आइफोनमा अब ‘एप्पल इन्टेलिजेन्स’

हाललाई बेटा भर्सनमा मात्रै रहेको एप्पल इन्टेलिजेन्स सुविधा अर्को महिनादेखि मात्रै उपलब्ध हुँदै जाने र यसले आइफोनको डिजिटल भ्वाइस एसिसेन्ट सिरीका लागि नयाँ युगको प्रारम्भ गर्ने एप्पलको दाबी

भाद्र २६, २०८१

सजना बराल

”Apple Intelligence” now on iPhone

काठमाडौँ — हरेक वर्ष यही समय आसपास नवीनतम प्रविधि र सिर्जनात्मक डिभाइसहरू बजारमा ल्याउने गरेको विश्वको सबैभन्दा मूल्यवान कम्पनीमध्येको एक एप्पलले यस वर्ष पनि उक्त परम्परालाई कायम राखेको छ ।

कम्पनीका पूर्वप्रमुख स्टिभ जब्सले सुरु गरेको यो प्रचलनलाई उनको निधनपछि पनि कम्पनीले निरन्तरता दिँदै आएको हो । हरेक वर्ष कम्पनीका प्रमुख टिम कुकले विभिन्न नयाँ ग्याजेटहरू सार्वजनिक गर्ने गरेका छन् ।

एप्पलले यस वर्ष भने आफ्नो उत्पादनमा व्यापक फरकपना देखायो । बजारमा बढ्दै गएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिको उपभोक्ताको उत्सुकता र निर्भरतालाई सम्बोधन गर्ने गरी एप्पलले आफ्ना उत्पादन, विशेष गरी आइफोनमा एआई प्रविधिमा आधारित ‘एप्पल इन्टेलिजेन्स’ का मनग्गे फिचर थप्ने घोषणा गरेको छ । गत जुनमा आयोजित डेभ्लपर्स कन्फेरेन्समा एप्पलका प्रमुख कुकले ‘ओपन एआई’ जस्ता चर्चित कम्पनीसँगको सहकार्यमा एप्पल इन्टेलिजेन्सलाई पछिल्ला आइफोनमा बढीभन्दा बढी प्रयोग गरिँदै लाने उल्लेख गरेका थिए ।

मंगलबार बिहानको कार्यक्रममा एप्पलले ‘आइफोन १६’ का विभिन्न मोडलसँगै एप्पल वाच, एयरपड, आइप्याड, म्याकबुकका आफ्ना नयाँ मोडल सार्वजनिक गर्‍यो । कार्यक्रममा कुकसँगै एप्पलका वरिष्ठ अधिकारीले ‘एप्पल इन्टेलिजेन्स’ ले आफ्ना नयाँ तथा केही पुराना उत्पादनमा कसरी काम गर्छ भन्ने झलक प्रस्तुत गरेका थिए । 

”Apple Intelligence” now on iPhoneक्यालिफोर्नियास्थित एप्पल मुख्यालयमा आयोजित ‘इट्स ग्लोटाइम’ नाम दिइएको उक्त कार्यक्रममा कम्पनीले आफ्ना एप्पल वाच र एयरपडमा गरिएको सुधार र अपडेटबारे जानकारी गराएको थियो । विशेषतः श्रवण शक्ति कमजोर भएकाहरूलाई सहज हुने गरी र पहुँचयोग्य बनाउने दाबीसहित विभिन्न सफ्टवेयर अपडेट पनि सार्वजनिक गरेको छ । झन्डै एक दशकअघि एयरपड र एप्पल वाच ल्याएयता थप नयाँ ग्याजेट खासै ल्याउन नसकेको एप्पलले गत वर्ष ‘भिजन प्रो’ सार्वजनिक गर्नुबाहेक आफ्ना पुरानै ग्याजेटका नयाँ भर्सनमा नै रमाइरहेको आरोप खेप्दै आएको थियो ।

एप्पल इन्टेलिजेन्स प्रविधि समाहित हुने र सेप्टेम्बरको दोस्रो वा तेस्रो साताबाट बजारमा उपलब्ध हुने उत्पादनका रूपमा कम्पनीले आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स रहेको आइफोन १६ सिरिज बजारमा ल्याएको हो । ‘आज हामीले मन पराउने थुप्रै सुविधा र अनुभवहरू उपलब्ध गराउन एआई र मेसिन लर्निङ प्रविधिले उल्लेख्य भूमिका खेलेका छन्,’ कम्पनीका प्रमुख कुकले कार्यक्रममा भनेका थिए, ‘एप्पल इन्टेलिजेन्सका लागि हामीले विशेष रूपमा डिजाइन गरेको आइफोन सिरिजबारे परिचय गराउन पाउँदा उत्साहित छौं ।’ 

आइफोन १६ मोडलमा ए १८ प्रो चिप समावेश गरिएको छ । एप्पल इन्टेलिजेन्सका लागि यसमा दोस्रो पुस्ताको ३–नानोमिटर ट्रान्जिस्टर र नयाँ १६–कोर न्युरल इन्जिन राखिएको छ । यो विशेष गरी जेनेरेटिभ एआईसम्बन्धी प्रयोजनका लागि डिजाइन गरिएको हो । आइफोन १६ मा ४८–मेगापिक्सेलको ‘फ्युजन क्यामेरा’ र टेलिफोटो सुविधा रहनुका साथै १२० फ्रेम पर सेकेन्डमा फोर के भिडियो खिच्न सकिने सुविधा छ ।

त्यस्तै, प्रो मोडलमा रेकर्डिङ स्टुडियोकै गुणस्तरको भ्वाइस रेकर्डिङ सुविधा थपिएको छ । यति मात्र नभएर ‘अडियो मिक्स’ फिचर पनि राखिएको छ भने कम्पनीले यसलाई समग्र स्मार्टफोन उद्योगमै पहिलो पटक यस्तो सुविधा ल्याएको दाबी गरेको छ । मेसिन लर्निङ प्रविधिको सहयोगले भ्वाइस रेकर्डिङ एपमा वक्ता र पृष्ठभूमिको ध्वनि छुट्याउन सकिने कम्पनीले उल्लेख गरेको छ । यही वर्षको अन्त्यसम्ममा सार्वजनिक गरिने भनिएको भ्वाइस मेमो एपमा भने एउटा अडियोमाथि अर्को अडियो राख्न मिल्ने गरी ‘ट्र्याक लेयर’ सुविधाका कारण संगीतकर्मी, पडकास्टरलगायतलाई अडियो मिक्सका लागि सहज हुने गरी उपलब्ध गराउने भनिएको छ । 

आइफोन १६ को मूल्य ७ सय ९९ डलर, आइफोन १६ प्लसको ८ सय ९९, आइफोन १६ प्रोको ९ सय ९९ र प्रो म्याक्सको मूल्य १ हजार १ सय ९९ डलरबाट सुरु हुन्छ । आइफोन १६, आइफोन १५ प्रो र आइफोन प्रो म्याक्समा उपलब्ध हुने भनिएको एप्पल इन्टेलिजेन्स सुविधा अहिलेलाई बेटा भर्सनमा मात्रै रहेको र यो पनि अर्को महिनादेखि मात्रै उपलब्ध हुँदै जाने र यसले आइफोनको डिजिटल भ्वाइस एसिसेन्ट सिरीका लागि नयाँ युगको प्रारम्भ गर्ने दाबी गरिएको छ ।

आइफोनका १३ र १४ सिरिजहरू अत्यन्तै सफल भए पनि १५ सिरिजका फोनहरूले अपेक्षाकृत सफलता पाएका थिएनन् । सन् २०२१ मा सार्वजनिक भएको एप्पलको १३ सिरिजले यसअघि र पछिका सबै सिरिजको आम्दानीको रेकर्ड तोडेको थियो । उक्त वर्ष एप्पलको आम्दानी झन्डै ९ प्रतिशतले बढेर झन्डै ७२ अर्ब अमेरिकी डलर पुगेको थियो । सार्वजनिक भएलगत्तैका केही महिनामा एप्पलले १३ सिरिजका ४ करोड थान सेलफोन बेचेको थियो । एप्पलको १४ सिरिजका सेलफोन पनि सार्वजनिक भएको २ महिनामा झन्डै अढाई करोड थान बिक्री भएका थिए । झन्डै ८ करोड आइफोन १४ सिरिज बिक्री गरेको एप्पलले अहिलेसम्म १५ सिरिजका भने लगभग ७ करोड थान मात्रै बेच्न सकेको छ । 

आफ्ना नयाँ र पुराना मोडलका आइफोन बिक्रीबाट सन् २०२३ मा पहिलो पटक सामसङलाई उछिनेर सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन बन्न सफल एप्पलले विश्व बजारको झन्डै २० प्रतिशतभन्दा बढी हिस्सा ओगट्दै आएको छ । वार्षिक क्रमशः ४४ र २६ अर्ब अमेरिकी डलर आसपास आम्दानी गर्ने सामसङ र हुवावेको तुलनामा एप्पलको आम्दानी अझै पनि उच्च छ । तर, नवीनतम प्रविधिमा ढिलो र सुस्त भएको आरोप एप्पललाई लाग्ने गरेको छ । एप्पलले अहिले थप्दै गएका भिडियो स्टेबलाइजेसन, चार्जिङ पोर्ट, म्यासेज सेड्युलिङ, क्यामेराका विभिन्न प्रविधि, डिस्प्ले तथा डिजाइनका कतिपय फिचरहरू एन्ड्रोइड र विशेष गरी सामसङका फोनमा पहिले नै आइसकेको टिप्पणी प्रयोगकर्ताहरूले गर्ने गरेका छन् । 

पछिल्लो समय व्यापार र द्वन्द्वको चपेटामा पर्दै आएको एप्पललाई चीनमा स्थानीय कम्पनी हुवावेले कडा टक्कर दिएको छ । आफ्नै उन्नत चिप र एआई प्रोसेसरसहितका मोडेल ल्याउन सुरु गरेको हुवावेसँगै भिभो, ओप्पो, अनर, साओमी र दक्षिण कोरियाली ब्रान्ड सामसङले विश्वका ठूला जनसंख्या भएका दुई मुलुक भारत र चीनको बजारमा दबदबा राखेका छन् । एप्पलले निःशुल्क रूपमा ओपनएआईबाट प्राप्त गरेको एआई फिचरलाई भरपूर प्रयोग गर्दै लाने र बिस्तारै अन्य उत्पादनमा पनि त्यसको प्रयोग बढाउने संकेत दिएको छ । 

एप्पलले आफ्नो २०२३ को झन्डै अढाई करोड म्याकबुक, ८ करोड एयरपड र ४ करोड एप्पल वाच बिक्रीलाई पनि थप नयाँ र आकर्षक डिजाइनमार्फत बढाउने प्रयत्न गरेको देखिन्छ । गत वर्ष होहल्लासाथ सार्वजनिक गरिएको झन्डै ४ लाख रुपैयाँ मूल्य पर्ने भिजन प्रोको व्यापार बढाउन पनि एप्पलले नयाँ योजनाहरू तय गरेको छ । आफ्ना उत्पादनमा सुधारिएको ब्याट्री, क्यामरा, सुरक्षा र प्रोसेसरसँगै एआईको प्रयोग बढाउँदा १६ सिरिजका फोनहरूले बिक्रीको रेकर्ड पुनः बनाउने एप्पलले अपेक्षा राखेको छ ।

(एजेन्सीको सहयोगमा)

युवा ग्यालरी

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully