कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

कांग्रेस सभापति रिसाएको एक सेकेण्डमै सरकार ढल्छ : लामिछाने

आश्विन ३, २०८१
कांग्रेस सभापति रिसाएको एक सेकेण्डमै सरकार ढल्छ : लामिछाने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने बताएका छन् । बिहीबार पार्टीले गरेको संविधानमाथिको छलफलमा सभापति लामिछानेले यस्तो दाबी गरेका हुन् ।

उनले वर्तमान संसद्‌मा सरकार बनाउनको लागि एक वा दुई भन्दा बढी पार्टीहरु मिल्नुको विकल्प नभएको बताए। सभापति लामिछानेले संविधानले व्यवस्था गरेको शासकीय स्वरुपमा नै अस्थिरता रहेको भन्दै रास्वपाले शासकीय स्वरुपमा निर्वाचित प्रधानमन्त्री बनाएर विधायकी सांसद बनाउनुपर्ने एजेण्डा लिएको दाबी गरे ।

उनले प्रत्यक्ष प्रधानमन्त्रीले विज्ञताका आधारमा मन्त्रीमण्डल बनाउन पाउने शासकीय स्वरुप बनाउनु अहिलेको अवश्यकता भएको बताए । उनले भने, ‘सविधानमा शासकीय सुधारमा हामीले प्रत्यक्ष प्रधानमन्त्रीको विषयमा हामीले बतायौं । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ । प्रधानमन्त्रीले विज्ञताका आधारमा विषयविज्ञलाई मन्त्रीमण्डल राख्न पाउने भनेका छौं । नभए अहिलेको अवस्थामा स्थिरता सम्भव छैन । संसद्‌मा अहिले शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने स्थिति छ। अहिले दुई तिहाईको सरकार सबैभन्दा अस्थिर छ । एउटा पार्टीले अर्को दलको नेतासँग समन्वय नगरी सरकार चलाउन सम्भव छैन ।'

उनले दुई तिहाईको सरकारको कुनै प्राथमिकता नभएको बताए । उनले वर्तमान सरकारले संविधान संशोधन गर्ने भन्ने नाममा आफ्नो राजनीतिक स्वार्थको सौदाबाजी गर्न खाजेको भन्दै संविधानलाई सौदाबाजी गर्नु राम्रो नभएको बताए ।

प्रकाशित : आश्विन ३, २०८१ २०:३२
×