कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

रास्वपाको पहिलो राष्ट्रिय भेला : ‘पार्टीबारे नकारात्मक भाष्य बनाउन खोजियो’

आश्विन २, २०८१
रास्वपाको पहिलो राष्ट्रिय भेला : ‘पार्टीबारे नकारात्मक भाष्य बनाउन खोजियो’

Highlights

  • मंगलबार प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि समूहगत छलफल आज, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै 

काठमाडौँ — संघीय संसद्को चौथो ठूलो दल रास्वपाको प्रथम राष्ट्रिय भेला मंगलबार राजधानीमा सुरु भएको छ । सांगठनिक, वैचारिक र नीतिगत स्पष्टताका लागि आयोजना गरिएको केन्द्रीय परिषद्को भेलामा मुलुकभित्र र प्रवासका गरी दुई हजारभन्दा बढी सहभागी छन् ।

रास्वपा सभापति रवि लामिछानेले प्रज्ञा भवन कमलादीमा दुईदिने भेलाको उद्घाटन गर्दै पार्टीको भविष्यबारे नकारात्मक भाष्य स्थापित गर्न खोजिएको जिकिर गरे । भेलाले पार्टीलाई मजबुत बनाउन निर्देश गर्ने विश्वास उनले व्यक्त गरे ।

‘यो भेलासम्म आइपुग्दा सात वटै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना भए । क्लोज क्याम्प गर्‍यौं, पार्टीको नीति, विचार, संगठन, आगामी स्वरूप कस्तो रहने, अवस्था कस्तो रहने, कुन ढंगले अगाडि बढ्ने, शासकीय स्वरूपमा हाम्रो अवधारणा के हो जस्ता कैयौं विषयमा सामूहिक छलफल गर्‍यौं,’ सभापति लामिछानेले भने, ‘म सात वटै प्रदेशको यात्रामा निस्किएँ, त्यहाँ पनि सम्पूर्ण साथीहरूको प्रश्न, जिज्ञासाहरूको जवाफ दिएर, सल्लाह र सुझावलाई संकलन गरेर हामी यहाँ आयौं र यो भेलाले ती सम्पूर्ण सल्लाह–सुझावलाई एक ठाउँमा राखेर अनुमोदन गर्ने मोडमा हामी उभिएका छौं ।’

सभापति लामिछानेले पार्टीभित्र आन्तरिक षड्यन्त्र हुन नहुनेमा जोड दिएका थिए । ठूला राजनीतिक दलहरूभित्र सत्तामा जानका लागि षड्यन्त्र हुँदा मुलुकको विकास नभएको उनको भनाइ थियो । ‘सत्तामा जानका लागि षड्यन्त्रै षड्यन्त्र गर्दा उनीहरूलाई कहिल्यै फुर्सद भएन । एउटा नेता बिहान ६ बजेदेखि रातको १२ बजेसम्म षड्यन्त्र गर्नका लागि मात्र व्यस्त रहन्छ । त्यसकारण देश अगाडि बढ्न सकेन,’ उनले भने, ‘आन्तरिक लडाइँमा त्यसरी नै अल्झिने हो भने हामी त्यहीँ हुन्छौं । हामी अर्को एमाले, अर्को कांग्रेस, अर्को माओवादी, अर्को समाजवादी बन्न आएका होइनौं । हामी सबै जनाका लागि प्रिय रास्वपा बन्न आएका हौं ।’

उनले पार्टी स्थापना कालका महामन्त्री मुकुल ढकालको नाम नलिई धन्यवाद दिएका थिए । आफूले रास्वपालाई अगाडि बढाएको र आउनेहरूलाई स्वागत गर्ने तथा जानेहरूलाई धन्यवाद भन्ने लामिछानेले बताए । स्थापनाकालका महामन्त्री ढकाललाई रास्वपाले केही महिनाअघि कारबाहीस्वरूप पदमुक्त गरेको थियो ।

भेलाको पहिलो दिन पार्टी उपसभापति स्वर्णिम वाग्लेले ‘नीति–विचार’ बारे संक्षिप्त प्रतिवेदन पेस गरेका थिए । उनले संक्षिप्त प्रतिवेदन छलफलमा लगेर पहिलो महाधिवेशनबाट पूर्णता दिइने बताएका थिए । रास्वपाको महाधिवेशन २०८२ वैशाखमा गर्ने प्रस्ताव राखिएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीको विधान संशोधन प्रस्ताव पेस गरेका थिए । विधान संशोधन प्रस्तावमा एक–एक महिलासहित ३/३ जना उपसभापति र सहमहामन्त्री पद राख्नुपर्ने उल्लेख छ । कोषाध्यक्ष र प्रवक्ताबाहेक सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव पनि अगाडि सारिएको छ । पार्टी कोषाध्यक्ष लीमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

पार्टीका प्रदेश समितिका तर्फबाट प्रतिवेदन पनि पेस गरिएका छन् । कोशीका सभापित राजेश तिमल्सिना, मधेसका तपेश्वर यादव, वाग्मतीका अच्युतम लामिछाने, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक, कर्णालीका मदन खड्का र सुदूरपश्चिमका प्रकाश विष्टले पार्टीको विचार, संगठन, कार्यशैली र जनसरोकारका मुद्दामा पार्टीले लिनुपर्ने नीतिबारे सुझाव राखेका थिए । पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार भेलाको पहिलो दिन मूल्य–मान्यता प्रस्ताव, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीसम्बन्धी प्रस्ताव पनि पेस गरिएको छ ।

भेलामा प्रस्तुत प्रस्तावहरूमाथि बुधबार सामूहिक छलफल गर्ने कार्यसूची छ । रास्वपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर भेलाको दोस्रो दिन समूहगत छलफल हुनेछ । प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सकिनेछ ।’

भेलाले विधानमा आवश्यक स्पष्टता र व्याख्या गर्ने तथा पार्टी सञ्चालन र व्यवस्थापनको विधि स्थापित गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता झाले जानकारी दिए । ‘यो भेलाले महाधिवेशनका लागि मार्गनिर्देश गर्छ, विधि र नीति निर्धारण गर्छ । प्रस्तुत भएका दस्ताबेजहरूमा सबैले मत राख्नु हुनेछ,’ उनले भने ।

प्रकाशित : आश्विन २, २०८१ ०५:४१
x
×