कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

‘एक्टर’ बाट आनाको आस

भाद्र ३०, २०८१
‘एक्टर’ बाट आनाको आस

काठमाडौँ —  दस वर्षअघि नै फिल्म ‘जेरी’ मार्फत अभिनेत्रीका रूपमा नेपाली फिल्ममा प्रवेश गरेकी आना शर्माको पछिल्लो फिल्म ‘द म्यान फ्रम काठमान्डु’ प्रदर्शनमा आएकै पनि साढे चार वर्ष भइसक्यो । यसै वर्ष अभिनेता अनमोल केसीकै ‘पेयरिङ’ मा ‘जेरी : अन टप’ मा खेल्ने पक्कापक्की भइसकेर पनि उनी अन्तिम समयमा प्रोजेक्टबाट अलग भएकी थिइन् । 

निर्माण पक्षले आनाले पर्याप्त चासो नदिएको कारण भन्दै फिल्मबाट उनलाई हटाएर अर्की अभिनेत्री जसिता गुरुङलाई भित्र्याएको थियो । अभिनय क्षेत्रमा राम्रो सम्भावना देखाउँदा देखाउँदै पनि सुस्त देखिएकी आना यतिबेला ‘एक्टर’ मार्फत अभिनेता प्रदीप खड्कासँगै देखिने भएकी छन् ।

तिहारको छेको पारेर कात्तिक १५ देखि प्रदर्शनमा आउन लागेको राजन भुसाल निर्देशित ‘एक्टर’ ले बिहीबार आना रहेको ‘सोलो पोस्टर’ सार्वजनिक गरेको छ । फिल्ममा उनी सहरिया युवती प्रकृतिको भूमिकामा रहेकी बताइएको छ । त्यसो त ‘एक्टर’ ले आफ्नो फस्टलुक पोस्टरमा अभिनेता प्रदीपका विभिन्न पाँचवटा ‘क्यारेक्टर लुक्स’ ल्याइसकेको थियो भने अर्को पोस्टरमा करिब १० वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्दै गरेका अभिनेता राजबल्लभ कोइरालाको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरिसकेको छ ।

मल्टिस्टारर ‘एक्टर’ मा आना, प्रदीप र राजबल्लभसँगै दिव्य देव, सुशील सिटौलालगायतको अभिनय रहेको छ । यसै फिल्मबाट अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले डेब्यु गर्न लागेको ‘बज’ ले आनालाई भने छायामा पारिदिएको छ ।

अदृत फिल्मस् र मोती फिल्मस्को ब्यानरमा थमनकुमार भण्डारीले निर्माण गरेको ‘एक्टर’ को पटकथा निर्देशक भुसालले आकाश बरालसँगै मिलेर तयार पारेका हुन् । नरेन्द्र मैनालीको सिनेमाटोग्राफी रहेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । प्रतीक्षित मानिएको ‘एक्टर’ बाट पुनः दर्शकमाझ आउन लागेकी आनाको फिल्मी करिअरका लागि पनि यो फिल्मको सफलतालाई जोडेर हेर्न थालिएको छ ।

प्रकाशित : भाद्र ३०, २०८१ ०६:०७
×