कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

इजरायलद्वारा पूर्वराजदूतकी घरेलु श्रमिकलाई ‘डिपोर्ट’

आश्विन १, २०८१

Highlights

  • राजदूत फिर्ता हुनुभन्दा एक घण्टाअगाडि मात्रै राजदूतको निवास छाडेर हिँडेकी हुँ, यो मेरो बाध्यता थियो : घरेलु श्रमिक

काठमाडौँ — इजरायलले तेलअभिभस्थित नेपाली दूतावास छाडेर भागेकी एक घरेलु श्रमिक महिलालाई आइतबार ‘डिपोर्ट’ गरिदिएको छ । उनी सोमबार बिहान फ्लाई दुबईको उडानबाट काठमाडौंमा आइपुगेकी छन् ।

गत असार ३१ गते पूर्वराजदूत कान्ता रिजालसँगै स्वदेश नफर्की दूतावासबाट भागेर गैरकानुनी हैसियतमा बसेको भन्दै इजरायलको अध्यागमन प्रशासनले पक्राउ गरी उनलाई डिपोर्ट गरिदिएको हो ।

इजरायलका लागि नेपाली पूर्वराजदूत रिजाल स्वदेश फिर्ता हुनु एक घण्टाअघि आफूले राजदूतको निवास छाडेर हिँडेको ती श्रमिकले स्वीकार गरेकी छन् । ‘म इजरायल पुगेको आठ महिना मात्रै भएको थियो । इजरायलमा मेरो चिनजानका साथीहरू थिए । उनीहरूले अवैधानिक रूपमा यहाँ बस्दा केही फरक नपर्ने भनेकाले त्यतै बसेकी हुँ,’ उनले कान्तिपुरसँगको कुराकानीमा भनिन्, ‘बल्लतल्ल कमाउने ठाउँमा पुगेकी थिएँ । फेरि जान मिल्दैन्थ्यो । घरको अवस्था कमजोर भएकाले जानेबित्तिकै फिर्ता आउन नचाहेकी हुँ ।’ उनी गत डिसेम्बर २४ मा राजदूतको निवासमा घरेलु श्रमिकको हैसियतमा काम गर्न नेपालबाट गएकी थिइन् ।

जेरुसेलमस्थित एक बेतावोत (वृद्धाश्रम) मा काम गरेर बाहिरिने क्रममा अध्यागमनका प्रहरीद्वारा गत बिहीबार उनी पक्राउ परेकी थिइन् । ‘तेल अभिभमा रहेको राजदूत निवास छाडेर म जेरुसेलममा गएकी हुँ । सम्पर्कमा रहेका साथीले त्यहाँ बेताबोतको काममा लगाइदिए । त्यहाँ मैले एक महिना काम गरें । त्यसबापत १ लाख ७५ हजार रुपैयाँ पाएकी थिएँ,’ उनले भनिन्, ‘ड्युटी सकेर फर्किने क्रममा प्रहरीले मलाई बाटोबाट पक्राउ गरेको हो ।’

अध्यागमनले आफूले डिपोर्टटेसन सेन्टरमा ९ दिन राखेको उनले बताइन् । ‘त्यो एउटा होटलजस्तै लाग्यो,’ उनले भनिन्, ‘स्वास्थ्य उपचारको सुविधा थियो । बिहान साढे ५ बजे डाक्टरसहित प्रहरी आउँथे ।’

अदालतले आफूलाई ५ वर्षसम्म इजरायल आउन नपाउने गरी डिपोर्ट गरिदिएको उनको भनाइ छ । नेपाल फर्कनका लागि उनलाई नेपाली दूतावासले ट्राभल डकुमेन्ट जारी गरिदिएको थियो । ‘नेपाल फर्किने बेला मेरो दूतावासका प्रतिनिधिसँग भने भेट भएन,’ उनले भनिन् ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गरेसँगै कांग्रेस कोटामा नियुक्त भएर इजरायलका लागि राजदूत नियुक्त भएकी रिजाललाई फिर्ता बोलाउने निर्णय गरेको थियो । रिजाल गत असार ३१ मा इजरायलबाट स्वदेश फर्केकी थिइन् ।

रिजाललाई कांग्रेस–एमाले गठबन्धन सरकार बनेसँगै केपी शर्मा ओली सरकारले पुन: अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरेको थियो । तर, घरेलु श्रमिकलाई इजरायलमै छाडेको आरोप लागेपछि परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ समितिमा उनको नाम नै पठाएन । परराष्ट्रले घरेलु श्रमिक इजरालयमा पक्राउ परेको तीन दिनपछि अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । कांग्रेस नेतृ यादव पूर्वउपसभामुख हुन् ।

प्रकाशित : आश्विन १, २०८१ २२:२७
x
×