कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

किशोरीहरूको महिनावारी पीडा

भाद्र २८, २०८१
किशोरीहरूको महिनावारी पीडा

Highlights

  • समाज बदलियो, सोच्ने तरिका र शैली बदलियो भनिए पनि धर्म र परम्पराका नाममा महिनावारीबारे अझै पनि समाजमा भ्रमहरू व्याप्त छन्

काठमाडौँ — विगतमा १४–१५ वर्षको उमेरपछि किशोरीमा महिनावारी सुरु हुन्थ्यो । तर, अहिले यो उमेर अवधि ८–९ वर्षमा झरेको छ । यो उमेर समूहका बालिकाहरूलाई महिनावारी चक्रबारे धेरै जानकारी नहुन सक्छ । यति अपरिपक्व उमेरमा महिनावारी हुँदा उनीहरूले कसरी आफूलाई सम्हाल्छन् होला त ? 

अमेरिकी किशोरीहरूमाथि गरिएको एक अध्ययनअनुसार, पहिलेभन्दा अहिले लगभग चार वर्ष चाँडै महिनावारी सुरु हुन थालेको छ । बीबीसीको एक रिपोर्टअनुसार आठ वर्षको उमेरभन्दा अगाडि नै महिनावारी हुने र स्तनको विकास हुने क्रम सन् २००८ देखि २०२० सम्ममा १६ गुणाले बढेको छ । अमेरिकामा मात्र नभई विश्वभरकै किशोरीमा महिनावारीको उमेर अवधि कम हुँदै गएको उक्त रिपोर्टमा उल्लेख छ ।

महिनावारी एक प्राकृतिक र नियमित प्रक्रिया हो । तर कलिलो उमेरमा नै महिनावारी हुँदा यो बढी पीडादायी र झन्झटिलो हुने गरेको धेरैको अनुभव छ ।

संस्कृति आचार्य (२१) को पहिलो महिनावरी हुँदाको अनुभव पनि यस्तै छ । ‘त्यस बेला एकदमै डरलागेको थियो,’ उनी सम्झन्छिन्, ‘धेरै रोएँ पनि ।’ दोस्रोपटक महिनावारी हुँदा नेपालमा विनाशकारी भूकम्प गएको बेला थियो । घरमा बस्ने अवस्था थिएन । ‘त्रिपालमा बस्नुपर्ने, ट्वाइलेट थिएन,’ संस्कृति भन्छिन्, ‘एउटै प्याड लगाएर तीन/चार दिनसम्म बस्नुपर्ने भयो । त्यसबेला धेरै गाह्रो भएको थियो मलाई ।’

महिनावारी हुँदा उनको ‘मुड स्विङ’ हुन्छ, झर्को लाग्छ, भावनात्मक रूपमा कमजोर हुन्छिन्, नुनिलो–पिरो वा मसलेदार खानेकुराको तलतल लाग्छ । अर्थात् सामान्य अवस्था हुँदैन । यस्तोमा कतै टाढा जानुपरेमा, कुनै काम गर्नुपरेमा धेरै असहज हुने उनको अनुभव छ । खप्तड घुम्न गएको बेला त्यस्तै भएछ, उनलाई । यात्राकै क्रममा महिनावारी भइदियो । प्याड बोकेकी रहिनछन्, सहजै किन्न पाउने अवस्था पनि थिएन रे । ‘बल्लतल्ल प्याड त पाइयो तर धेरै महँगोमा,’ संस्कृति सुनाउँछिन्, ‘त्यसमाथि जहाँ पायो त्यहाँ प्याड प्रयोग गर्ने ठाउँ पनि नहुने । न त प्रयोग गरेको प्याड फ्याँक्ने ठाउँ नै थियो । लामो समय ज्याकेटको गोजीमै बोकेर हिँडेँ ।’

महिनावारी जहाँ पनि र जुनसुकै बेला पनि हुन सक्छ । सार्वजनिक यातायातमा यात्रा गरिरहेको बेला, किनमेल गरिरहेको बेला वा कक्षाकोठामा पढिरहेको बेला । यस्तो अवस्थामा युवतीहरूलाई निकै असहज हुन्छ । कतिपयको पेट तथा ढाड दुख्छ, झर्को लाग्छ, थकान महसुस हुन्छ । तर यस्तो बाध्यता अरुले न देख्न सक्छन्, न बुझ्न नै । विदुषी कँडेल (२०) को अनुभव पनि संस्कृतिको भन्दा फरक छैन । ‘यात्राको बेला एकपटक महिनावारी भयो, प्याड बोक्नै बिर्सेछु, खाजा खान रोकेको ठाउँमा सबै पसलमा खोजे तर कतै प्याड पाइएन । बल्लतल्ल पाएको प्याड पनि एकदमै महँगो, प्रयोग गर्न पनि अनुकूल थिएन । न राजमार्गमा सहजै शौचालय भेटिने, न प्रयोग गरेको प्याड फ्याँक्नका लागि डस्बिन नै ।’

नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार महिलाको संख्या १ करोड ४९ भन्दा बढी छ । पुरुषको तुलनामा महिलाको संख्या ६ लाख बढी छ । तर महिलालाई अनिवार्य चाहिने सेनिटरी प्याड भने सबैतिर सहजै पाउन सकिँदैन । ‘होटल, रेस्टुरेन्टहरूले महँगो टिस्यु, ह्यान्डवास, टावेल आदि त राख्छन् तर सेनेटरी प्याड राख्दैनन् । त्यसमाथि सरकारले प्याडमा महँगो कर लगाएको छ,’ विदुषी सुनाउँछिन् । महिनावारीका बेला उनको ढाड दुख्छ । त्यस्तै, मानसिक रूपमा पनि उनलाई असहज भइरहन्छ । कतै कपडामा त रगत लतपतिएको छैन भन्ने कुराले आफूलाई सधैं चिन्तित बनाइरहने विदुषी बताउँछिन् ।

आवृत्ति राई (२१) को पहिलो महिनावारी १० वर्षको छँदै भयो । ‘त्यसबेला पेट एकदमै दुखेको थियो,’ उनी सुनाउँछिन्, ‘ममीले घरेलु औषधि बनाएर दिनुभयो अनि प्याड लगाउन सिकाउनुभयो ।’ आवृत्तिका अनुसार उनका साथीले भने पहिलो महिनावारीको बेला धेरै असजिलो झेल्नुपरेको थियो । ‘बन्द कोठामा बस्नुपरेको थियो । घरको कुनै पुरुष सदस्यको अनुहार हेर्न दिइएन,’ उनी भन्छिन्, ‘सहरमा बस्ने, शिक्षित भनिने परिवारमा पनि यस्तो चलन छ ।’ महिनावारी भएको बेला भान्सामा जान नहुने, अरुको खान छोइदिन नहुने, पूजापाठ गर्न नहुनेजस्ता धारणाले महिलाहरूलाई अप्ठ्यारोमा पार्ने उनी बताउँछिन् ।

अहिले आर्टिफिसियल इन्टेलिजेन्सको युग छ । समाज बदलियो, सोच्ने तरिका र शैली बदलियो भने पनि धर्म र परम्पराको नाममा महिनावारीबारे समाजमा अझै पनि भ्रमहरू व्याप्त छन् । महिनावरी भएको बेला अञ्जानमा वा जानाजानी छोएको छ भने त्यसको पाप कटाउन ऋषिपञ्चमीमा ब्रत बस्ने चलन छ । ‘मान्छेको विचार परिवर्तन गर्न सकिन्छ तर विश्वासलाई परिवर्तन गर्न एकदमै गाह्रो हुने रहेछ,’ आवृत्ति भन्छिन् । पुरातन धारणा राख्ने समाजमा मात्र होइन, शिक्षित भनिएकाहरू पनि महिनावारी, प्याड आदिलाई सहज रूपमा लिँदैनन् । आवृत्ति थप्छिन्, ‘एकपटक कक्षाकोठामा कसैको प्याड झरेछ । महिला शिक्षकले बोलाएर यो फ्याँकिदेऊ भन्नुभयो, महिला त्यसमाथि शिक्षक नै यस्तो भएपछि अरुको के कुरा गर्ने ?’

महिनावारी सुरु हुने बेला वा महिनावारीका क्रममा भावनात्मक रूपमा कमजोर हुने, ‘मुड स्विङ’ हुने, पेट र ढाँड दुख्नेजस्ता समस्या अधिकांशमा हुन्छ । तर महिलाका यस्तो पीडा अरुले बुझ्ने र त्यही अनुसार व्यवहार गर्ने प्रवृत्ति नभएको उनीहरूको गुनासो छ । संस्कृति सुनाउँछिन्, ‘मेरो साथीलाई महिनावारी भएको बेला सहनै नसक्ने गरी पेट दुख्छ । कलेज जान पनि सक्दैनन् ।’

होस्टलमा बस्ने ती साथीलाई होस्टलका कर्मचारीले सोधेछन्, ‘किन कलेज नगएको ?’ साथीले आफूलाई महिनावारी भएको र पेट असाध्यै दुखेको बताइन् । ती कर्मचारीले उल्टै ‘मलाई देखाऊ, प्रमाणित गर’ भनेछन् । ‘त्यसपछि त्यो साथीले पाइन्ट खोलेर देखाउनुपरेको थियो रे,’ संस्कृति भन्छिन्, ‘अझै पनि यो हदसम्म नराम्रो व्यवहार गरिन्छ ।’

प्रकाशित : भाद्र २८, २०८१ ०६:०५
×