कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

भेनिसमा ‘पूजा, सर’

भाद्र २०, २०८१
भेनिसमा ‘पूजा, सर’

काठमाडौँ — उनीहरू चाहन्थे, पत्रिका, अनलाइनले नछापेका कथाहरू भनौं । ती कथालाई ठूलो पर्दामा पुर्‍याऔं । ताकि पहाडे र मधेशीबीचको चिसो सम्बन्धले न्यानो बर्को ओढोस् । रंगभेद, जातीय भेदभाव र यौनिक तथा अल्पसंख्यक समुदायको पीडा दर्शकले महसुस गरून्, ती मुद्दाप्रतिको दृष्टिकोण परिवर्तन गरून् ।

प्रतिष्ठित फिल्म फेस्टिभल भेनिसमा ‘पूजा, सर’ को प्रिमियरलगत्तै पाएका प्रतिक्रियाहरूले निर्देशक दीपक रौनियार, फिल्मकी लेखक तथा अभिनेत्री आशा मगरातीलाई यी मुद्दा उठाएकोमा राहत मिलेको छ । व्यावसायिक हिसाबले बनाइएको थ्रिलर विधाको यो फिल्मले आर्ट हाउसकै फिल्म बनाएर मात्रै विश्व बजार पुग्न सकिन्छ भन्ने भाष्य तोडेको छ । महिला प्रधान यस फिल्ममा मुद्दाकै हिसाबले रंगभेद, यौनिक तथा अल्पसंख्यक समुदायलगायत, पहाड मधेश अनि जातका विषयलाई कथामा मिसाइएको छ ।

‘आशा र म दुई फरक समुदायबाट आयौं । जनकपुरको सेटिङमा जुन कथा हामीले बनाएका थियौं, यो विषयमा हामीले कथा भनेनौं भने तत्काल कसैले भन्नेवाला छैन भन्ने थियो । पहाड र मधेशलाई जोड्नका लागि एउटा पूलको आवश्यकता छ । मधेश आन्दोलनपछाडि यी दुई समुदायमा एक किसिमको चिसो पसेको थियो । त्यो चिसोपनालाई तोड्न, भेदभाव चिर्न फिल्म बनाउन अत्यावश्यक ठान्यौं,’ दीपकले भने, ‘कालो देख्नेबित्तिकै कसैलाई भारतीय देख्नु त मधेशी मानिस नचिनेर नै हो, उनीहरूलाई नबुझेर हो । त्यसैले यी कुरामाथि सोच्न बाध्य बनाउन फिल्म बनाउनुपर्छ भनेर हामी लागिपर्‍यौं । महिला प्रहरी हुँदा एउटा मुद्दा कसरी फरक देखिन सक्छ । एउटै अनुसन्धानमा महिला दृष्टिकोण जोडिँदा के फरक हुन सक्छ भन्ने विषयहरू थिए । त्यसैले पनि यो फिल्मको कथा चाँडै भनिनुपर्छ भन्ने लाग्यो ।’

दम्पतीसमेत रहेका दीपक र आशाको चाहना थियो, सहजै कथा भन्दै गम्भीर विषय दर्शकलाई बुझाउने । ‘एउटा व्यक्तिको जीवनलाई एउटै नजरले हेर्न सकिन्न भनेर पूजा चरित्र निर्माण गर्‍यौं । पूजा क्वेयर महिला हो, प्रहरी हो । त्यसमाथि पहाडे हो । एउटै व्यक्तिको फरक परिभाषालाई जोड्यौं,’ दीपकले भने, ‘हामी हरेक फिल्ममा नयाँ प्रयोग गर्न रुचाउँछौं । हामीलाई स्लो, आर्ट हाउस फिल्म बनाएर फेस्टिभल पुग्नु थिएन । धेरैभन्दा धेरै दर्शकले हाम्रा फिल्म हेरून्, सजिलै गरी कथा बुझून् भन्ने थियो । यस्तो विधा जसमा दर्शकलाई थ्रिल अनुभव होस्, कथामा उनीहरूले कनेक्ट पनि हुन पाऊन् ।’

१२ वर्षअघि बर्लिनमा ‘हाइवे’ प्रिमियर हुँदा दर्शक आउलान् कि नआउलान् भन्ने अन्योलमा थिए, निर्देशक रौनियार । त्यतिबेला दर्शकले निकै चासोसहित ‘हाइवे’ हेरे, प्रतिक्रिया उत्तिकै राम्रो आयो । नेपालसँगै अस्ट्रेलियामा थिएट्रिकल रिलिज भयो, टेलिभिजनमा पनि फिल्म बिक्री भयो । उनकै निर्देशनको ‘सेतो सूर्य’ अमेरिका, नेदरल्यान्ड, स्वीडेन, बेल्जियम, स्विट्जरल्यान्डलगायत देशका थुप्रै हलमा थिएट्रिकल रिलिज भयो । त्यही पुरानो छापका कारण भेनिस प्रिमियरअघि नै ‘पूजा, सर’ फिल्मको अधिकार प्रतिष्ठित कम्पनीहरूले किने ।

फ्रान्सका लागि एआरपी सेलेक्सनले यो फिल्मको वितरण अधिकार किनेको रौनियारले बताए । भेनिसमै रहेको एन्जोलिना जोलीको ‘मारिया’ फिल्म वितरण गरेको यो कम्पनीले ‘ट्रेन टू बुसान’ देखि ‘पास्ट लाइभ’ जस्ता फिल्म वितरण गरिसकेको छ । त्यस्तै स्विट्जरल्यान्ड, जर्मनी र अस्ट्रियाका लागि ट्रिगोन फिल्मले वितरण अधिकार किनेको छ । ‘पूजा, सर’ को एसिया प्रिमियर बुसानमा पनि हुँदै छ । आगामी जुनसम्मका लागि यो फिल्मले थुप्रै फेस्टिभलबाट निमन्त्रणा पाइसक्यो ।

एक दशकयता विश्व बजारसम्म आफ्नो फिल्मको पहुँच, अन्य नेपाली फिल्मको पनि उल्लेख्य उपस्थितिले अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको पकड बलियो बन्दै आएको आभास छ, रौनियारलाई । हुन त नवीन सुब्बाको ‘नुमाफुङ’ र छिरिङ रितार शेर्पाको ‘मुकुन्डो’ ले उहिल्यै विश्व बजारसम्मको बाटो पहिल्याइसकेका थिए । तर, यी दुई फिल्मपछि विश्व बजार पुग्ने नेपाली फिल्महरू बनिरहेका थिएनन् ।

०००

जब सन् २०१२ मा रौनियारको फिल्मले बर्लिन टेक्यो, बिस्तारै नेपाली फिल्मले विश्वका शीर्ष महोत्सवमा उपस्थिति जनाउन थाले । बर्लिनमा ‘हाइवे’ प्रिमियर गर्दासम्म, विश्वका शीर्ष (ए लिस्ट) फिल्म फेस्टिभलमा नेपाली फिल्मको प्रिमियर नै भएको थिएन । तर, पछिल्लो वर्षयताको अवधिलाई मात्र हेर्ने हो भने पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको उपस्थिति बलियो बन्दै गएको उनी सुनाउँछन् । ‘फिडेल देवकोटाको फिल्म गत वर्ष भेनिसमै थियो । नवीन सुब्बाको फिल्म टोरोन्टोमा थियो, बर्लिनमा साम्बाला पुग्यो । अहिले भेनिसमा हामी छौं,’ उनले भने ।

यो १२ वर्षमा नेपाली फिल्मका लागि बजार फराकिलो बन्दै आएको रौनियार सुनाउँछन् । भेनिसमै ब्राड पिटदेखि एन्जोलिना जोलीलगायत हलिउडका ठूला स्टार थिए । फिल्म क्षेत्रका लागि यी फेस्टिभल विश्वकपसरह हुन् । विश्वको आँखा यी फेस्टिभलमा हुन्छन् । यस्ता फेस्टिभल पुग्दा नेपाली फिल्मको एक्सपोजर बढ्ने नै भयो ।

‘जसरी घर बनाउनलाई एक–एक इँटाको महत्त्व हुन्छ । त्यसरी नै ‘हाइवे’ बाट ‘पूजा, सर’ सम्म आउँदा नेपाली फिल्मको बजार धेरै फराकिलो भएको छ । हाम्रो फिल्मको उपस्थिति पनि धेरै ठूलो भएको छ,’ उनले भने, ‘साम्बालाको प्रिमियरमा अनुराग कश्यप र नवाजुद्दिन सिद्दकी आउने खबर पढ्दै थिएँ । विश्व बजारमा हाम्रो उपस्थिति राम्रो नभएको भए उनीहरूले आफ्नो समय निकालेर नेपाल आउने थिएनन् ।’ विश्व बजारमा नेपाली फिल्मको पहुँच बढेसँगै दीपकले कल्पन थालेका छन्, ‘कुनै दिन यस्तो पनि आउला, जहाँ विश्वका वितरकले नेपाली फिल्मको वितरण अधिकारका लागि हानाथाप गर्लान् ।’

‘सेतो सूर्य’ को सफलतापछि न्युयोर्क टाइम्सदेखि बीबीसीसम्मले फिल्मको समीक्षा छाप्दै दीपकलाई नयाँ निर्देशकको सूचीमा राखे । फिल्मको त्यस किसिमको पहुँच, निर्देशकले पाएको उपलब्धिहरूले नेपाली फिल्म क्षेत्रको बजार बढ्ने नै भयो । साथै, रोजगारी बढ्यो । विश्व बजार पुगेका नेपाली फिल्म हेरेर छायांकन गर्न थुप्रै विदेशी फिल्मकर्मी नेपाल आउने भए ।

‘पूजा, सर’ कै तस्बिरहरू हेरेर दीपककै साथीले हालै ‘द सेमलेस’ फिल्म नेपालमा खिचे, जुन फिल्म कान्समा प्रिमियर भएको थियो । उक्त फिल्ममा नेपाली कलाकारको अभिनय पनि थियो । यसरी एउटा फिल्मको छायांकनले रोजगारी मात्रै होइन, पर्यटन प्रवर्द्धनसमेत हुने भयो । विश्व बजार पुगेका यी फिल्मले देशकै पहिचान बढाउने भयो ।

‘इरानलाई आज अरूले कसरी चिने त ? राम्रा फिल्महरूकै कारण इरान चिनियो । जस्तै नेपालका कति संस्कृति बलिउडका फिल्महरूबाट प्रभावित छन् । बिहे उत्सवमा संगीतदेखि मेहेन्दीसम्मको संस्कृति त बलिउडबाट आएको हो,’ दीपकले भने, ‘फिल्ममा समाज रूपान्तरण गर्ने शक्ति हुन्छ । त्यसैले त हरेक देशले फिल्ममा धेरै लगानी गरिरहेको हुन्छ । यसरी संस्कृति निर्यात गरेर पनि ठूलो बजार निर्माण गर्न सकिएला । आफ्नो नागरिकलाई फरक तरिकाले सोच्न लगाउने, हेर्ने दृष्टिकोण कसरी परिवर्तन गर्ने, प्रश्न गर्न सिकाउने भन्ने पक्षमा फिल्मले धेरै भूमिका खेल्छ ।’

विश्व बजारमा नेपाली फिल्मको पहुँचमा उतारचढाव देखिन्छ । ‘नुमाफुङ’ र ‘मुकुन्डो’ पछि विश्व बजार पुग्ने फिल्मको अन्तर लामो बन्यो । सन् २०१५ मा मीन भामको ‘कालो पोथी’ आयो, २०१६ मा दीपकले ‘सेतो सूर्य’ बनाए । त्यसयता अन्तर्राष्ट्रिय बजारमा उपस्थिति शून्यजस्तै थियो । तर, त्यही अन्तरलाई गत वर्षको दुई फिल्म (गाउँ आएको बाटो, रातो सुटकेश) ले त्यसलाई पूरा गरिदियो । अब अविनाशविक्रम शाह, पूजा गुरुङ र विभूषण बस्नेतका फिल्महरूबाट आशा गरिएको छ । विनोद पौडेलका फिल्म निर्माण हुँदै छन् । कोभिडले थलिएको थिएट्रिकल बजार पनि बिस्तारै उठ्दै छ । ‘विश्व बजारमा हामी पनि कथा भन्न सक्छौं है भन्ने देखिरहेको छ,’ दीपकले भने ।

०००

अहिले सामाजिक सञ्जालमा ‘पूजा, सर’ को भेनिस प्रिमियरको एउटा सानो भिडियो चर्चामा छ । भिडियोमा दर्शकले उठेर प्रशंसा गर्दा निर्देशक रौनियारको आँखा रसाउँछ । यसको पृष्ठभूमिमा छ, फिल्म बनाउँदाको संघर्ष । ‘पूजा, सर’ बनाउँदै गर्दा फिल्मकी लेखक तथा प्रमुख अभिनेत्री आशालाई क्यान्सर भयो । मुख्य अभिनेत्री नै क्यान्सरसँग जुध्दै गरेको थाहा पाएपछि ठूला निर्माताले फिल्म नबन्ने सोच्दै प्रोजेक्टबाट हात निकाले । उनीहरूलाई बजेट अभावको समस्या पनि थपियो । ठूलो दुःख र साथीहरूको साथले फिल्म निर्माण पूरा गरे ।

‘पूजा, सर’ बन्न ८ वर्ष लाग्ला भन्ने उनीहरूले सोचेकै थिएनन् । ‘सेतो सूर्य’ लगत्तै उनीहरू यो फिल्म निर्माणमा जुटेका थिए । फिल्मको बजेट थियो, १५ लाख डलर । फिल्म बनाउने तयारी गरिरहँदै विश्वभर कोभिड देखिन थालेपछि सुटिङ रद्द नै गर्नुपर्‍यो । अमेरिकी हलहरूका मालिक, जो यो फिल्मका निर्माता थिए, उनले हात झिके ।

२०२२ मा गोग्राह कार्यशाला गरिरहँदा प्रि–प्रोडक्सन सक्काएर न्युयोर्क फर्के । त्यसपछि फिल्म छायांकनका लागि आउने तयारी गरिरहँदा आशालाई क्यान्सर भयो । ‘फिल्मका लागि सबै सामग्री लिन अमेरिका जाँदै गर्दा टाउको हल्लाउनै गाह्रो भयो । दोहा एयरपोर्ट पुग्दा घाँटी सुन्निएजस्तो देखियो,’ आशा सुनाउँछिन्, ‘हामीलाई सल्लाह दिने डाक्टरले अस्पताल जान भन्नुभयो । डाक्टरले त नेपालको यात्रा रद्द गर्नु भनेर तत्काल भने । तर, त्यतिन्जेल पनि के भएको थाहा थिएन । अस्पतालहरूको रिपोर्टले देखायो, मलाई त तीन प्रकारको क्यान्सर भइसकेको रहेछ ।’

क्यान्सर भएको थाहा पाउनासाथ छायांकन रद्द गर्नुपर्‍यो । क्यान्सर उपचारमै झन्डै वर्ष दिन बित्यो । त्यसबीच आशाको बुबा बिते । त्यसपछि भने २०२३ को अप्रिलमा छायांकनका लागि नेपाल आए । त्यसबीच फेरि क्यान्सरसँग लड्दै फिल्म बनाउन सक्दैन भन्ने निर्माताहरू छुट्टिए । फिल्मका लागि तय गरिसकेको दुई अनुदान रकम फिर्ता भयो । गोजी रित्तो हुँदा पनि यो दम्पतीले छायांकन गर्ने अठोट लिए, हिम्मत जुटाएर नेपाल आए ।

उनीहरूलाई जसरी पनि फिल्म बनाउनु थियो । त्यसबीच केही साथीहरू जोडिए । डा. प्रताप दास, नीरज श्रेष्ठ र पूर्ण बराइलीले हात बढाए । बाँसुरी प्रोडक्सनबाट रामबाबु गुरुङले साथ दिए । यी चार साथीहरूको बलमा फिल्म छायांकन गर्ने आँट बटुले । ‘धेरै कलाकारले अहिले धेरै पैसा दिनु पर्दैन थोरै दिए पुग्छ भनिदिए । दयाहाङजस्तो कलाकारले मेरा लागि पैसा सोच्नु पर्दैन पहिला फिल्म बनाउँ भन्ने आँट दियो । क्रूहरूले पनि त्यसै भन्दै सहयोग गरे । त्यसैको बलमा छायांकन गर्‍यौं । सबैको सहयोग पाउँदा जुन खर्चमा, तहमा फिल्म बनाउने सोचेका थियौं, त्यसरी नै बनायौं,’ दीपक सुनाउँछन्,’ नेपाल पुलिसको डिपार्टमेन्टले पनि सहयोग गर्‍यो । स्थानीय प्रहरीले सहयोग गरिदियो । साउनमा बाढी आउने ठाउँमै पनि वातावरणले साथ दियो । त्यतिबेला पानी पनि परेन । बाढी आएको भए सबै डुब्थ्यो ।’

क्यान्सरको खबर पाएदेखि आशाले आफ्नो आत्मबल बलियो बनाएकी थिइन् । बुबा बित्दासमेत रोइनन् । ‘म रोएँ भने मेरो ‘इम्युन पावर’ कमजोर हुन्छ । म रुनु हुँदैन । क्यान्सर जितेर हाम्रो प्रोजेक्ट पूरा गर्नुपर्छ भन्ने नै थियो,’ आशाले आफ्नो क्यान्सर लडाइँ सुनाइन् । छायांकनकै क्रममा औषधि खाँदै अभिनय गरिरहँदा आशाले निकै संघर्ष गरिन् । प्रहरीले बोल्ने भाषामा काम गर्न चाहन्थिन्, उनीहरूको शारीरिक हाउभाउमाथि गहिरिएर काम गर्न चाहन्थिन् । तर, छायांकनमा औषधिको असर देखिन्थ्यो ।

‘अरूलाई खासै थाहा भएन, तर दीपकले मलाई देख्थ्यो । उसले मलाई राम्रोसँग सम्हाल्यो । अरूले त मलाई धेरै रिसाएको देख्यो होला,’ आशा सुनाउँछिन्, ‘छायांकन भइरहँदा सक्दिन कि भन्ने लाग्थ्यो तर सक्छु भनेर अठोट लिएँ । यो मेरो ड्रिमप्रोजेक्ट हो । मेरो कारणले नहुने भन्ने नै हुँदैन, हाम्रा लागि मात्रै नभएर नेपाली दर्शककै लागि भए पनि फिल्म बनाउनुपर्छ भन्ने थियो ।’ आफूले गरेको त्यो संघर्षको परिणाम आशाले भेनिसमै पाइन् ।

‘बाटोमा हिँडिरहँदा पनि तपाईंको फिल्म हेर्‍यौं । एकदमै रोयौं भन्नेहरू भेटिए । होटलमै बसिरहँदा पनि एक जना बूढी आमैले तारिफ गर्नुभयो । हामी खाजा खाएर होटलबाट बाहिर निस्कँदा टिकटसहित बाहिर उभिरहनुभएको थियो । त्यो टिकटमा उहाँले केही लेख्न भन्नुभयो । त्यो देख्दा एकदमै खुसी लाग्यो,’ आशाले सुनाइन्, ‘क्यान्सरसँग लड्दै गर्दा मैले यही बुझेको छु कि हामी कसैले आफ्नो आत्मबल कमजोर बनाउनु हुँदैन ।’

प्रकाशित : भाद्र २०, २०८१ ०९:३३
×