कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

ग्लोबल ट्रेन्डिङमा ‘कश्मीरे पछ्यौरी’

भाद्र २८, २०८१
ग्लोबल ट्रेन्डिङमा ‘कश्मीरे पछ्यौरी’

काठमाडौँ — रिलिजको आठ महिनापछि नेपाली लोकदोहोरी गीत ‘कश्मीरे पछ्यौरी’ युट्युबको म्युजिकतर्फको ग्लोबल ट्रेन्डिङमा आएको छ । ट्रेन्डिङको एक सय गीतको सूचीमा उक्त गीत बिहीबार रातिसम्म ९८ औं स्थानमा आएको छ । 

म्युजिक ट्रेन्डिङको पहिलो स्थानमा भने एक महिनाअघि युट्युबमा अपलोड गरिएको हिन्दी फिल्म ‘स्त्री २’ को ‘आज की रात’ छ । दोस्रोमा पनि सोही फिल्मको अर्को गीत रहेको छ । तेस्रोमा कोक स्टुडियोको ‘कारोल जी’ आउँदा चौथो र पाँचौं नम्बरमा क्रमशः लेडी गागा र ब्रुनो मार्सको ‘डाई विथ अ स्माइल’ तथा हिन्दी फिल्म ‘ब्याड न्युज’ को ‘तोबा तोबा’ रहेका छन् । युट्युबले सूचीका लोकप्रिय एक सय म्युजिक भिडियोबाट अहिलेसम्म ५४ करोड ८१ लाखभन्दा बढी भ्युज बटुलेको छ ।

युट्युबले यस साताका सबैभन्दा लोकप्रिय म्युजिक भिडियोको ‘टप १०० म्युजिक भिडियो ग्लोबल’ भनेर सार्वजनिक गरेको ‘ग्लोबल चार्ट’ मा मौसम हिमालीको कथा तथा निर्देशन रहेको ‘कश्मीरे पछ्यौरी’ पनि अटाएको हो ।

गत माघ ४ मा बाबुकृष्ण परियार नामक युट्युब च्यानलबाट अपलोड गरिएको उक्त भिडियोले अहिलेसम्म १ करोड ९३ लाख भ्युज पाइसकेको छ भने १ लाख ६४ हजार लाइक्ससहित ६ हजार ८ सय भन्दा बढी कमेन्ट्स पाएको छ । निश्चल दवाडीको शब्द तथा संगीत रहेको ‘कश्मीरे पछ्यौरी’ लाई बाबुकृष्णले दीपिका बयम्बुले गाएका हुन् । उनीहरूलाई सामूहिक गायनमा प्रमेश घिमिरे, सिद्धार्थ आले मगर, रूपी सिञ्जाली र प्रेमा राना मगरले साथ दिएका छन् ।

‘कश्मीरे पछ्यौरी दार्जिलिङको रेल, लाम साइँली पिरती दुई दिन बाँचुन्जेल’ बोलको गीतको सरल संगीत र मीठो लयका कारण पनि विश्वव्यापी दर्शक, श्रोता पाएको हुन सक्ने देखिन्छ । त्यसैगरी केपिना गोतामे र बाबुकृष्ण नै अभिनीत भिडियो पनि ग्रामीण अवस्थालाई समेट्दै सरल स्वरूपमा तयार पारिएको छ । गीतलाई युट्युबसहित आइट्युन्स, अमेजन, स्पटिफाई, एप्पल म्युजिकलगायत म्युजिक प्लेटफर्ममा पनि राखिएको छ ।

प्रकाशित : भाद्र २८, २०८१ ०६:०१
×