दर्जन बढी खेलकर्मी सम्मानित

काठमाडौँ — प्रयास मञ्च नेपालले खेलकुद क्षेत्र हासिल गरेको उपलब्धि तथा खेलकुदको विकास र विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै एथलेटिक्स खेलाडीसहितका खेलकर्मीलाई बिहीबार सम्मान गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चद्वारा आयोजित बुद्धवीर लामा तेह्रौं गीतिमय सांगीतिक साँझका अवसरमा उनीहरूलाई सम्मान गरेको हो । पूर्वधावक गीतकार लामा असारमा बंगलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षमाथि ५ हजार मिटर दौडका स्वर्ण विजेता हुन् ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्वधावक वैकुण्ठ मानन्धर, प्रहरी संगठनबीच हुने अन्तर्राष्ट्रिय हाफ म्याराथन र १० हजार मिटर दौडका स्वर्ण विजेता सिंगापुर प्रहरीबाट निवृत्त निमेश गुरुङ, बंगलादेशको ढाकामा सम्पन्न अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षमाथि १० हजार मिटर दौडका स्वर्ण विजेता पुष्पलाल श्रेष्ठ, सोही प्रतियोगिताको पुरुष ५० वर्षमाथि ५ हजार र १० हजार मिटर दौडका स्वर्ण विजेता धर्म महर्जन, अन्तर्राष्ट्रिय माउन्टेन क्रसकन्ट्री च्याम्पियनसिपकी स्वर्ण विजेता इन्द्रकला नेम्वाङ (निक्की) र विश्वका चर्चित लन्डन, बर्लिन, न्युयोर्क र बोस्टन म्याराथनमा भाग लिएका शम्भुप्रसाद दाहाल सम्मानित भएका थिए ।

सम्मानित हुनेमा एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुशम्शेर राणा, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री, पूर्व खेलाडी एवं प्रशिक्षक एथलेटिक्स ट्रेनिङ सेन्टर क्लब स्वयम्भूका अध्यक्ष रमेश सुनार, धावक त्रिरत्न मानन्धर, इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोला र पूर्वधाविका रोशनी शाह छन् ।

सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो । शिक्षासँगै आफ्नो विद्यालयमार्फत खेलकुद प्रतियोगिता आयोजना गरेर विभिन्न खेलको राष्ट्रिय खेलाडी उत्पादान गर्दै खेलकुदको विकास र विस्तारमा अतुलनीय योगदान पुर्‍याएवापत ज्ञानोदय बालबाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालाई ‘महान नारी रत्न सम्मान २०८१’ बाट सम्मान गरियो ।

शिक्षामा माया लामा, जीवन खड्का, भीमकुमार श्रेष्ठ, दीपक योञ्जन, टंकप्रसाद गैरे, नेत्रप्रसाद दाहाल, भक्त राजभण्डारी, अम्बिरकुमार कटुवाल, मोहन कार्की, शिवप्रसाद अधिकारी, ईश्वर पोखरेल, अशोकसुन्दर श्रेष्ठ र भावना सुवेदी पनि सम्मानित भए ।

गीत, संगीत र चलचित्रतर्फ गोपाल कर्माचार्य, रगुन गुरुङ, अर्जुन चैनपुरे र सिर्जनामाया लामा सम्मानित भए । विविध क्षेत्रबाट बलरा नगरपालिका, सर्लाहीका मेयर रामाशंकर प्रसाद कुशवाहा, वरिष्ठ अधिवक्ता देवराज कटुवाल, समाजसेवी गोले दम्पती गणेश र विन्दुदेवी, समाजसेवी एवं व्यवसायी सन्तोष राई र कर्मचारी बालकृष्ण कोइराला सम्मानित भए । सोही अवसरमा विदेशमा रहेर नेपाललाई चिनाउन अहम् भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

उनहीहरूलाई पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्की, कार्यक्रम संयोजक जशु लामा, ज्ञानोदय बालबाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालगायतले कदरपत्रसहित सम्मान गरे ।

बुद्धवीर लामाले कार्यक्रमको टिकट बिक्रीबाट उठेको रकममध्ये ५१ हजार १ सय ११ रुपैयाँ काठमाडौंको चोभारमा सञ्चालित असहाय बालगृहलाई हस्तान्तरण गरे ।

प्रकाशित : आश्विन ३, २०८१ १८:३४
×