कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७
शक्ति गौचनकी आमा

आमाले दिएको ब्याटको ‘शक्ति’

आश्विन १, २०८१
आमाले दिएको ब्याटको ‘शक्ति’

Highlights

  • ‘सानैदेखि फुटबलको पारखी र म्याराडोनाको फ्यान थिएँ, पढाइमा राम्रो गरेपछि आमाले पहिलोपटक ब्याट किनिदिनु भयो, त्यहींबाट नै मलाई क्रिकेटमा रुचि बढ्न थाल्यो’
  • विश्वकप आउँदै थियो, अभ्यासका लागि ठाउँ थिएन, छोराले जिद्दी गरेपछि आमाको केही लागेन, आफूले जम्मा गरेको ४ लाख रुपैयाँ लगानी गर्ने बताएपछि धान खेतमा मैदान बनाउन आमा राजी भइन्

भैरहवा — भारतीय सेनामा कार्यरत बुवा खड्गप्रसाद गौचनको पल्टन जहाँ खटिन्थ्यो, आमा रामकुमारी त्यहीं पुग्थिन् । म्याग्दीको दानामा पुर्ख्यौर्ली घर थियो । तर, भारतीय सेनाको खटनपटनले गौचन दम्पतीले ‘फिरन्ते’ जीवन बिताइरहे । खड्गप्रसादको पल्टन कहिले जम्मु–कश्मीर पुग्थ्यो त कहिले पठानकोटमा ।

कोलकाता र गोरखपुरमा समय बिताउनुपर्थ्यो । भारतका विभिन्न स्थानका उकाली–ओराली कटाउने क्रममा पहिलो सन्तान सुमित्रा जन्मिसकेकी थिइन् । त्यसपछि बबिता जन्मिइन् ।

लाहुरे दम्पती कोलकातामा रहेका बेला २०४१ सालमा जन्मिएका हुन्, शक्ति गौचन । शक्ति ५/६ महिनाका हुँदा खड्गप्रसादको सरुवा भयो । ‘जम्मुमा हुँदा सायद म २/३ वर्षको थिएँ,’ शक्तिले भने, ‘त्यो बेलाका कुरा खासै सम्झनामा छैनन् ।’ जम्मुपछि गौचन परिवार लखनउ पुग्यो । लखनउमा बिताएका क्षणका सम्झना पनि धमिला मात्रै छन्, उनीसँग । शक्तिलाई बरु गोरखपुरमा बिताएको समय झलझली याद आउँछ । ‘गोरखपुर पुग्दा ४/५ वर्षको थिएँ, त्यहाँ आमासित धेरै समय बिताएँ, आमाले गरेको माया र गाली दुवै सम्झना आउँछ,’ शक्तिले सुनाए ।

गोरखपुरका गल्लीमा फुटबल र क्रिकेटको निकै क्रेज थियो । बाल्यकालमा शक्ति अर्जेन्टिनी फुटबलर म्याराडोनाका फ्यान थिए । ‘सानैदेखि फुटबलको पारखी थिएँ,’ भने, ‘आमाबुवासित म्याराडोनाको टिसर्ट किन्दिनु, फुटबल किन्दिनु भनेर जिद्दी गर्थें ।’ तर, आमाको सर्त हुने गर्थ्यो, राम्रो अंक ल्याएर पास भए मात्रै किनिदिने । सर्त पूरा गरेका दिन आमाले शक्तिलाई नयाँ लुगा, क्रिकेट ब्याट किनेर ल्याइदिन्थिन् ।

‘कहिलेकाहीं ५/१० रुपैयाँ पनि मिल्थ्यो,’ शक्तिले सुनाए, ‘आमाले ब्याट किन्देपछि मलाई क्रिकेटमा रुचि बढ्न थाल्यो, तर मसित क्रिकेट किटको पूरै सेट थिएन ।’ राम्रो अंक ल्याएर दुई कक्षामा पुगेपछि भने आमाले क्रिकेट किटको सेट नै किनिदिइन् । त्यसपछि भने गोरखपुरका मोहल्लामा शक्तिको सान बढ्यो । ‘क्रिकेट सेट बोकेको देखेपछि धेरै साथीले खेल्न जाउँ भन्न थाले,’ शक्ति भन्छन्, ‘अरू बेला खेल्न दिए पनि परीक्षाका बेला आमाले कडाइ गर्नुहुन्थ्यो ।’ क्रिकेटमा लगाब बढ्न थालेपछि कहिलेकाहीं शक्तिले परीक्षाको बेवास्ता गर्थे । ‘त्यस्तो बेला आमाको रिसको पारा तात्थ्यो, अनि मलाई रामधुलाइ गर्नुहुन्थ्यो,’ उनले भने ।

शक्तिले बाल्यकाल आमासितै बिताए । आमासित छुट्टिन सक्थेनन् । ५ वर्षका हुँदा शक्ति दुर्घटनामा परे । सडकमा हिँडिरहेका बेला मोटरसाइकलले लडाएर पेटमाथि चढ्यो । चिकित्सकले पेटभित्र रक्तस्राव भएकाले तुरुन्त शल्यक्रिया गर्नुपर्ने बताए । दुई रात अस्पतालमै बिताउनुपर्ने भयो । ‘पहिलो पटक आमासित अलग्गिएर रात बिताउनुपर्‍यो,’ उनले भने । आमाको सम्झनाले अत्याएपछि नर्सलाई हातपात गरेर अस्पतालको गेटसम्म भागेको उनले सुनाए । ‘गेटमा गार्डले समातेर फेरि कक्षमा ल्याए,’ उनले भने, ‘उपचारका क्रममा पहिलो पटक मलाई आमाको अभाव महसुस भयो ।’

गोरखपुरका गल्ली–मोहल्लामा सञ्चालन हुने क्रिकेट प्रतियोगितामा शक्ति भाग लिइरहेका हुन्थे । यसले क्रिकेटमा लत बसालेको थियो । तर, उनका प्रशिक्षक विनय सक्सेना शक्तिको क्रिकेटस्तर उकास्न चाहन्थे । प्रशिक्षकले क्रिकेटमा निखार ल्याउन मुम्बई जान सुझाए । यतिन्जेल शक्तिका आमाबुवालाई पनि छोराको खेलप्रति विश्वास जागिसकेको थियो । छोराले क्रिकेट खेल्छ भन्ने थाहा भए पनि आमाले हेरेकी थिइनन् । तर दिदी भने भाइको खेल चाख मानेर हेर्थिन् । ‘गोरखपुरमा छँदा मैले खेलेको हेरिराख्नुहुन्थ्यो दिदी,’ त्यसबेला आफ्नो ब्याटिङ राम्रो रहेको शक्तिले सुनाए । बलिङमा पनि सुधार भइरहेको थियो । आफू सानो भए पनि खेलमा दाइहरूलाई ‘आउट’ गरेको देखेपछि दिदीहरू खुसी हुने गरेको उनले सुनाए ।

यसैक्रममा शक्तिले आफूले मुम्बई गएर क्रिकेट सिक्न चाहेको दिदीलाई सुनाए । दिदीले भाइको चाहना आमालाई सुनाइन् । दिदीले नै आमाबुवालाई ‘कन्भिन्स’ गरेपछि शक्तिको मुम्बई उडान सम्भव भयो । मुम्बईमा शक्तिका लागि मासिक २०/२५ हजार खर्च गर्न पारिवार तयार भयो । त्यसबेला शक्ति ९ कक्षामा पढ्थे । मुम्बईमै पढाइलाई निरन्तरता दिए । त्यहाँ उनका मिल्ने साथी थिए, ज्वाला सिंह । शक्तिले चार वर्ष मुम्बईमा बसेर क्रिकेटमा निखार ल्याए । तर, आमाबिनाको उनको बसाइँ छटपटीमै बित्यो । एकातिर आमाको सम्झना, अर्कोतिर क्रिकेटको तिर्सना । शक्ति आमा र क्रिकेटको दोहोरो प्रेममा थिए । ‘मुम्बईमा सुरुको ६ महिना बिताउन निकै सकस भयो,’ शक्ति भन्छन्, ‘आमाको नियास्रो मेटाउन वर्षमा ६/७ पटक त घरै आएँ ।’

मुम्बईमा शक्तिले १६ वर्षमुनिका स्पर्धामा अवसर पाए । उनका अनुसार १५ वर्षमुनिको राष्ट्रिय टिममा छनोटका लागि क्लोज क्याम्पमा पनि बसे । ‘अन्डर–१६’ को टिममा उनीसित गौतम गम्भीर पनि थिए । मुम्बईमै ‘रेस्ट अफ इन्डिया टिम’ का लागि शक्ति छनोट भए । छोराले भारतका लागि खेल्न अवसर पाएको खबरले आमा निकै खुसी भइन् । ‘मुम्बईमा मैले पाइरहेको अवसरबाट आमा धेरै खुसी हुनुभयो,’ शक्तिले भने, ‘मेरोबारेमा समाचार आउन थालेपछि झन् खुसी हुनुभयो ।’ १६ वर्षमुनिको स्पर्धाका क्रममा उनको औंलामा चोट लाग्यो । त्यही चोट उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । मुम्बईमा उनको औंलाको चोटको उपचार भइरहेको थियो । त्यहीबेला आमाको पत्थरीको समस्या बल्झियो । ‘दिदीहरू बिहे भएर गइसकेका थिए,’ उनले भने, ‘बुवा पनि सेनाबाट अवकाश पाएर डाबर इन्डियामा काम गर्न थाल्नुभएको थियो, घरमा आमाको रेखदेख गर्ने कोही थिएन ।’

गोरखपुरमा आमाको पत्थरीको शल्यक्रिया गरियो । गोरखपुरमा १० वर्ष बिताएर उनीहरू रूपन्देहीको भैरहवास्थित ठुटीपिपल आए । शक्ति पनि आमाको स्याहारसुसार गर्न भैरहवा आए । त्यतिबेला भैरहवामा १७ वर्षमुनिको राष्ट्रिय प्रतियोगिताका लागि छनोट चलिरहेको थियो । शक्तिको भेट क्रिकेट प्रशिक्षक जंगबहादुर थापासित भयो । थापाले ‘१७ वर्षमुनिको छनोट हुँदै छ, के छ शक्तिको विचार ?’ भनेर सोधे । शक्तिले आफ्नो सम्पूर्ण कागजात ल्याएर बुझाए ।

‘जंग गुरुले नेपालले क्रिकेटमा राम्रो गरिरहेकाले अवसर छ भन्नुभयो,’ शक्तिले भने, ‘यहाँ खेल्ने भए बस, नत्र भारत फर्किनु, तर क्रिकेट जारी राख भन्नुभयो ।’ गुरुको कुरा सुनेपछि शक्ति छनोटमा सामेल भए । त्यहींबाट नेपाली क्रिकेटमा आफ्नो यात्रा सुरु भएको उनले बताए । केही समय नेपालमा क्रिकेटलाई निरन्तरता दिने/नदिने द्विविधामा थिए, उनी । भारतबाटै खेल्न अफर आइरहेका थिए । भारतको टाटा कम्पनीको टिमले उनलाई मासिक १ हजार ५ सय पारिश्रमिक दिने गरी खेल्न बोलाएको थियो । भारतीय रेल–वेको टिमले जागिर नै अफर गरेको थियो । ‘मम्मीले पनि यहाँ नबस भन्नुभएको थियो,’ भने, ‘मम्मीले भारतमा धेरै अवसर देख्नुभएको थियो ।’

गौचन परिवार स्थायी बसोबास गर्ने गरी भारतबाट ठुटीपिपलमा ‘सिफ्ट’ भइसकेको थियो । आमा पनि यहीं भएपछि शक्तिले भारत फर्किने सपना त्यागे । त्यसपछि जंगबहादुर प्रशिक्षक रहेको खुकुरी क्लबमा आबद्ध भए । ‘त्यसबेलासम्म मेरो औंला पूर्ण निको भएको थिएन,’ शक्तिले भने, ‘त्यसैले धेरै समय ब्याटिङ गरें, बिस्तारै बलिङ गरिरहेको थिएँ ।’ त्यहीबेला उनलाई १७ वर्षमुनिको राष्ट्रिय टिमको कप्तान चयन गरियो । यहाँ क्रिकेट यात्रा प्रारम्भ गरेलगत्तै आयोजना भएको १९ वर्षमुनिको एसीसी ट्रफी नेपालले जित्यो । उक्त प्रतियोगितामा शक्तिले माल्दिभ्सविरुद्ध शतक र सेमिफाइनलमा यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

त्यसपछि शक्तिको चर्चा चुलियो । प्रतियोगिता सकिएलगत्तै शक्तिका बुवा भारतबाट बिदामा घर आएका थिए । ‘बुवालाई सबैले तपाईंको छोराले मुलुक र थकाली समुदायको नाम राख्यो भन्थे,’ शक्तिले सुनाए, ‘त्यसपछि ड्याडीको खुसी दोब्बर बढ्यो ।’ खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि पत्रकार घरमै आमासित अन्तर्वार्ताका लागि आए । पत्रपत्रिका, रेडियो र टेलिभिजनमा समाचार आए । ‘यस्तो चर्चा सुनेपछि आमालाई मेरो छोराले मुलुकको नाम राख्यो भन्ने विश्वास भयो,’ शक्ति भन्छन्, ‘तर, खेलेर कमाइ नहुने देखेपछि आमा अझै ढुक्क हुनुहुन्थेन ।’

शक्तिलाई आमाले सधैं ‘नाम त कमायौं, दाम कहिले कमाउँछौं’ भनेर सोधिरहन्थिन् । उत्कृष्ट प्रदर्शन गरेका बेला खुसी हुने आमा आर्थिक पाटोमा केही उपलब्धि नदेखेपछि फेरि दुःखी हुन्थिन् । स्थायी आम्दानीको स्रोत नभएकाले अधिकांश समय शक्ति खेल सामग्री खरिद र टुर्नामेन्टमा भाग लिनका लागि आमासित खर्च मागिरहन्थे । त्यसले पनि छोराले भविष्यमा दुःख पाउँछ कि भन्ने चिन्ता थियो । सन् २००२ मा बुटवलस्थित न्यु होराइजन स्कुलले शक्तिलाई क्रिकेट प्रशिक्षक नियुक्त गर्‍यो ।

शक्ति टुर्नामेन्टबाहेकको समय उक्त विद्यालयका विद्यार्थीलाई क्रिकेट सिकाउँथे । बाँकी समय आफ्नो खेलमा मिहिनेत गर्थे । न्यु होराइजनले सुरुमा मासिक ५ हजार रुपैयाँ पारिश्रमिक दिएको थियो । ‘जागिर भएपछि पेट्रोल खर्च चल्यो,’ शक्तिले भने, ‘टुर्नामेन्टबापत पाएको रकमले खेल सामग्री किन्थे ।’ होराइजनले पारिश्रमिकबाहेक पनि आर्थिक सहयोग उपलब्ध गरायो । शक्तिका लागि एउटा विद्यार्थी टिम तयार गरिदियो । पूर्वाधार र खेल सामग्री जुटाइदियो । आफैं कमाइ गर्न थालेपछि आमाको चिन्ता पनि हट्यो ।

शक्तिले नेपाली क्रिकेटलाई विश्वकप क्रिकेट प्रतियोगितासम्म पुर्‍याउने र एक दिवसीय मान्यता दिलाउने लक्ष्य लिएका थिए, जसले गर्दा खेलाडीको आर्थिक अवस्था सुधार हुने र क्रिकेटको स्तर बढ्ने उनले ठानेका थिए । ‘सुरुमा यो मेरो लक्ष्य थियो,’ उनले भने, ‘पछि मुलुकको लक्ष्य भन्यो ।’ यीबाहेक बेलायतको लर्ड्स मैदानमा पाइला टेक्ने रहर थियो । क्रिकेटको गर्विलो इतिहास बोकेको लर्ड्समा रंगशालाका साथै क्रिकेटसित सम्बन्धित स्मारक र संग्रहालय छन् । ‘एक पटक लर्ड्समा खेल्न पाउँ भन्ने सपना थियो,’ उनले भने, ‘भाग्यले साथ दियो, दुई पटक खेलियो ।’ सन् २०१४ मा नेपालले विश्वकप खेल्यो । त्यसमा शक्ति टिमको महत्त्वपूर्ण खेलाडी दिए । सन् २०१७ मा नेपालले एकदिवसीय मान्यता पायो । ‘मैले देखेका तीनवटै सपना पूरा भए,’ उनले भने ।

छोराले क्रिकेटमा उचाइ हासिल गरेको आमालाई जानकारी थियो । तर, छोराको खेल प्रत्यक्ष हेर्न पाएकी थिइनन् । ‘आमालाई चौका, छक्का भन्ने त थाहा छ,’ शक्तिले सुनाए, ‘कहिले टीभीमा खेल आएका बेला हेर्नुहुन्थ्यो, तर पारखी नै बन्नु भएन ।’ शक्तिका अनुसार नेपालले टुर्नामेन्ट जितेको क्षण आमा रमाउनु हुन्थ्यो । ‘नेपाली खेलाडी आउट भयो कि आमा रिसाउनु हुन्थ्यो,’ उनले भने, ‘सिरिज, टुर्नामेन्ट हारियो भने आमाले क्रिकेट छाडदेऊ, काम छैन भन्नुहुन्थ्यो ।’

आमाले आफ्नो रोजाइका कुरामा कहिल्यै ‘नो’ नभनेको शक्ति सुनाउँछन् । आफूले माग गरेको कुरा आमाले पूरा गरिदिएको उनी बताउँछन् । सन् २००५ तिर शक्तिले बिहे गरे । सानैदेखि मन पराएकी भैरहवाको बैंक रोडकी कविता तुलाचनसित उनको बिहे भयो । ‘मेरो लभ–एरेन्ज बिहे हो,’ उनले भने, ‘मैले मन पराएको कुरा मामालाई भने । मामाले काकालाई भन्नुभयो । काकाले कविताको घरतिर कुरा पुर्‍याउनुभयो ।’ छोराको रोजाइ भनेपछि आमाले राजीखुसी बिहे गराइदिएको शक्तिले बताए ।

शक्तिका अनुसार भैरहवाको सिद्धार्थ रंगशाला अहिले जस्तो थिएन । रंगशालामा हिउँदयाममा महोत्सव सञ्चालन हुन्थ्यो । महोत्सवले गर्दा तीन महिनाजति क्रिकेट खेल्न पाइँदैनथ्यो । खेल्ने ठाउँ अभाव भएपछि शक्तिले आफ्नै घरछेउमा सानो मैदान तयार गरे । त्यो ठाउँ पर्याप्त थिएन । आमाले धानखेती गर्न घरको आडैमा ३ कट्ठा खेत खरिद गरेकी थिइन् । शक्तिको त्यसमै आँखा लाग्यो । ‘दुई/तीन वर्षदेखि मम्मीले धान रोप्दै आउनुभएको थियो,’ शक्तिले भने, ‘सुरुमा क्रिकेट पिच बनाउँछु भन्दा मान्नु भएन ।’

त्यहीबेला विश्वकप प्रतियोगिता आउन लागेको थियो । नियमित अभ्यासका लागि ठाउँ थिएन । छोराको जिद्दी अगाडि आमाको केही लागेन । आफूले जम्मा गरेको ४ लाख रुपैयाँ लगानी गर्ने बताएपछि आमा खेत दिन राजी भइन् । ‘त्यति पैसाले मैदान बनाउन पुगेन,’ शक्तिले भने, ‘पछि अपुग दुई लाख रुपैयाँ आमाले थपिदिनुभयो ।’ अहिले त्यही खेतमा शक्तिले सञ्चालन गरिरहेको क्रिकेट एकेडेमी छ । ‘रोपाइँ गर्ने रहर मारेर क्रिकेटका लागि पिच बनाउन दिनुभयो,’ उनले भने, ‘अहिले दुईवटा सिमेन्टका र एउटा टर्फ विकेट रहेका छन् ।’

आमाले शक्तिका सबै माग पूरा गरिदिइन् । ‘जहिल्यै इमानदारितामा जोड दिनुभयो,’ ढाँट्ने, चोर्ने होइन भनेर आमाले सिकाएको शक्तिले बताए । शक्तिलाई आमाले भनेका दुईवटा उखान याद छन्, ‘सर्पमा विष र मानिसमा ईख छैन भने काम लाग्दैन र सुई भएर छिर्ने र हात्ती भएर निस्किनेसित सचेत रहनु ।’ अचेल तिनै ८१ वर्षीया आमालाई कहिलेकाहीं अल्जाइमर्स एट्याक आउँछ । मुटुको समस्या छ । ‘नजिकका मानिसलाई सम्झिनुहुन्छ,’ शक्तिले भने, ‘धेरै सम्झना हुँदैन ।’

शक्तिका बुवाको ८ वर्षअघि चितवनको नारायणगढ–मुग्लिन खण्डमा कार दुर्घटनामा निधन भयो । ६ वर्षदेखि शक्तिले बुवाको स्मृतिमा क्रिकेट टुर्नामेन्ट आयोजना गरिरहेका छन् । खड्गप्रसाद गौचन स्मृति क्रिकेटको छैटौं संस्करण पूरा भइसकेको छ । टुर्नामेन्टको उद्घाटन आमा रामकुमारीले गर्दै आएकी छन् ।

प्रकाशित : आश्विन १, २०८१ ०९:११
x
×