कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राउटे युवक वृषबहादुर शाहीको मृत्यु

आश्विन ३, २०८१
राउटे युवक वृषबहादुर शाहीको मृत्यु

वीरेन्द्रनगर — लोपोन्मुख राउटे समुदायका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षका वृषबहादुर शाही रहेका छन् । ६ महिना अघिबाट बिरामी शाहीलाई भदौ ३१ गते उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । अस्पतालमा चेक गर्दा उनलाई डाक्टरले सरूवा टिबी भएको बताएका थिए । 

उनको कलेजो, मुटुमा पनि धेरै क्षति पुगिसकेकोले उपचार हुन नसक्ने भनेपछि अस्पतालले डिस्चार्ज गरिदिएको थियो । डिस्चार्जपछि बसोबास भएको ठाउँ दैलेखको गुराँस गाउँपालिका-१ सिमेसाल फर्किंदै गर्दा सुर्खेतको कल्यान काँधमा बुधबार राति ९ बजेतिर मृत्यु भएको राउटे परियोजनामा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीले बताए ।

उनका अनुसार सुरूमा राउटेले उपचार गर्न ल्याउन दिएनन् । धेरै प्रयास गर्दा पनि उनलाई समयमा अस्पताल ल्याउन नसकिएको उनले बताए । अन्तिममा बिरामीले आमाबुवाले नमाने पनि मलाई उपचारका लागि लैजानुस् भन्दा अस्पताल ल्याएको उनको भनाइ छ ।

मृतक राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् । वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १ सय ३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको जन्म भएको छ ।

प्रकाशित : आश्विन ३, २०८१ १३:०६
×