पेड–इन्टर्नसिप अभियानअन्तर्गत कर्णाली प्रदेशको मध्यपश्चिम विश्वविद्यालय र विद्युत् विकास विभागबीच सम्झौता
काठमाडौँ — विद्यार्थी संगठनमाथि गैरशैक्षिक मुद्दामा केन्द्रित रहेको आरोप लागिरहँदा नेपाल विद्यार्थी संघले भने इन्जिनियरिङ, व्यवस्थापन, कृषि, सामाजिक कार्यलगायत उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि पेड–इन्टर्नसिप अभियान सञ्चालन गरेको छ ।
पढ्दै गरेका विद्यार्थीले सीप सिक्दै आम्दानी पनि गर्ने उद्देश्यले देशभर पेड–इन्टर्नसिप अभियान सञ्चालन गरिएको नेविसंघका अध्यक्ष दुर्जाङ शेर्पाले बताए । उनका अनुसार नेविसंघले शिक्षण संस्था, औद्योगिक प्रतिष्ठान र रोजगारदाताबीच समन्वय गर्ने काम सञ्चालन गर्दै आएको छ । पेड–इन्टर्नसिप अभियानअन्तर्गत गत साता कर्णाली प्रदेशको मध्यपश्चिम विश्वविद्यालय र विद्युत् विकास विभागबीच सम्झौता भएको छ ।
विश्वविद्यालयमा सिभिल, कम्प्युटर हाइड्रोपावर इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीलाई विभागले सञ्चालन गरेको विभिन्न परियोजनामा इन्टर्नका रूपमा काम गर्ने अवसर दिनेछ । विद्यार्थीलाई मासिक १५ हजारसहित इन्टर्न गर्ने व्यवस्थाका लागि नेविसंघले समन्वय गरेको शेर्पाले जनाए । ‘विद्यार्थीले इन्टर्न गर्न पनि नपाउने अवस्था छ । पाए पनि निःशुल्क काम गर्नुपर्ने गुनासो धेरै आयो,’ शेर्पाले भने, ‘विद्यार्थीले अवसर पाऊन् भनेर शिक्षण संस्था र कम्पनीहरूसँग समन्वयका काम गरेका हौं ।’
मध्यपश्चिम विश्वविद्यालयका डिन सुदीप ठकुरीले विभागसँग सम्झौता गरेका थिए । विद्यार्थी संगठनले विद्यार्थीहरूकै हितका लागि प्रस्ताव ल्याएपछि सकारात्मक लागेर सम्झौता गरिएको उनले बताए । विश्वविद्यालयको इन्जिनियरिङतर्फ पाठ्यक्रममा नै तीनमहिने इन्टर्नसिप गर्नुपर्ने अनिवार्य व्यवस्था छ । ‘पाठ्यक्रममा उल्लेख भए पनि सबै विद्यार्थीले अवसर नपाउने अवस्था थियो,’ उनले भने, ‘हामीले पनि इन्टर्नका लागि अवसर दिने संस्थाहरू खोजेका थियौं । प्रस्ताव आएपछि सम्झौता गरिएको हो ।’ विश्वविद्यालयले आफैंले पनि विभिन्न कम्पनीहरू खोजेर विद्यार्थीलाई इन्टर्नसिपमा पठाउने गरेको ठकुरीले उल्लेख गरे । भने, ‘पेड–इन्टर्नसिपमा सहभागी हुने विद्यार्थीको सूची विभागमा पठाउँछौं, विभागले नै परिचालन गर्छ,’ उनले भने ।
त्यसअघि कोशी प्रदेशको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस र विभिन्न ७ कम्पनीबीच इन्टर्नसिपसम्बन्धी सम्झौता भएको थियो । नेविसंघ र स्वतन्त्र विद्यार्थी युनियनको समन्वयमा सिभिल, एग्रिकल्चर, इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थीलाई न्यूनतम मासिक १५ हजार तलबसहित इन्टर्नमा परिचालन गर्ने सम्झौता भएको क्याम्पसले जनाएको छ । न्यून रकममा विद्यार्थीलाई इन्टर्नमा खटाउँदै आएका कम्पनीहरूलाई पनि कम्तीमा १५ हजार रकम दिन अनुरोध गरिएको शेर्पाले जनाए । कतिपय कम्पनीहरूले विद्यार्थीसँगै इन्टर्नबापत रकम माग गर्ने गरेको क्याम्पसहरूले जनाएका छन् ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक क्याम्पस, त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका एमएसडब्लूका विद्यार्थीलाई पनि पेड–इन्टर्नमा खटाउनेसम्बन्धी सम्झौता भएको छ । त्रिविको सामाजिक कार्य विभाग र ७ वटा गैरसरकारी संघसंस्थाबीच विद्यार्थीलाई मासिक १५ हजारमा खटाउने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।
पुल्चोक क्याम्पसमा दुई चरणमा गरी ११ कम्पनीले पेड–इन्टर्नसिपको सम्झौता गरेका छन् । क्याम्पस प्रमुख इन्द्रप्रसाद आचार्यले ती कम्पनीसँग सम्झौता गरेका हुन् । विद्यार्थीको समन्वयमा केही कम्पनीसँग सम्झौता भएको उनले बताए । ‘विद्यार्थीले इन्टर्नसिप गर्नुपर्ने पाठ्यक्रम बनाएका छौं । त्यसका लागि पढाइअनुसारको काम दिने कम्पनीहरू चाहिन्छ,’ आचार्यले भने, ‘विद्यार्थीहरूले नै केही कम्पनीहरू खोजेपछि क्याम्पसले सम्झौता गरेको हो ।’ अपुग कम्पनीहरू क्याम्पसले नै खोज्नुपर्ने अवस्था आएको उनले जनाए ।
अभियानका क्रममा १ सय ५० भन्दा बढी विद्यार्थीका लागि इन्टर्न गर्ने व्यवस्था मिलाएको नेविसंघले जनाएको छ । अन्य विश्वविद्यालय र क्याम्पससम्म पनि उक्त अभियान सञ्चालन गर्न शिक्षण संस्था विभिन्न औद्योगिक प्रतिष्ठान र कम्पनीसँग छलफल भइरहेको अध्यक्ष शेर्पाले बताए ।
‘विद्यालयदेखि नै सातामा एक दिन सीप सिक्ने व्यवस्थासहितको नीति बनाउन सरकारलाई पनि दबाब दिन्छौं । इन्टर्नसिपबाट प्राप्त भएको अनुभव र सीपले विद्यार्थीलाई करियर बनाउन सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने । इन्टर्नमा सहभागी गराउन संस्थाहरू खोजिदिने काम मात्रै नेविसंघले गरेको र विद्यार्थी छनोट र अवसर दिने काम सम्बन्धित क्याम्पस र कम्पनीहरूले नै गर्ने उनले जनाए ।
