कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४
मेड इन नेपाल

३७ वर्ष पुरानो रिजाल्स दालमोठ

भाद्र ३०, २०८१
३७ वर्ष पुरानो रिजाल्स दालमोठ

Highlights

  • अहिले नेपाली बजारमा रिजाल्सका दालमोठ, भुजिया, चिप्सको  हिस्सा २२ प्रतिशत हाराहारीमा छ, कारोबारमध्ये १० प्रतिशतको हाराहारीमा इटली, बेल्जियम, क्रोएसिया, पोर्चुगल, माल्टा, जर्मनी, फ्रान्स, अस्ट्रेलिया र जापानलगायत १२ देशमा निर्यात हुन्छ

चितवन — दालमोठ, भुजियाका पारखीका लागि ‘रिजाल्स दालमोठ’ परिचित नाम हो । वर्षमा झन्डै ४५ करोड रुपैयाँ बराबरको दालमोठ, भुजिया बेच्दै आएको रिजाल दालमोठ उद्योगले यतिबेला भने बर्सेनि एक अर्ब रुपैयाँ बराबरको उत्पादन माग धान्न सक्ने गरी आफ्नो औद्योगिक क्षमता विस्तार गरिसकेको छ ।

जबकि राजेन्द्रप्रसाद रिजालले ३७ वर्षअघि ६ हजार रुपैयाँ जुटाएर दालमोठ बनाएर बेच्न सुरु गरेका थिए । राजेन्द्रले सुरु गरेको यो उद्यमका उत्पादन उपभोक्तामाझ छोटो समयमै लोकप्रिय बनेपछि उद्योगले पनि क्षमता विस्तार गर्दै गयो र अहिले रिजालका दालमोठ देशभर पुग्ने गर्छ ।

राजेन्द्रसँग दालमोठ उद्योगमा काम गरेको पहिलेदेखिकै अनुभव थियो । ‘हाम्रा बुवाहरू तीन भाइ, हामी जेठाका सन्तान । हामी पनि तीन भाइ नै छौं । माइला काका तेजकुमार रिजालले पूर्व उर्लाबारीमा ०३७/३८ सालतिरै दालमोठ उद्योग खोल्नुभएको थियो,’ राजेन्द्रले भने । त्यो उद्योगमा राजेन्द्रले ०३९ सालतिर काम गर्न सुरु गरे । सानो उद्योग थियो । उत्पादन, बिक्री र हिसाबकिताब सबै काममा उनी नै खट्थे ।

काकाको उद्योगको दालमोठ बेच्न राजेन्द्र चितवन पनि आउने गर्दथे । चितवन आउनेजाने गर्दा उनले यहाँ दालमोठ उत्पादन गरेर बेच्न सकिने सम्भावना देखे । काम नै सुरु गर्ने योजना बनाएर ०४४ सालमा उनी चितवन आए । रत्ननगर टाँडीमा राजेन्द्रको बैनी ज्वाइँको घर थियो । खल्तीमा थियो जम्मा ६ हजार रुपैयाँ । ज्वाइँकै घरमा कराहीमा भुटेर ०४४ मंसिर २८ बाट उनले दालमोठ उत्पादन सुरु गरे ।

पहिला ज्वाइँका भाइहरूले नै उनलाई सहयोग गरे । एक वर्षपछि राजेन्द्रलाई माइला भाइ पुरुषोत्तम सघाउन आए । ०४८ सालमा कान्छा अच्युत पनि चितवन नै आए । आफन्त र भाइहरूको सहयोगले राजेन्द्रले व्यापारको आकार बढाउन पाए । ‘काकासँग बस्दा उत्पादनदेखि बिक्री र हिसाबकिताबसम्म गर्न जानेको थिएँ । बजारमा सम्पर्क थियो । यही सीपले मलाई बल दियो,’ राजेन्द्रले भने ।

दालमोठ बेच्न उनीहरू बुटवलदेखि तनहुँ विमलनगरसम्म जान थाले । ‘राजेन्द्र दाइ पूर्वबाट दालमोठकै कारोबारका लागि चितवन आउनेजाने गर्दा यहाँ राम्रो सम्भावना देख्नुभयो । नारायणीमा पुल बनेको थियो । नारायणगढ–मुग्लिन सडक चालु भएको थियो । यहाँबाट कारोबार फैलाउन सकिन्छ भन्ने ठान्नुभयो,’ भाइ पुरुषोत्तमले भने । त्यो बेला दालमोठ बनाउने कच्चा सामान उधारोमा पाइन्थ्यो । बनाएको दालमोठ नगदमा बिक्री हुन्थ्यो ।

राजेन्द्रले सुरुमा ‘शान्तकमल’ नाममा दालमोठ बजारमा ल्याए । त्यसको ६ वर्षपछि ०५० सालमा औपचारिक रूपमा ‘रिजाल फुड प्रडक्ट’ नामक फर्म दर्ता गरेर उत्पादन सुरु गरे । प्रोप्राइटरसिप संरचनामा रहेको यो फर्मलाई कर्पोरेट स्वरूपमा ढाल्न ०७२ सालमा रिजाल फुड एन्ड बेभरेज प्रालि नामक कम्पनी बनाए । सोही वर्ष रत्ननगर नगरपालिका–३ बेल्सीमा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको २२ कट्ठा जग्गा किने ।

त्यो जग्गाको १० कट्ठामा उत्पादन गर्ने प्लान्ट छ । बाँकी जग्गा गोदाम लगायतलाई उपयोग भएको छ । जग्गा किनेको तीन वर्षपछि ०७५ सालदेखि फ्याक्ट्री सोही ठाउँबाट सञ्चालन हुँदै आएको छ । अहिले दालमोठ, भुजिया, चिप्स र फुरनदाना गरेर २५ प्रकारका दालमोठ भुजिया उत्पादन हुन्छन् । १० ग्रामदेखि आठ सय ग्रामसम्मका ८५ वटा प्याकिङ साइजमा उत्पादनहरू बेच्दै आएको पुरुषोत्तम रिजालले बताए ।

‘हाम्रो उत्पादन देशभर पुग्छ । पूर्वमा ताप्लेजुङदेखि पश्चिममा दार्चुलासम्म हाम्रा १ सय ९० वटा डिलरहरू छन्,’ कम्पनीका प्रबन्ध निर्देशक (एमडी) रहेका पुरुषोत्तम रिजालले भने, ‘दालमोठ, भुजिया र चिप्ससँगै फुरनदाना आफूहरूको लोकप्रिय उत्पादन हो ।’ उनी सिंगो खुर्सानी, बदाम, अदुवाको टुक्रा र कडिपत्तामा चिउरा भुटेर बनाएको फुरनदाना खेतदेखि घर अफिससम्म प्रयोग हुने खाजा भएको बताउँछन् ।

उपभोक्ताहरू उत्पादनको गुणस्तर र प्याकेजिङका कारण सामान खरिद गर्न लालायित हुन्छन् । आफूहरूले यही कुरालाई ख्याल राख्दै गुणस्तरीय उत्पादन र राम्रो प्याकेजिङ अपनाउँदै आएको पुरुषोत्तमले बताए । सहर बजारमा चहलपहल बढेसँगै सपिङ मल र डिपार्टमेन्टल स्टोर्सहरू धमाधम खुल्न थाले । ती ठाउँमा राम्रो प्याकेजिङ भएको भारतीय दालमोठ भुजिया देखिन थाले ।

नेपाली दालमोठ उद्योगहरूले सानो क्षेत्र ओगटेर उत्पादन गर्दथे । प्याकेजिङ राम्रो र मार्केटिङ आक्रामक हुँदैनथियो । ‘हामी मूल्य अभिवृद्धि कर (भ्याट)मा सुरुवाती चरण ०५४ सालतिरै गयौं । यसको फाइदा के भयो भने स्वच्छ र गुणस्तरीय उत्पादनमा सघाउने डेनमार्कको एउटा प्रोजेक्टले हामीलाई पनि सघाउने भयो । तीन महिनासम्म उनीहरूले लगातार हामीलाई गाइड गरे,’ पुरुषोत्तम रिजालले भने । सो प्रोजेक्टले इन्धनको उचित प्रयोग कसरी गर्ने, कार्यक्षमता कसरी बढाउनेदेखि प्याकेजिङ र मार्केटिङसम्मका तौरतरिका सिकायो ।

रिजाल दाजुभाइ भारतको राजस्थान जान थाले । त्यहाँ दालमोठ र भुजिया उद्योगहरू प्रशस्त छन् । दालमोठ भुजिया उद्योगसम्बन्धी भारतमा हुने प्रदर्शनीहरूमा भाग लिन थाले । यसो गर्दा दालमोठ उद्योगमा आएका नयाँ उपकरण र प्रविधिका बारेमा उनीहरू जानकार हुन थाले ।

‘०६८ सालदेखि दालमोठ उत्पादनमा नयाँ र आधुनिक टेक्नोलोजीको प्रयोग गर्न थाल्यौं,’ पुरुषोत्तम भन्छन् । त्यसअघि उनीहरूले आफ्नो उत्पादनलाई बजारमा चिनाउन र बिक्री गर्न व्यक्तिगत तवरमा धेरै मिहिनेत गरेका थिए । जिल्लामा नै बनेको दालमोठ भएका कारणले चितवनमा बजार विस्तार गर्न ठूलो सकस भएन ।

स्थानीय उत्पादन भएका कारण सानाठूला पसलले राजीखुसी राख्थे । ‘हामी दाजुभाइ पहिला अर्डर टिप्थ्यौं । त्यहीअनुसार उत्पादन गर्दथ्यौं । व्यापारीको अर्डरअनुसार कार्टुनमा सामान प्याक गरेर राख्थ्यौं । यता वरपर रिक्सा साइकलमा आफैं राखेर पुर्‍याउन जान्थ्यौं । अरू ठाउँ बसमा राखेर लैजान्थ्यौं । जहाँ पुगे पनि खान र सुत्न घरै आउँथ्यौं । ५० रुपैयाँ भए पनि जोगाउँ भन्ने हुन्थ्यो,’ सुरुवातमा गरेको मिहिनेतबारे राजेन्द्रले भने ।

व्यक्तिगत शीलस्वभाव र लगन मिहिनतसँगै प्रतिस्पर्धी हुन प्रविधि र उपकरण अपनाउँदै गएका कारण टिक्न र फैलन सकेको राजेन्द्र बताउँछन् । अहिले उद्योगमा उत्पादन र प्याकेजिङसम्मका काम स्वचालित मेसिनबाट हुन्छ । साथै उद्योगले रोजगारी पनि दिएको छ । कारखानामा एक सय र मार्केटिङमा ५० जनाले रोजगारी पाएका छन् । महिलालाई प्राथमिकता दिएको पुरुषोत्तमले बताए । लेखादेखि मार्केटिङको माथिल्लो पोस्टसम्म महिला छन् । ‘हाम्रो अहिलेको कारोबार भनेको वर्षको ४५ करोड रुपैयाँ जति छ । तर माग बढेर हामीले पूर्ण क्षमतामा उद्योग चलाउन पाए एक अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सक्ने अवस्थामा छौं,’ पुरुषोत्तमले भने ।

नेपाली बजारमा रिजाल्स दालमोठ, भुजिया, चिप्सको हिस्सा २२ प्रतिशतको हाराहारीमा रहेको उनको दाबी छ । कारोबारमध्ये १० प्रतिशतको हाराहारीमा निर्यात हुने रिजालले जानकारी दिए । नेपालीहरू बस्ने युरोपका इटली, बेल्जियम, क्रोसिया, पोर्चुगल, माल्टा, जर्मनी, फ्रान्स जस्ता देशहरूसहित अस्ट्रेलिया र जापान गरेर १२ देशमा रिजालको उत्पादन पुगेको पुरुषोत्तम रिजाल बताउँछन् । रिजाल दाजुभाइका छोराहरूले नै अहिले ‘रिजाल्स’ ब्रान्डलाई फैलाउन अग्रसर छन् । जेठा राजेन्द्रका छोरा स्वरूप र सौरभले रिजाल्स ब्रान्डमा अचार, केचअप र ससहरू उत्पादन गर्न लागेका छन् ।

पुरुषोत्तमका छोरा प्रितमले दालमोठ उद्योगमै बजार र अनुसन्धानको जिम्मेवारी उठाएका छन् । कान्छा अच्युतका छोरा सौगातले रिजाल्स ब्रान्डमा फापर, कोदो, जौ जस्ता रैथाने अन्नको पिठो बिक्री सुरु गरेका छन् । ‘छोराहरू पढेपछि यहीं बसेर हाम्रो पुर्ख्यौली ब्रान्डलाई बिस्तार गर्न लाग्दै छन् । स्वरूप र प्रितमले एमबीए सकेका हुन् । सौगातले सिभिल इन्जिनियरिङ र सौरभले कम्प्युटर इन्जिनियरिङमा ब्याचलर गरे,’ पुरुषोत्तमले भने ।

आफ्नो उद्यमसँग छोराहरू पनि जोडिएका कारण रिजाल्स ब्रान्डको भविष्य राम्रो देखेको पुरुषोत्तम बताउँछन् । तर यो क्षेत्रमा हरेक दिन चुनौतीहरू पनि नआउने होइनन् । हिजो पनि आफूहरूले सशस्त्र संघर्ष, भूकम्प, लोडसेडिङ, नाकाबन्दी र हालसालै कोभिडको नराम्रो मार खेपेको उनले बताए । धेरै कच्चा पदार्थ र प्रविधि विदेशबाटै ल्याउनुपर्ने दालमोठ उद्योगमा सरकारी नीति नियमले पनि बाधा अप्ठ्याराहरू थप्छन् ।

‘समस्या भनेको परीक्षा हो । गर्न खोजेको काम जानेको छ, अब के गर्ने हो भन्नेबारेमा सजग भए समस्या र चुनौती आए पनि पार लाग्छ, असफल भइन्न,’ पुरुषोत्तमले भने । उद्योगले दुई वर्षअघि गुणस्तर चिह्न आईएसओ २२०००:२०१८ पनि पाएको छ । आफूहरू स्विट्स (मिठाई) उत्पादन गरी आफ्नै आउटलेटबाट बिक्री गर्ने योजनामा रहेको पुरुषोत्तम बताउँछन् । जुस उत्पादन गर्ने योजना पनि रहेको उनले सुनाए ।

प्रकाशित : भाद्र ३०, २०८१ १०:०८
x
×