कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

‘एउटा उचाइ नापेको व्यक्तिलाई अर्को उचाइसँग डर लाग्छ’

भाद्र २७, २०८१
‘एउटा उचाइ नापेको व्यक्तिलाई अर्को उचाइसँग डर लाग्छ’

Highlights

  • अनुराग र नवाजको नेपाल भ्रमण, उनीहरूले नेपाली फिल्म र फिल्मकर्मीबीच देखाएको चासो ‘टक अफ द टाउन’ विषय हो । यी दुईको आगमन, नेपाली फिल्मप्रतिको चासो अनि सहकार्यका विषयले नेपाली फिल्म क्षेत्रकै स्तर बढेको मान्नेहरू पनि छन् । तर, यी दुई आउनु भनेको नेपाली फिल्म क्षेत्रकै विकास हुनु हो त ?
  • साम्बालाको प्रिमियरको भोलिपल्टै नवाजले अभिनेता दयाहाङसँगै लाङटाङ घुमे । लाङटाङ पुगेसँगै नवाजले नेपालको सौन्दर्यलाई लिएर गरेको प्रशंसा यतिखेर चर्चामा छ । उनले एक अन्तर्वार्तामा भनेका छन्– ‘जसले नेपाल देखेन, ऊ जन्मेकै छैन ।’

काठमाडौँ — हालै विश्व बजारमा नेपाली फिल्मको उपस्थिति फराकिलो बन्दै गएको प्रसंग उठाउँदै निर्देशक दीपक रौनियारले भने, विश्व बजारमा हाम्रो उपस्थिति राम्रो नभएको भए ‘साम्बाला’ को प्रिमियरका लागि अनुराग कश्यप र नवाजुद्दिन सिद्दकी नेपाल आउने थिएनन् ।

रौनियारले भनेझैं नेपाली फिल्मको विश्व बजारको पकड देखेरै बलिउडका यी दुई हस्ती नेपाल आएका हुन् । विश्वका शीर्ष फेस्टिभल घुमिरहने कश्यपले त बारम्बार दुई नेपाली फिल्मकर्मीको चर्चा गर्दै आएका हुन्, मीनबहादुर भाम र दीपक रौनियार । साम्बालाकै प्रिमियरमा पनि कश्यपले २ को नाम लिँदै भनेका थिए, ‘मीन र दीपक त्यस्ता फिल्मकर्मी हुन्, जसमा मेरो नजर परिरहन्छ ।’

‘यो ८–१० वर्षको अवधिमा राम्रा कथामा फिल्महरू बनेको देख्दै छु । यसरी नै जताततै फिल्मको विस्तार भएको नियालेको छु । पहिलो फिल्म बनाउन थुप्रो वर्ष लाग्ला, त्यसपछि दोस्रो बनाउन त्योभन्दा कम समय लाग्ला,’ प्रिमियरका दिन कश्यपले भनेका थिए, ‘त्यसपछि तपाईंलाई अनुभव हुन्छ कि तपाईं वर्षको पाँच फिल्म बनाउँदै हुनुहुन्छ । यस किसिमको विकास मैले नेपालमा देखेको छु ।’ कश्यपले आफूले कति बहुमूल्य समय ‘साम्बाला’ का लागि छुट्याएँ भन्ने बुझाउन प्रिमियरलगत्तै २ दिनपछि छायांकनमा पुग्नुपर्ने सुनाइदिए । नवाजुद्दिनले पनि बर्लिनमा ‘साम्बाला’ को चर्चा र चासो यति सुनेछन् कि त्यो चर्चाले उनलाई मीनसँग नभेटी नहुने बनाइदियो । बर्लिनमा एक जनाले नवाजलाई सोधेका रहेछन्– ‘तपाईंले नेपाली फिल्म साम्बाला हेर्नुभयो त ?’ त्यसपछि नवाजले त्यहीँ फिल्म हेर्ने सोचेका थिए तर पाएनन् । जब मीनको निम्तो उनीसामु पुग्यो, अनुरागसहित नवाज पहिलो पटक नेपाल आइपुगे ।

कलाकार दयाहाङ राई र सिद्दिकी काठमाडौंको मण्डला थिएटरमा । तस्बिर : दीपक केसी/कान्तिपुर

भदौ २२ मा नेपाल आएका अभिनेता नवाजले त मीनसँग काम गर्ने इच्छासमेत प्रकट गरिसकेका छन् । सोमबार बानेश्वरस्थित मण्डला थिएटरमा आयोजित छलफलबीच नवाजले निर्देशक भामसामु काम गर्ने चाह व्यक्त गरेका हुन् । ‘मलाई सधैं साम्बालाजस्तै फिल्म गर्ने मन थियो तर बलिउडमा यस्तो फिल्म कमै बन्छन् । त्यसका लागि एकदमै ठूलो हिम्मत चाहिन्छ, त्यो हिम्मत मीनमा छ,’ नवाजले भनेका थिए ।

उनले ‘साम्बाला’ को चर्चा गर्दै मीनकै पनि तारिफ गरे । ‘एउटा देशमा यस्ता व्यक्तिहरू केही समयका लागि आइपुग्छन् । जसले त्यो कालखण्डमा फिल्म होस् या कलाको स्तरलाई एउटा उचाइमा पुर्‍याइदिन्छन् । अनि त्यसले एक किसिमको माहोल बनाइदिन्छ । मीनले गर्दा केही राम्रा निर्देशक, कलाकार आउलान् । म गर्व गरेर भन्छु कि नेपाली फिल्मलाई विश्वमा पुर्‍याउन यी फिल्मकर्मीको भूमिका छ,’ मीनतर्फ हेर्दै नवाजले भनेका थिए ।

निर्देशक भामले त्यही छलफलबीच नवाजसँगै एसियन फिल्मका प्रख्यात अभिनेता टोनी लियोङसँग काम गर्ने घोषणा गरे । २०२६ सम्म छायांकन सुरु हुने गरी फिल्मको स्क्रिप्ट लेख्न सुरु गरिसकेको उनको दाबी छ । ‘यो फिल्मलाई ८/१० वर्ष नलगाऔं भन्नेमा छु । स्क्रिप्टले पछि कस्तो स्वरूप लिन्छ, त्यो थाहा भएन । तर, अहिलेसम्मका लागि म नवाज, टोनी लियोङ र केही नेपाली कलाकारसँग काम गर्न चाहन्छु,’ मीनले भनेका थिए, ‘अभिनेत्री जुलियट बिनोसेसम्म कुरा गरेको छु, उनी तयार छिन् । स्क्रिप्ट सकिने बेलासम्म उहाँहरूले मान्नु हुन्छ वा हुँदैन भन्ने पनि हो ।’

नवाजले ‘साम्बाला’ जस्तो फिल्ममा काम गर्न पारिश्रमिक नलिने घोषणा गरिदिए । मीनले बर्लिनमा भएको पारिश्रमिक नलिने विषय सम्झाउँदा नवाजले तुरुन्तै भने, ‘मसँग पैसा कमाउनका लागि कमर्सियल फिल्महरू छन् । जहाँ म ठूलो रकम माग्न पनि सक्छु । तर, जुन किसिमको फिल्म गर्ने सपना तपाईंको हुन्छ, जुन फिल्ममा सन्तुष्टि मिल्छ, त्यस्तो सपना पूरा गर्न म पैसा लिन्छु र ?’ छलफलबीच नवाजले नेपाली फिल्ममै पनि लगानी गर्ने विषयमाथि रमाइला छलफल भए ।

अनुराग र नवाजको नेपाल भ्रमण, उनीहरूले नेपाली फिल्म र फिल्मकर्मीबीच देखाएको चासो ‘टक अफ द टाउन’ विषय हो । यी दुईको आगमन, नेपाली फिल्मप्रतिको चासो अनि सहकार्यका विषयले नेपाली फिल्म क्षेत्रकै स्तर बढेको मान्नेहरू पनि छन् । तर, यी दुई आउनु भनेको नेपाली फिल्म क्षेत्रकै विकास हुनु हो त ? पक्कै होइन । नेपाली फिल्मको विश्व बजारको पहुँच, ती फिल्मको गुणस्तरले अनुराग र नवाजलाई मीनसँग सहकार्य गर्न लोभ्याएको पक्का हो । तर, त्यसको अर्थ उनीहरू मीन र दीपकबाहेक घरेलु बजारकै फिल्मकर्मीसँग काम गर्न तयार छन् त ?

अनुरागले नै आफ्नो फिल्ममा नेपाली कलाकारलाई खेलाउन कत्तिको आतुर होला ? यसको अर्थ हो, नेपाली फिल्म क्षेत्र अझै पनि यी हस्तीसँग काम गर्ने स्तरको उद्योगका रूपमा स्थापित भइसकेको छैन । नेपाली फिल्म क्षेत्रले उद्योगकै रूपमा उनीहरूलाई आकर्षित गर्न थुप्रै सिँढीहरू चढ्नुपर्ने देखिन्छ । अनि मात्र, भोलिका दिनमा नवाज मात्रै नभई ग्लोबल स्टारहरू नेपाली फिल्ममा वास्तवमै काम गर्न आकर्षित हुने थिए । जसरी कोरियन फिल्म उद्योगले आफूलाई स्थापित गरेको छ ।

तसर्थ, अनुराग र नवाजको आगमनले नेपाली फिल्म क्षेत्रका लागि केही भित्र्याएन भन्ने पनि होइन । यी दुईको आगमनले फरक संस्कृति, अनुभव र ज्ञानको आदानप्रदान भएको बताउँछन्, अभिनेता दयाहाङ राई । ‘संस्कृतिको आदानप्रदान हुने भयो । अहिले साम्बालाको प्रमोट गर्न आउँदा उनीहरूले नेपाली फिल्मको जानकारी त पक्कै लिएर गए । यसले त एक किसिमको माहोल पनि बन्यो । यो त एकले अर्काको कामलाई प्रमोट गर्नु हो, बुझ्नु पनि भयो,’ दयाले भने, ‘ज्ञानको आदानप्रदान भयो, हामीले कस्तो अवस्थामा काम गरिरहेका छौं । उनीहरूको काम गर्दाको भोगाइसँग कति हाम्रो पनि मिल्दो रहेछ भन्ने भयो ।’

निर्देशक मनोज पण्डित पनि यस किसिमको अन्तरक्रियालाई सकारात्मक पक्षका रूपमा व्याख्या गर्छन् । ‘नेपाली फिल्म र बलिउड फिल्मबीच अन्तरक्रिया हुनु, उनीहरू हाम्रो फिल्मको दर्शक हुनु राम्रो पक्ष हो । तर, नेपाली फिल्मका लागि यही मानक होइन । यो हाम्रो ठूलो उपलब्धि होइन, उत्सव मनाउनुपर्ने विषय होइन । यहाँ उनीहरूको उपस्थितिभन्दा साम्बाला जसका कारण उनीहरू नेपाल आए, त्यसमाथि हाम्रो नजर हुनुपर्छ,’ पण्डितले भने, ‘हिजो सारुख खान आउनु र अनुराग कश्यप अनि नवाजुद्दिन सिद्दकी आउनु राम्रो हो । हामीले नेपाली फिल्मलाई जसरी विकास गर्न खोजिरहेका छौं, त्यसमा एउटा खुड्किलो थपिएको प्रतीक हो । हामीले अहिले नेपाली फिल्मको मार्गदर्शन जसलाई बनाइरहेका छौं, भारतमा अनुराग कश्यप र नवाजुद्दिनहरूले गरिरहेकै यही हो ।’

अभिनेता दया अनुराग र नवाजको उपस्थितिले ‘साम्बाला’ को प्रचारमा सहयोग पुर्‍याएको पक्षलाई पनि सकारात्मक ठान्छन् । नवाजले त मण्डलाको छलफलमा अभिनेता बन्नका लागि ‘साम्बाला’ जस्ता फिल्म हेर्नुपर्नेसमेत बताइदिए । ‘तपाईं अभिनेता बन्न चाहनुहुन्छ भने कृपया अभिनेताहरूको फिल्म हेर्नुस् । स्टार हेर्न चाहनुहुन्छ भने त्यसका फरक पक्ष होलान् । तर, तपाईं अभिनेता बन्न चाहनुहुन्छ भने त्यस्तो किसिमको फिल्म हेर्नुस् । साम्बाला ज्वलन्त उदाहरण हो,’ स्टार र अभिनेताबीचको फरक छुट्याउँदै नवाजले भने । ‘साम्बाला’ का एसोसिएट निर्माता मिन्सो लिम्बू पनि दयाहाङकै भनाइमा सहमत देखिन्छन् । ‘खासमा उनी दुई फिल्म हेर्न खोजेपछि हामीले उनीहरूलाई नेपालमा निम्तो गरेका हौं । भारतमा यो फिल्म अलि पछि रिलिज हुँदै थियो । त्यसैले नेपालमा थिएट्रिकल अनुभव गराउन नै हामीले निम्तो दियौं,’ मिन्सोले भने, ‘उहाँहरू आउनु भएर एक किसिमको माहोल बन्यो । उनीहरूको उपस्थितिले फिल्मको प्रचारमा धेरै मद्दत मिलेको छ ।

दयाकै शब्दमा भन्नुपर्दा नवाजले आफ्नो ज्ञान पनि रंगकर्मीदेखि फिल्मका विद्यार्थीबीच बाँडे । नवाजले फिक्सनल चरित्रसँगै थुप्रै बायोपिक फिल्ममा पनि काम गरेका छन्– ‘ठाकरे’, ‘मन्टो’, ‘माझी द माउन्टेन म्यान’ । फिक्सनल र बायोपिक फिल्मको चरित्र निर्माण प्रक्रिया फरक हुने नवाजको अनुभवले भन्छ । बालासाहेब ठाकरेकै चरित्र निर्माण गर्दा वास्तविक चरित्रको नक्कल गरेजस्तै नदेखियोस् भनेर उनले निकै ध्यान पुर्‍याएका थिए ।

‘बालासाहेब ठाकरे बनिरहँदा तपाईं उहाँजस्तै देखिनु पनि पर्‍यो अनि त्यसमा तपाईं पनि देखिनुपर्‍यो । त्यस्तो गर्दा त्यो चरित्रको नक्कल गरेजस्तो मात्र देखिँदैन । बायोपिक गर्दा मिमिक्री गरिने धेरै जोखिम हुन्छ,’ मण्डलामा उपस्थित रंगकर्मी, फिल्मकर्मीदेखि आफ्ना प्रशंसकलाई हेर्दै नवाजले भने । फिक्सनल फिल्मको दाँजोमा दर्शकलाई ती चरित्रबारे खासै जानकारी हुँदैन । तर, बायोपिक जुन चरित्रमाथि बन्छ, ती चरित्र दर्शकले पहिल्यै देखिसकेका हुन्छन् । ती चरित्रबारे सुनिसकेका हुन्छन् । तस्बिर देखेका हुन्छन्, कोही पात्र त जीवित नै हुन्छन् । बालासाहेब ठाकरे शारीरिक रूपले पातला थिए । त्यो शरीरलाई ध्यान दिँदै हार्मोनियममा उनका सुरहरू महिनौंसम्म अभ्यास गरे । बालासाहेबलाई उनी नक्कल गर्न चाहन्थेनन् ।

नन्दिता दास निर्देशित ‘मन्टो’ मा गर्दा उनीसँग तस्बिर मात्रै थियो । मन्टो चरित्र निर्माण गर्न उनी ठाकरेभन्दा स्वतन्त्र थिए । त्यो चरित्र निर्माण गर्न उनले कुनै प्रक्रिया पछ्याएनन् । त्यतिबेला उनले आफैंलाई मन्टो भनी विश्वास गरिदिए । ‘नवाज नै मन्टो हो भनेर मैले विश्वास गरें । मैले त्यसमा आफैंलाई मन्टो भनेर विश्वास गरें,’ उनले भने । नवाजले ‘ग्याङ्स अफ वासेपुर’ मा बिहारी चरित्र गर्नुपरेको थियो । यो फिल्मपछि धेरैले उनलाई बिहारीसमेत ठाने । उनी हरियानाको भाषा बोल्दै हुर्के । यो फिल्मका लागि धनबागमा १० दिन बिताए । त्यहीँ उनले उक्त चरित्रले बोल्ने भाषा पकडे । त्यही बसाइले छायांकनमा आफूलाई उक्त चरित्रमाथि काम गर्न सहज भयो ।

थुप्रै चरित्र निर्माण गरिरहँदा केही चरित्रले सहजै नछाडेको अनुभव नवाजसँग रहेछ । गम्भीर चरित्र बाँचिसकेपछि कलाकारलाई त्यो चरित्रमा भोगेको अनुभवले ल्याउने प्रभावबाट कसरी व्यवस्थापन गर्नुपर्छ ? अभिनेत्री सुरक्षा पन्तले मण्डलाको छलफलबीच प्रश्न राखिन् । रमन राघव चरित्र गरिरहँदा नवाजलाई उक्त चरित्रबाट चाँडै छुटकारा पाइयोस् भन्ने लाग्थ्यो । रमन राघव चरित्र निर्माण गर्दा उनी त्यस्तो ठाउँको खोजीमा थिए जहाँ उनी आफैंसँग डराइरहन चाहन्थे । त्यसका लागि उनी मुम्बईको एउटा वनमा ३/४ दिन बिताए । उक्त चरित्रका कसरी यति क्रूर हुन सक्छन् भन्ने खोज्नका लागि, बुझ्नका लागि त्यहाँ समय बिताएका थिए ।

बारम्बार उनले आफूलाई उक्त चरित्रका रूपमा विश्वास गर्न समय लिइरहे । जब उनले आफूभित्र उक्त चरित्रलाई महसुस गरे तब उनी बाटोको बीचमा ठिंग उभिदिए । उनलाई देखेर बाटोमा हिँड्दै गरेको किसान डराएजस्तो भयो । त्यसपछि नवाजलाई लाग्यो, ‘अब म सुटिङ गर्न सक्छु ।’ ‘जब कुनै कलाकार आन्तरिक रूपले चरित्रभित्र घुस्छ । त्यस्ता चरित्रको अनुभवले प्रभाव पार्छ । तर, तपाईंलाई नयाँ चरित्र पनि गर्न ती कुराबाट बाहिरिनुपर्छ । जति तनाव भए पनि कलाकार त मञ्चमा आउनैपर्छ । तपाईंको घरमा जति नै समस्या होस् त्यो कुरासँग दर्शकको मतलब हुँदैन । यही बलिदान कलाकारले हर समय गर्नुपर्छ,’ नवाजले भने, ‘हामीले यी पक्षलाई व्यवस्थापन गर्नैपर्छ । दर्शकले हामीलाई अपार माया दिन्छन् । त्यो प्रेमका लागि तपाईंको जिम्मेवारी हुन्छ ।’

थिएटर हुँदै फिल्ममा स–साना भूमिकामा आफूलाई सावित गर्दै बलिउडमा स्थापित भएका नवाजुद्दिन अहिले फिल्ममा यति समाहित भइसके कि उनी आफू फिल्ममा पानीजसरी समाहित भइसकेको स्विकार्छन् । ‘ग्यांग्स अफ वासेपुर’ मा ग्याङस्टार बनेका नवाजुद्दिनलाई अब ग्याङस्टार नबनाउनेसमेत निर्देशक अनुराग कश्यपले भनिसकेछन् । अनुरागले नै आफूलाई ग्याङस्टार बनाएको र अब यस्ता चरित्रबाट बचाउने बिँडो उनैले उठाइरहेको ठट्यौली जवाफ नवाजले छलफलबीच दिए ।

लाङटाङ अनुभव

प्रिमियरको भोलिपल्टै नवाजले अभिनेता दयाहाङसँगै लाङटाङ घुमे । लाङटाङ पुगेसँगै नवाजले नेपालको सौन्दर्यलाई लिएर गरेको प्रशंसा यतिखेर चर्चामा छ । उनले एक अन्तर्वार्तामा भनेका छन्– ‘जसले नेपाल देखेन, ऊ जन्मेकै छैन ।’ दयाहाङ राई यी कलाकारको आगमन पर्यटनका हिसाबले पनि सकारात्मक रहेको बताउँछन् । ‘उनीहरू घुमेको ठाउँका बारेमा उनीहरूका फ्यानले जान्ने भए । उनीहरू यस्ता ठाउँमा पुग्दा त त्यो ठाउँको प्रमोट हुन्छ,’ दयाले भने ।

दयाका अनुसार हेलीमा चढ्दा नवाज डरले चुपचाप थिए । चुइँक्क बोलेनन् । दयालाई पनि बेजोडको डर लाग्छ, हेलीमा । तर, उनी डर कम गर्न कहिले झ्यालबाट दृश्य हेर्थे त कहिले नवाजलाई । नवाजुद्दिन भने शरीर हलचल नगरी हेलीमा बसेका थिए । आफ्नो डर कम गर्न दया भने नवाजको पीएसँग गफिरहन्थे । पीएले त भनेका पनि रहेछन्, ‘तपाईंलाई पनि डर लागिरहेको छ है ? डरलाई कम गर्न त्यहाँ एउटा चर्चित अन्तरा पनि प्रयोग भएछ, ‘एउटा उचाइ नापिसकेको व्यक्तिलाई अर्को उचाइसँग डर लागिहाल्छ’ भन्ने ।

हेलिकोप्टरको डर लाङटाङ पुगेर कम भएको नवाजले त्यही दिन मण्डलाको छलफलमा पनि सुनाएका थिए । नवाजुद्दिनको एउटा चर्चित डायलग छ– ‘अपुन हि भगवान् है ।’ अर्थात् म नै भगवान् हुँ । त्यही डायलग सम्झाउँदै जब सहजकर्ता यज्ञेशले उचाइको डरलाई जोडेर प्रश्न गरे तब नवाजले दिएको जवाफले मण्डलामा हाँसो गुन्जियो । ‘त्यतिबेला त मैले किन त्यो डायलग बोलेछु भन्ने भयो,’ नवाजले सुनाए, ‘जब हेलिकोप्टरमा जाँदै थिएँ तब मलाई लाग्यो– म त भगवान् होइन भन्ने अनुभव भयो ।’

शारीरिक अस्वस्थताका कारण लाङटाङ घुम्न नपाएका अनुरागले भने कीर्तिपुर, भक्तपुर र ललितपुर घुमे । यी हस्तीले पर्यटनमै मात्र नभई फिल्म पर्यटनमै पनि सकारात्मक भूमिका खेल्ने देखिन्छ । कश्यप आफ्नो फिल्मलाई नेपाल छायांकनमा ल्याए त्यसले कस्तो प्रभाव ल्याउला ? निर्देशक पण्डित थप्छन्, ‘उनीहरू आइदिएर नेपाली फिल्म क्षेत्रको रातारात परिवर्तन हुन्छ भन्ने छैन । नेपाली फिल्मप्रतिको सम्मानको भावना जुन उनीहरूले जगाएको छ, त्यसलाई टेकेर हामी अगाडि बढ्नुपर्छ ।’

प्रकाशित : भाद्र २७, २०८१ ०८:२३
×