बाघका फोटोग्राफर

दीपकले खिचेका बाघका फोटो/भिडियो नेसनल जियोग्राफी, बीबीसी विश्व सेवाले समेत डकुमेन्ट्री र समाचार रिपोर्टका लागि महँगोमा किनेका छन् भने जर्मन म्यागजिन जीईओले २०२३ अगस्ट अंकमा उनैले खिचेको बाघको फोटो छापेको छ

भाद्र २९, २०८१

मनोज पौडेल

Tiger photographer

बर्दिया — अधिकांश पारिवारिक सदस्य नै वन, प्रकृति र वन्यजन्तुसँग निकट । बुबा वन रक्षक, दाजु र मामा नेचर गाइड । यस्तोमा बर्दियाको ठाकुरबाबा नगरपालिका–४, बर्गदाका ३० वर्षीय दीपक राजवंशीमा पनि वन्यजन्तुप्रतिको आकर्षण सानैदेखि बढ्यो ।

वनमा नै रमाइलो मान्न थालेपछि सन् २०१४ मा नेचर गाइडको तालिम लिए । पर्यटकलाई वनजंगल घुमाउन थाले । साथैमा हुन्थ्यो, सानो कम्प्याक्ट क्यामेरा । त्यसले नै उनमा ‘वाइल्ड लाइफ फोटोग्राफी’ प्रतिको रुचि बढायो । सन् २०१६ मा फोटोग्राफीको तालिम लिएपछि झन्डै पाँच लाख खर्चेर ‘डीएसएलआर क्यामेरा’ र ‘टेली लेन्स’ किने । दीपक सात वर्षयता ‘भ्यु फाइन्डर’ बाट वन्यजन्तु खोजिरहेका छन् ।

Tiger photographer

रुचिले फोटोग्राफर, पेसाले नेचर गाइड उनी प्रायः ‘वाइल्डलाइफ फोटोग्राफर’ नै जंगलमा ‘गाइड’ गरिरहेका हुन्छन् । बाघको आनीबानी र रहनसहन बुझिसकेका उनी पाहुनालाई बाघ देखाउन र तस्बिर खिचाउन सिपालु भइसकेका छन् । बाघको पदचाप र दिसाबाटै बाघको दिशा पत्ता लगाउन माहिर छन् । ‘धैर्य र जिज्ञासु भएर बस्न सक्यो भने बाघ शतप्रतिशत नै देखिन्छ,’ उनी भन्छन् । चरा, मृग, बाँदरको आवाज र गतिविधिले पनि दीपक बाघको उपस्थिति खुट्याउन सक्छन् । 

Tiger photographer

बाघ भनेपछि हुरुक्क हुने दीपक यसको तस्बिर खिच्न जस्तोसुकै जोखिम मोल्न पनि तयार हुन्छन् । ‘जंगल जाने भनेपछि डर हराएर जान्छ । बाघ देख्दा त झन् उत्साहित हुन्छु, त्यो बेला डरभन्दा पनि बरु बाघलाई कुन कोणबाट खिच्दा आकर्षक फोटो आउला भन्ने मात्रै ध्याउन्न हुन्छ,’ उनले भने । छोटो समयभित्रै उनले बर्दियामा रहेका १ सय २५ मध्ये ३२ वयस्क बाघ र १८ वटा डमरुका तस्बिर खिचिसकेका छन् । उनले खिचेका बाघका फोटोले विदेशसम्मै नाम र दाम कमाएका छन् । बाघको भिडियो पनि उनी उत्तिकै खिच्छन् ।

Tiger photographer

बाघको फोटो र भिडियो बेचेरै उनले ७ वर्षमा १० लाखभन्दा बढी आम्दानी गरिसकेको बताउँछन् । सबैभन्दा महँगोमा नेसनल जियोग्राफी र बीबीसी विश्व सेवालाई उनले दुई–दुई लाख रुपैयाँमा बाघका फोटो र भिडियो बेचेका थिए । उनले खिचेको फुटेज प्रयोग गरेर बीबीसी विश्व सेवाले दुई वर्षअघि समाचार रिपोर्ट बनाएको थियो भने नेसनल जियोग्राफीले पनि वृत्तचित्रमा समेटेको थियो । जर्मन भाषाको जीईओ म्यागजिनमा २०२३ अगस्ट अंकमा दीपकले नै खिचेको बाघको फोटो प्रकाशित छ । देशकै पनि नेपाल पर्यटन बोर्ड, बुद्ध र यति एयरलाइन्स तथा विभिन्न बैंकले पनि उनैले खिचेका बर्दियाका बाघका फोटो किनेका छन् । उनैले खिचेको पानीमा रमाइरहेका दुई बाघको तस्बिर भएको होर्डिङ बोर्ड काठमाडौंस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग परिसरमा राखिएको छ । 

Tiger photographer

उनले बाघका धेरै कोणबाट फोटो खिचिसकेका छन् । हाई गरेको, रिसाएको, खुसी भएको, आहारा लिएर हिँडेको, खाँदै गरेको, नदी तर्दै गरेको, नदीमा बसेको र सिकार गरेको लगायतका क्रियाकलापको फोटो खिचिसकेका छन् । त्यसो त क्यामरा नबोकेकाले ४ वटा डमरु लिएर हिँडेकी बाघको फोटो खिच्न नपाउँदाको थकथकी पनि उनलाई छ । तर, उनी गत जनवरीमा निकुञ्जभित्रै पूर्व–पश्चिम राजमार्ग नजिक खोलामा ४/५ महिनाका दुई डमरुसहितको फोटो खिच्न पाउँदाको क्षणलाई अविस्मरणीय मान्छन् ।

Tiger photographer

त्यसो त ४ वर्षअघि पनि उनले दुई डमरुको तस्बिर नखिचेका हैनन् । ‘त्यो बेलाका डमरु अली ठूला दुई वर्षका थिए, अहिलेका पूरै बच्चा देखिन्छन् । फेरि अहिले राम्रो लाइटिङ, मुभमेन्ट र एंगल पनि मिल्यो,’ उनले भने, ‘अहिलेको तस्बिर निकै रोमाञ्चक छ ।’ त्यसैगरी निकुञ्जभित्रै एउटै फ्रेममा ४ वटा बाघको तस्बिर खिच्दाको क्षण सम्झँदै उनी थप्छन्, ‘सुरुमा दुई वटा बाघ पानीमा देखिए, पछि अर्को आयो । तीन वटा बाघ एउटै फ्रेममा पाउँदा खुसी भइरहेको थिएँ, नजिकै झाडीमा अर्को पनि देखियो । संयोगले फ्रेम बाहिरको बाघ पनि आएपछि चारै बाघलाई एउटै फ्रेममा पारेर तस्बिर खिच्दाको क्षण जीवनकै उत्कृष्ट रह्यो ।’ 

सन् २०१८ मा नेसनल जियोग्राफीका फोटाग्राफर तथा फोटो सम्पादक केरिन र भारतका वरिष्ठ वाइल्डलाइफ फोटोग्राफर बालन माधवनलाई उनले निकुञ्जभित्र लगेर बाघको उत्कृष्ट तस्बिर कैद गराएका थिए । उता नेपालका वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पा बर्दिया पुग्दा दीपकसँगै घुम्छन् । शेर्पासँगै वनजंगल घुम्दा अझ बढी वाइल्ड लाइफ फोटोग्राफीका ‘टेक्निक’ सिक्न पाएको बताउँछन्, उनी । फोटोग्राफीका माध्यमबाट पर्यटन प्रवर्द्धन गरेबापत दीपकलाई नेपाल युवा परिषद्ले यस वर्षको लुम्बिनी युथ आइकनबाट सम्मानित गरेको छ ।

Tiger photographer

हाई गरेको बाघको तस्बिर खिच्न पाउनु अर्को सबैभन्दा खुसीको क्षण ठान्छन्, दीपक । ‘यो फोटो सबैभन्दा धेरै रुचाइएको र बढी बिक्री भयो,’ जुन उनले भर्खर फोटोग्राफी सिक्दै गर्दा गोब्रेला चोकमा खिचेका थिए । उनले फरक–फरक १० वटा चितुवाको पनि फोटो खिचेका छन् । ‘बाघ लजालु हुन्छन् । टाढाबाट राम्रो तस्बिर आउँदैन । नजिकै गएर लुकेर बस्नुपर्छ । कहिलेकाहीँ बाघ पनि आफू लुकेकै ठाउँ आइपुग्दा इन्काउन्टर हुन्छ । यस्तो बेला भने भाग्नु हुँदैन,’ उनले भने, ‘पटकुनवा खोलामा बाघसँग जम्काभेट हुँदा पाहुनासँगै भागेर जोगिएको घटना सधैं सम्झने गर्छु ।’ 

दीपकका अनुसार, फोटो खिच्दा निकै सतर्कता अपनाउनुपर्छ, बाघको आनीबानी थाहा हुनुपर्छ । कत्तिको दूरीबाट तस्बिर खिच्दा बाघलाई डिस्टर्ब हुँदैन भनेर ज्ञान हुनुपर्छ । भौगोलिक अवस्था थाहा हुनुपर्छ । ‘सबै बाघको आफ्नै क्षेत्र हुन्छ । त्यसैले बाघको मुभमेन्टबारे ज्ञान हुनुपर्छ । अरू नेचर गाइडसँग सम्पर्कमा हुन्छौं । त्यसैअनुसार बाघ फलो गरेर पाहुनालाई देखाउने र तस्बिर खिच्छौं,’ उनले भने । 

Tiger photographer

उनका अनुसार फोटोग्राफीका लागि बिहानको समय राम्रो हुन्छ । ‘बाघको मुभमेन्ट बिहान र साँझ बढी हुन्छ । बाघ बढी चैत, वैशाख र जेठमा देखिन्छ । बाघ अनौठो हुन्छ । कहिले निकुञ्ज पसेको एक मिनेटमै देखिन्छ,’ उनले भने । बाघको डमरु देखिएको ठाउँमा एक पटक ६ दिनसम्म जाँदा निराश भएर फर्केको उनी बताउँछन् ।

उनले बाघजस्तै हात्ती, गैंडा, चितुवा र मृगलगायत जनावरका पनि उत्कृष्ट तस्बिर खिचेका छन् । बर्दियामा पाइने २ सय १० बढी प्रजातिका चराको तस्बिर पनि दीपकले खिचेका छन् ।

Tiger photographer

युवा ग्यालरी

मनोज

Link copied successfully