कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

अधिकारीको ‘अर्हत्’ बजारमा

भाद्र ३०, २०८१
अधिकारीको ‘अर्हत्’ बजारमा

काठमाडौँ —  शैलेन्द्र अधिकारीद्वारा लिखित उपन्यास ‘अर्हत्’ शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा विमोचन गरिएको छ ।

बौद्धदर्शनमा आधारित उक्त उपन्यास अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थवीर, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, साहित्यकार नवराज लम्साल, भिक्षु महासंघका सचिव निग्रोध भन्ते, अग्रज्ञानी गुरुमा, शिखाबुक्सका प्रबन्धक पुष्पराज पौडेल, पब्लिक क्याम्पस संघ नेपालका महासचिव गोविन्दबहादुर कार्की तथा लेखकले संयुक्त रूपमा विमोचन गरेका थिए ।

बुद्ध जन्मेको देशमा बुद्धसम्बन्धी लेखन तथा अनुसन्धान कम भइरहेको भन्दै सचिव निग्रोध भन्तेले राज्यका भाषा, साहित्य, संस्कृतिसम्बन्धी निकायहरूले बेवास्ता गरिरहेको अवस्थामा अधिकारीले बुद्ध जीवनीमा आधारित उपन्यास लेख्नु सुखद् भएको बताए । किताबको समालोचना गर्दै चौहानले बुद्ध आध्यात्मिक व्यक्तित्व भए पनि उनको प्रभाव राजनीतिमा झन् बढी रहेको भन्दै बुद्धको सहअस्तित्वको अवधारणाले नेपाली राजनीति प्रभावित हुनुपर्ने तर्क गरे ।

उनले यस दिशातर्फ प्रेरित गर्न ‘अर्हत्’ मा प्रशस्त गुणहरू रहेको जिकिर गरे । साहित्यकार लम्सालले पूर्वीय ज्ञान परम्परा अत्यन्त समृद्ध रहेको र त्यस परम्पराको आदरणीय महामानव बुद्ध रहेको धारणा राख्दै सांख्य दर्शन जहाँ पुगेर रोकिन्छ, त्यहींबाट बुद्धले ज्ञानको नयाँ क्षितिज उघारेको कुरालाई उपन्यासको वैचारिक विषय बनाइएको बताए ।

उपन्यास ‘अर्हत्’ लाई शिखाबुक्सले बजारमा ल्याएको हो । उपन्यासकार अधिकारीका यसअघि ‘निर्वेद’ उपन्यास र ‘बह्मास्त्र’ कथासंग्रह प्रकाशित भइसकेका छन् ।

प्रकाशित : भाद्र ३०, २०८१ ०६:०६
x
×