कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०
लोक सेवा

सामाजिक दलन सामना गरेर राष्ट्र बैंक उपनिर्देशक

भाद्र ३१, २०८१
सामाजिक दलन सामना गरेर राष्ट्र बैंक उपनिर्देशक

Highlights

  • राष्ट्र बैंकमा २ सय १३ जना उपनिर्देशक छन्, जसमा ४ जना दलित समुदायका छन्, बैंकको ६८ वर्षे इतिहासमा दलित समुदायबाट प्रतिनिधित्व गरिएको सबैभन्दा माथिल्लो पद नै उपनिर्देशक हो

काठमाडौँ — गरिबी र दुःखले उनलाई सधैं पछ्याइरह्यो । कहिले दुःखलाई जिते, कहिले हारे । दुःख र उनीबीच सधैं अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ । दुःखलाई अघिपछि लगाउँदै थकाइ नमारी निरन्तर अगाडि बढ्दा सुखको बाटोमा पुगेका हुन्, दाङका विष्णुबहादुर विश्वकर्मा । जो नेपाल राष्ट्र बैंकका उपनिर्देशक छन् । वित्तीय संस्था सुपरिवेक्षण विभागअन्तर्गत उनी ‘बी’ र ‘सी’ ग्रेडका बैंकहरूको निरीक्षण गरिरहेका छन् । 

चार छोरामध्येका जेठा हुन् उनी । असम राइफल्समा सैनिक रहेका बुवाको सीमित आम्दानीले ६ जनाको परिवार पालिनुपर्ने थियो । विद्यालय पढ्नका लागि उनले मेलापात गरे, हलो जोते, ढिकीजाँतो सबै काम बालापनदेखि नै गर्दै आए । जहाज उडेको देख्दा उनी सोच्थे, ‘एक दिन म पनि प्लेन चढ्नेछु ।’ त्यसबेलादेखि नै हो उनले सपनाको उडान भरेको । पढ्नमा तीक्ष्ण विष्णुले २०४८ सालमा नै एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरे । नतिजा आउँदा कपडा पसलमा काम गरिरहेका थिए । ३० वर्ष अगाडिको त्यो समयमा पुग्दा ‘नोस्टाल्जिक’ हुँदै उनी भन्छन्, ‘साहुले रिजल्ट देखेर मलाई शिरदेखि पाउसम्म हेरे, उनका छोरा फेल भए, म कामदारको फस्ट डिभिजन आएको जो थियो ।’

वन विज्ञान क्याम्पसमा आईएस्सी पढ्नका लागि खर्च जुटाउन उनी पञ्जाब लागे । त्यसपछि काठमाडौं आएर पढ्न संघर्ष गरे । सपनाको सहर काठमाडौंमा उनको संघर्षको कथा आज पनि स्मरणमा ताजै छ । पढ्नका लागि खाली सिसीका बोतलसमेत बटुले । ‘५० वटा खाली सिसीको बोटल बटुल्दा त्यसबेला १० रुपैयाँ पाइन्थ्यो, त्यो समयमा त्यो पैसा ठूलो थियो,’ उनी सम्झन्छन् । लेख्नका लागि फालिएका ठुटे पेन्सिल बटुल्थे अनि त्यसैले धेरै समय काम चलाउँथे । छापाखानामा फालिएका कागजका पाना लेख्नका लागि बटुल्थे ।

गरिबी सँगसँगै उनलाई पिरोल्ने अर्को समस्या थियो, जात व्यवस्था । भाडामा बस्ने घरमा उनको जात थाहा पाएर कैयौं पटक निकालिए । कोठा पाउनु त उनका लागि ठूलै युद्ध जिते जस्तो लाग्थ्यो रे । भन्छन्, ‘जात व्यवस्थाको कुरूप रूप त्यसबेला मैले काठमाडौंमा देखेको थिएँ, भाडामा बस्ने ठाउँ मेरा लागि सहज थिएन ।’ साथीहरूसँग भने उनले जातीय दुर्व्यवहार भोग्नु परेन । एउटै कोठामा ५ जना बसेको घटना सुनाउँदै उनी भन्छन्, ‘ग्रुपमा म मात्र दलित थिएँ, साथीहरूको दुर्व्यवहार कहिल्यै भोग्नु परेन, घरवालाको मात्रै समस्या थियो ।’ त्यसो त चाहेको ठाउँमा बस्न पाएनन्, भोक लाग्दा खान पाएनन् तर पनि सारा अवरोध र कठिनाइका बाबजुद पनि पढ्न छोडेनन्, हरेस खाएनन् । संघर्ष गर्दै बीए सके । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरे । स्कुल, ट्युसन पढाएरै आफ्नो पढाइको खर्च जुटाए । अनि लागे बैंकिङ करिअरको तयारीमा ।

नेपाल बैंकबाट उनले करिअर सुरुवात गरे । २०६१ देखि २०६६ सम्म म्यानेजर हुँदै डेपुटी म्यानेजरसम्म पुगे । यहाँको जागिरले पनि उनको आर्थिक अवस्था सुधारेन । यही अन्तरालमा विवाह अनि बालबच्चा भए, जिम्मेवारी थपियो । आर्थिक संकट जस्ताको तस्तै । अनुभव समेट्दै राष्ट्र बैंकको तयारीमा जुटे । २०६२ मा राष्ट्र बैंकमा लिखितमा पास भएका उनी कम्प्युटरमा फालिए । २०६४ मा लिखितमै नाम निस्केन । तर हिम्मत भने हारेनन् । २०६६ मा समावेशी आरक्षणबाट ‘एसिस्टेन्ट डाइरेक्टर’ मा नाम निकाल्न सफल भए । त्यसपछि उनको पहिलो पोस्टिङ धनगढीमा भयो ।

क्वार्टर लिएर बस्न थालेपछि मात्रै हो, उनले आराम महसुस गरेको । भन्छन्, ‘धनगढीमा हाकिम बनेर क्वार्टरमा बस्दा साँच्चै नै अब सुखका दिन आउलान् भन्ने लाग्यो, जातीय विभेदको डर थिएन ।’ धनगढी पुग्दा समुदायको प्रतिनिधित्व गरेको महसुस गरे । धेरैका लागि उदाहरणीय बनेर २ वर्षपछि फेरि काठमाडौं फर्के । घर बनाए, गाडी किने, २ छोराछोरीलाई राम्रो स्कुलमा शिक्षादीक्षा दिए । अहिले विष्णुबहादुर सुखी छन्, खुसी छन्, सपना पूरा गरेकामा । उनी आफ्नो सफलताको कथा सुनाउँदै भन्छन्, ‘मिहिनेत गर्न कहिल्यै छोड्नु हुँदोरहेनछ, निरन्तर संघर्ष गरिरह्यो भने सुख अवश्य आउँछ, दुःख पाइयो भनेर हरेस खायो भने सफलता कहिल्यै हात लाग्दैन ।’

२०७१ सालको ब्याचमा राष्ट्र बैंक प्रवेश गर्ने कान्छा अधिकृत हुन्, भरत ओड । उनका अनुसार राष्ट्र बैंकमा २ सय १३ जना उपनिर्देशक छन् । तीमध्ये ४ जना दलित समुदायबाट छन् । एक हुन् उनी । राष्ट्र बैंक स्थापना भएको ६८ वर्षमा उपनिर्देशकभन्दा माथिल्लो पदमा दलित समुदायबाट पुग्न नसकेको उनले बताए ।

समावेशिताबाट बैंक प्रवेशको आठ वर्षपश्चात् आन्तरिक प्रतिस्पर्धाबाट उपनिर्देशकमा फड्को मारेका छन् । युवा पुस्ताका उनी अझै लामो समय राष्ट्र बैंकमा बिताउनेछन् । उनीसँग थुप्रै सपना छन्, व्यक्तिगत सँगसँगै संस्थागत जीवनको । आफ्नो समुदायको सीपलाई व्यावसायिक गर्ने योजना उनीसँग छ । कैलालीका उनी सीपलाई व्यावसायीकरण गर्न नसक्दा दलित समुदायको अवस्था माथि उठ्न नसकेको ठान्छन् । श्रमलाई मूल्यसँग जोड्न नसक्दा गरिबीको चपेटामा रहेको उनको धारणा छ । यसका लागि सीपलाई व्यवसायमा जोड्न र त्यसलाई नगदमा रूपान्तरण गर्न चाहने उनी भन्छन्, ‘दलितहरूको आर्थिक अवस्था माथि नउड्नु भनेको सीपलाई व्यावसायीकरण गर्न नसक्नु नै हो । उनी नीतिगत तहमा पुग्ने अवसर पाउँदा उनको प्राथमिकता नै यही हुनेछ ।

सुदूरपश्चिमको साइनो सिधा भारतसँग जोडिन्छ । उनका बुबाले भारतबाट आम्दानी मात्र गरेनन्, ४ छोराछोरीलाई शिक्षाको ज्योति पनि छरे । दिदीहरू निजामती सेवामा लेखा अधिकृतदेखि एनजीओ हाँकेर बसेका छन् । उनको बाल्यकाल कैलालीमा बित्यो । जग्गाजमिन राम्रै जोडेका थिए बाले । भरत राम्रो पढ्ने विद्यार्थी भएकाले शिक्षकको प्यारो थिए । २०६० को एसएलसीमा प्रथम श्रेणीमा पास भए, अनि उच्च शिक्षाका लागि लागे काठमाडौंतिर । त्यसताका कैलालीबाट काठमाडौं आउने सीमित मान्छेमध्येमा थिए उनी । डीएबी कलेजमा ‘प्लस टु’ गरे, त्रिविबाट फाइनान्समा बीबीए र काठमाडौं युनिभर्सिटीबाट एमबीए गरे । नेपाल बैंक र राष्ट्र बैंक दुवैमा उनले इर्न्टन गरे । संयोग, दुवै बैंकमा सेवा गर्ने अवसर पनि पाए पछि । व्यवस्थापन पढाइ सँगसँगै करिअर बनाउने उद्देश्यले उनको यात्रा बैंकतर्फ मोडिएको हो ।

बैंकबाहेक उनले अन्यत्र करिअर बनाउन चाहेनन् । उनले भने, ‘पढेको कुरालाई नै लागू गराउनु पर्दछ भन्ने थियो, साथीहरू निजामतीदेखि थुप्रै फिल्डमा गए तर म बैंकिङ सपना बोकेर यता लागें ।’ उनले दुवै बैंकमा पहिलो प्रयासमा नै नाम निकाले । एक सातामा दुईवटै बैंकको परीक्षा दिए । पहिलो नाम निकाले नेपाल बैंकमा । कर्जा अधिकृत बनेर नेपालगन्ज पुगे । ४ महिनापछि नै राष्ट्र बैंकमा पनि नाम निस्कियो । अनि आइपुगे ‘ड्रिम जब’ मा । राष्ट्र बैंकको पहिलो पोस्टिङ धनगढीमा भयो । बैंकमा मौद्रिक व्यवस्थापन विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेर कार्य अनुभव बटुले ।

राष्ट्र बैंकमा पुगेपश्चात् दैनिकी बदलियो, सम्मान बढ्यो । गाउँ पुग्दा उनलाई हेर्दै गाउँलेले भनेका थिए, ‘पैसा छाप्ने बैंकमा छौ, तिमीसँग त जति पनि पैसा हुन्छ होला है ।’ गाउँलेको यो बुझाइले उनलाई लाग्यो सामान्य वित्तीय चेतना पनि सर्वसाधारणलाई छैन । समावेशितामा नै उनले बैंकिङ करिअर बनाए । जीवनस्तर सुधारे । उनी भन्छन्, ‘समावेशिताले महिला दलित जनजातिलगायतको प्रतिनिधित्व बढेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्दछ ।’ महिला प्रतिनिधित्व बढेको देख्दा उनी हौसिन्छन् । महिला सशक्तीकरण बढेको देख्दा साँच्चै खुसी लाग्छ उनलाई ।

हरेक परिवारको ‘रोल मोडल’ बाबुआमा हुन्छन् । तनहुँका पुष्कर सुर्खाली आफ्नो बुबालाई ‘रोल मोडल’ बनाएर अगाडि बढे । बुबालाई सकारात्मक सोचको अब्बल व्यक्तित्व मान्छन् उनी । भारतमा सरकारी सेवामा थिए, बुबा । पद सानै भए पनि सरकारी सेवाको गरिमा, प्रतिष्ठाबारे उनले बाल्यकालमै बुझ्न पाए । बुबाको सरकारी जागिर भएकाले नै पढाइका लागि उनलाई आर्थिक अभाव भोग्नु परेन । स्नातकसम्म बुबाकै खर्चमा पढे । पोखरा वन विज्ञानबाट आईएस्सी गरे । पोखराकै पृथ्वीनारायण क्याम्पसमा व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर गरे । विद्यालय होस् वा क्याम्पस पढ्दा, दलित समुदायका भएकै कारण उनी सामाजिक भेदभागको चेपुवामा धेरै पटक परे ।

समाजले ‘अछुत’ को धब्बा लगाइदिएका अनगिन्ती घटना आत्मसात् गर्नुपरेको छ, उनले । विद्यालयमै पानीको छोइछिटो गरिएको अझै मस्तिष्कमा ताजै घुमिरहन्छ । भन्छन्, ‘खानेपानीदेखि घरभाडामा विभेद प्रस्ट झल्किन्थ्यो, पाइलापाइलामा हामीले विभेद भोग्दै अगाडि बढ्नुपर्ने बाध्यता अझै छ ।’ सरकारी सेवाको रहरले उनले थुप्रै स्थानमा परीक्षा दिए पनि रेन्जर बन्ने सपना पनि बोके । खाद्य संस्थान, ग्रामीण विकास बैंक, निजामती सेवामा परीक्षा दिए पनि सफल भएनन् । राष्ट्र बैंकमा उनका एक दाइ थिए, त्यसको प्रेरणा बोके उनले । २०५२ सालमा परीक्षा दिएर २०५३ सालदेखि राष्ट्र बैंकमा जागिरे छन् । सुरुमा धनगढी पुगेका उनी पोखरामा १८ वर्ष विताए । राष्ट्र बैंकमा उनले सहायक, प्रधान सहायक हुँदै सहायक निर्देशकमा ६–६ वर्ष बिताइसकेका छन् । हाल उनी उपनिर्देशकका रूपमा वीरगन्ज शाखाको जिम्मेवारीमा छन् । सेवानिवृत्त हुन लागेका उनी निर्देशक बनेर बिदा हुँदै छन् ।

सेनामा लेफ्टिनेन्ट हुने रहर थियो, पुष्करको । तयारी पनि गरेका हुन् तर त्यो सपना छोडेर राष्ट्र बैंकमा नै आए । किन त ? उनी भन्छन्, ‘लेफ्टिनेन्ट बन्न त त्यसबेला सोर्सफोर्स चाहिन्थो, मेरो कोही थिएनन्, आँट नै आएन । राष्ट्र बैंकमा निष्पक्षता थियो, क्षमताले जागिर खान सक्ने नै बैंक थियो ।’ जागिरे जीवनपश्चात् अब उनलाई कृषि कर्ममा रमाउने मन छ । भने, ‘काम सानो वा ठूलो भन्ने हुँदैन, आफू रमाएको माटोमा फेरि पनि रमाउन मन छ ।’

मधेशी दलितबाट प्रतिनिधित्व गर्ने उपनिर्देशक हुन् सुशीलकुमार दास । २०७१ मा सहायक निर्देशकबाट राष्ट्र बैंक प्रवेश गरेका हुन् । आन्तरिक प्रतिस्पर्धाबाट उपनिर्देशकमा फड्को मारे । कृषि विकास बैंकमा ७ वर्ष अधिकृत तहमा काम गरेपश्चात् राष्ट्र बैंक पुगेका हुन् । जनकपुरदेखि काठमाडौंसम्म विभिन्न शाखामा रहेर काम गरेको अनुभव छ उनीसँग ।

उनी भन्छन्, ‘अरू बैंकमा जागिर भए पनि राष्ट्र बैंक पुग्ने सपना हुन्छ, त्यही सपना मैले पनि पूरा गरेको छु ।’ उनलाई पढ्ने हौसला बुबाले नै दिएका हुन् । पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीए गरे । अर्थशास्त्र र कानुनका विद्यार्थी उनी भन्छन्, ‘कानुन व्यवस्थापन र अर्थशास्त्रको अध्ययनले बैंकिङ करिअरमा धेरै सहयोग पुर्‍याएको छ ।

प्रकाशित : भाद्र ३१, २०८१ ०९:४४
x
×