कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

७९ औं यूएन महासभा : प्रधानमन्त्रीले महासभासहित ५ ठूला कार्यक्रमलाई सम्बोधन गर्ने

आश्विन ३, २०८१
७९ औं यूएन महासभा : प्रधानमन्त्रीले महासभासहित ५ ठूला कार्यक्रमलाई सम्बोधन गर्ने

Highlights

  • कोलम्बिया र हार्वर्ड विश्वविद्यालयमा पनि छुट्टाछुट्टै सम्बोधन
  • यूएनका महासचिव एन्टोनियो गुटेरेदेखि भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेसँग भेटवार्ता हुने,नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने 
  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको टुंगो लाग्न अझै बाँकी, एक दर्जनभन्दा बढी साइडलाइन भेटवार्ता हुने  

न्युयोर्क, अमेरिका — नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा र समिट अफ द फ्यूचर कार्यक्रमको गृहकार्य पूरा गरेको छ । महासभा र समिट अफ द फ्युचरमा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार न्युयोर्क आइपुग्दैछन् । परराष्ट्रमन्त्री आरजु राणा देउवा भने बिहीबार बिहान क्यानडाबाट न्युयोर्क आइपुग्नेछिन् । 

महासभादेखि समिट अफ द फ्यूचरसहित अमेरिकामा रहँदा ओलीले ७ महत्त्वपूर्ण विषयमा सम्बोधन गर्ने, एक दर्जनभन्दा बढी साइडलाइन भेटवार्ताहरु र अन्य कार्यक्रममा पनि सहभागी हुनेछन् ।

प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमार्फत सम्पूर्ण गृहकार्य पूरा गरेको हो । ‘महासभा र समिट अफ द फ्यूचर तथा प्रधानमन्त्री अमेरिकामा रहँदा हुने सम्पूर्ण कार्यक्रम र भेटवार्ताको गृहकार्य पूरा भएको छ,’ परराष्ट्रका एक अधिकारीले भने,‘बहुपक्षीय कूटनीतिक सम्मेलन भएकोले केही टुंगो लाग्न बाँकी रहेका विषय छन् । एक वा दुई दिनमा टुंगो लाग्ने छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभाको भ्रमणका दौरान चार महत्त्वपूर्ण कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री ओलीले समिट अफ द फ्युचर, ७९ औं महासभाको उच्चस्तरीय छलफल, ‘एन्टिमाइक्रोबियल रेसिस्सटेन्स’ को उच्चस्तरीय सत्र र ‘सी लेभल राइज’ को उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । साथै, न्युयोर्कमै विभिन्न मुलुकका सांसदहरुलाई ‘पेरिस सम्झौतासँग जोडिएर फाइनान्सिङ द फुचरः मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली असोज ४ मा न्युयोर्क आइपुग्ने कार्यक्रम छ भने असोज १२ मा भ्रमण पूरा गरि बोस्टनबाट नेपालको लागि निस्कने छन् ।

त्यो अवधिमा प्रधानमन्त्री ओली विभिन्न सम्बोधन, उच्चस्तरीय भेटवार्ता र नेपाली समुदायसँग अन्तर्क्रिया कार्यक्रममा व्यस्त रहने छन् । ओलीले असोज ६ मा समिट अफ द फ्यूचरमा सम्बोधन गर्नेछन् भने असोज १० मा महासभाको उच्चस्तरीय छलफललाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यूएनका महासचिव एन्टोनियो गुटेरेसँगदेखि भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेसँग साइडलाइनमा भेटवार्ता हुने भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको टुंगो लाग्न अझै बाँकी छ । नेपाल भारतीय पक्षको प्रतिक्षा गरिरहेको छ । मोदी ६ र ७ मा मात्र न्युयोर्कमा हुनेछन् । नेपालले ६ गते मोदीसँग साइडलाइन भेटवार्ता गर्नको लागि प्रस्ताव गरेको छ ।

ओलीले राष्ट्रसंघ बाहेक असोज ७ मा न्युयोर्कको कोलम्बिया विश्वविद्यालयमा ‘प्रजातन्त्र र आर्थिक समृद्धिमा नेपालको यात्रा’ विषयमा सम्बोधन गर्ने छन् भने ‘संक्रमणकालीन न्यायदेखि जलवायु न्यायसम्म नेपालको दृष्टिकोण’ सम्बन्धमा असोज ११ मा बोस्टनको हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले न्युयोर्क आएकै भोलिपल्ट असोज ५ मा नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । ओलीले आएकै दोस्रो दिन महासचिव गुटेरेससँग भेटवार्ता गर्नेछन् भने महासभालाई असोज १० मा सम्बोधन गर्ने छन् ।

यस्तै, ओलीका अन्य भेटवार्ताको लागि न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले गृहकार्य गरिरहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने विषयमा गृहकार्य भए पनि हालसम्म भारतीय पक्षबाट कुनै पनि जवाफ आइसकेको छैन ।

नेपाली प्रतिनिधिमण्डलको लागि भ्रमणमा आवश्यक गृहकार्य स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र उनको टोलीले गरेको छ । साथै, नेपालीहरुसँग भेटवार्ता र अन्तर्क्रियाको लागि भने न्युयोर्कस्थित वाणिज्य दूतावासले गरेको छ । महावाणिज्य दूतावासका प्रमुख चक्र सुवेदीले नेपाली समुदायसँग कार्यक्रमको लागि सहकार्य गरेका हुन् ।

चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको न्युयोर्क यात्रा पहिलो विदेश भ्रमण हो । यस्तै, सन् २०२० मा भर्चुअल रुपमा महासभालाई नेपालबाटै सम्बोधन गरेपछि ओली पहिलोपटक सम्बोधन गर्न आउन लागेका हुन् ।

प्रधानमन्त्री ओली आउने, सम्बोधन गर्ने र अन्य साइडलाइन भेटवार्ताको बारेमा तीब्र रुपमा गृहकार्य भइरहेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए । उनले भने,‘काम तीब्र रुपमा भइरहेको छ । कहाँ कहाँ सम्बोधन गर्ने विषयमा टुंगो लागे पनि को कोसँग भेटवार्ता गर्ने भन्ने बारे अन्तिम रुपम लिन बाँकी नै छ ।’

तीन दशक राष्ट्र संघका विभिन्न संस्थाहरुका काम गरेका तथा म्यानमार र जिम्बाबेमा आवासीय स्थायी प्रतिनिधिको समेत भूमिका निर्वाह गरिसकेका नेपाली विज्ञ विश्व पराजुली ७९ औं महासभामा नेपालले प्रधानमन्त्री ओलीले सम्बोधन गर्दा क्षेत्रीयतालाई जोड दिएर त्यसमा नेपालको भूमिका कहाँ हुन्छ भन्ने कुरामा ध्यान दिनु पर्ने सल्लाह दिन्छन् । उनले नेपालले घरमै अघि बढाएको शान्ति प्रक्रियामात्र भनेर नहुने उल्लेख गर्दै नेपालले नेपालको विश्व शान्तिको लागि नेपाली सुरक्षाकर्मीहरुले गरेको योगदानको बारेमा पनि भन्नु पर्ने उल्लेख गरे । ‘जलवायु परिवर्तनमा नेपालले भोग्नु परेको अवस्था र अनुकूल तथा यसबाट बँच्ने विषयमा हामीले कुरा राख्नु पर्छ,’ उनले भने,‘कोभिड, युक्रेन युद्ध, इजरायल–प्यालेस्टाइन युद्ध, दिगो विकासका लक्ष्यहरु (एसडीजी) प्राप्त गर्ने विषयमा पनि पनि जोड दिन आवश्यक छ । एलडीसीबाट माथि जानको लागि नेपाललाई आवश्यक स्रोत र साधनमा आवश्यकता र सहयोगको बारेमा पनि भन्न आवश्यक हुन्छ ।’

पराजुलीले समग्र विकासको कुरा र विकासको लागि सहयोगको कुरा गर्नुपर्ने प्रष्ट पारे । ‘विकासको लागि सहयोग घट्दै छन् । त्यसलाई बढाउनुपर्छ । त्यस विषयमा हामीले मात्र होइन, अरुले पनि मान्नुपर्छ । मुलुकको आवश्यकताको लागि विभिन्न पक्षबाट कुरा उठाउनु पर्छ,’ उनले थपे ।

उनले नेपालको तीन दशकदेखिको कुरालाई दोहोराएर मात्र नहुने उल्लेख गर्दै संसारमा जहाँ पनि समस्या र संकट भइरहेको प्रष्ट पारे । नेपालको तर्फबाट प्रधानमन्त्रीजीले ती संकटलाई कसरी समाधान गर्न सकिन्छ भनेर कुरा राख्न आवश्यक हुने सल्लाह पराजुलीले दिए ।

‘अर्कोतर्फ हामीले आवश्यक कुराहरु माग्ने जस्तै गरि लिने होइन, नेताको हैसियतमा आवश्यक कुरालाई प्राप्त गर्नको लागि पहल गर्नु पर्छ,’ उनले भने,‘हाम्रो श्रमिक बाहिर जाँदा अरुलाई फाइदा हुन्छ र हामीलाई पनि फाइदा हुन्छ । त्यसलाई हामीले सहि रुपमा प्रयोग गर्नुपर्छ ।’

यस्तो छ प्रधानमन्त्री ओलीको भ्रमणको तालिका

असोज ४ : बेलुकी अमेरिकाको न्युयोर्क आइपुग्ने

असोज ५ : यूएनका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता

न्युयोर्कमै विभिन्न मुलुकका सांसदहरुलाई ‘पेरिस सम्झौतासँग जोडिएर फाइनान्सिङ द फुचर’ मा सम्बोधन गर्ने

नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

असोज ६ : नेपालको तर्फबाट समिट अफ द फ्युचरमा सम्बोधन गर्ने, द्विपक्षीय साइडलाइन भेटवार्ताहरु

असोज ७ : कोलम्बिया विश्वविद्यालयमा ‘प्रजातन्त्र र आर्थिक सम्बृद्धिमा नेपालको यात्रा’ विषयमा सम्बोधन र द्विपक्षीय साइडलाइन भेटवार्ताहरु

असोज ८ : यूएनमा ‘एन्टिमाइक्रोबियल रेसिस्सटेन्स’ को उच्चस्तरीय सत्रमा सम्बोधन, द्विपक्षीय साइडलाइन भेटवार्ताहरु

असोज ९ : यूएनमा ‘सी लेभल राइज’ को उच्चस्तरीय सत्रमा सम्बोधन, द्विपक्षीय साइडलाइन भेटवार्ताहरु

असोज १० : ७९ औं महासभाको उच्चस्तरीय सत्रमा सम्बोधन र साइडलाइन भेटवार्ताहरु

असोज ११ : बोस्टनमा हार्वर्ड विश्वविद्यालयमा ‘संक्रमणकालीन न्यायदेखि जलवायु न्यायसम्म नेपालको दृष्टिकोण’ सम्बन्धमा सम्बोधन गर्ने

असोज १२ : बोस्टनबाट नेपाल प्रस्थान गर्ने



प्रकाशित : आश्विन ३, २०८१ १८:४५
×