‘सोसल साइटका कन्टेन्ट क्रिएटर’

विदेश जान ठिक्क परेका दाङका अनुपले आफ्नो व्यवसायको मार्केटिङ गर्न भिडियो बनाउँदा बनाउँदै टिकटक, इन्स्टाग्रामका चल्तीका ‘कन्टेन्ट क्रिएटर’ बने, सामान्य रूपमा बनाएको भिडियो भाइरल भइदिएपछि राजी अहिले विभिन्न ब्रान्डको रकम लिएरै ‘कन्टेन्ट क्रिएट’ गर्ने अवस्थामा पुगेकी छन्

भाद्र २५, २०८१

प्रकृति दाहाल

”Social Site Content Creator”

काठमाडौँ — स्नातकको नतिजा कुरिरहेका दाङका अनुप चौधरी विदेश जाने तयारीमा थिए । काठमाडौंमा गुजाराका लागि जागिरको खोजीमा उनले थुप्रै कम्पनीमा बायोडाटा छोडे, मेल गरे तर कतैबाट पनि सकारात्मक जवाफ आएन ।

मार्केटिङ र ब्रान्डिङमा उनलाई विशेष रुचि थियो । काठमाडौंमा टिक्नका लागि उनले साथीहरूसँग मिलेर क्यूबिक्स कम्पनीमार्फत कपडा उत्पादनमा लागे । त्यहीबाट उनले मार्केटिङ हेर्न थाले, टिकटकबाटै कम्पनीको ब्रान्डिङ गर्न थाले । 

टिकटकबाट उनले सोचेको भन्दा बढी ग्राहक र व्यापार पाउन थाले । ‘त्यसबेला टिकटक मेरा लागि फ्रि मार्केटिङ टुल नै थियो, भिडियोबाट नै राम्रो व्यापार हुन्थ्यो,’ अनुपले भने । कम्पनीका लागि भिडियो बनाउने क्रम तब रोकियो जब टिकटक बन्द भयो । टिकटकबाट राम्रो आम्दानी गरिरहेका उनलाई धक्का लाग्यो ।

त्यसबेला उनले सोचेका थिए अब मार्केटिङ गर्न सहज छैन । टिकटक बन्द भएपश्चात् उनी सामाजिक सञ्जालको अर्को प्लेटफर्म इन्स्टाग्राममा सरे । प्लेटफर्म परिवर्तन गरेसँगै उनको शैली पनि परिवर्तन भयो । आफ्ना लागि उनले भिडियोहरू बनाउन थाले । उनका फ्यान पनि इन्स्टाग्राममा नै सरेका थिए । भने ‘टिकटक बन्द भएपश्चात् अब फ्यानहरू घट्छन् कि भन्ने सोचेको थिएँ तर म सँगसँगै फ्यानहरू पनि इन्स्टाग्राममा सरिरहेका रहेछन् ।’ 

”Social Site Content Creator”इन्स्टाग्रामबाट अनुप ‘कन्टेन क्रिएटर’का रूपमा उदाए, अनुप चाउ नामको आईडीमार्फत । नामबारे बताउँदै उनले भने, ‘म चौधरी भएकाले साथीहरूले चाउचाउ भनेर जिस्काउन थाले, त्यसकारण मैले सर्टकटमा आफ्नो थर नै चाउ राखें ।’ नयाँ किसिमका विषयवस्तु नयाँ शैलीमा प्रस्तुत गर्नु उनको कला हो । विभिन्न विषयवस्तु र हसाउने शैलीमा विभिन्न डाइलगहरू राखेर उनले भिडियो बनाउने गर्दछन् । उनले आफ्नो शैलीलाई नै विभिन्न ब्रान्डहरूसँग पनि काम गर्न थालेका छन् । उनलाई ब्रान्डहरूले मार्केटिङका लागि अफर आउने गर्दछ । यहीबाट नै उनले आम्दानी गरिरहेका छन् । सुरुवाती समयमा कम पैसामा ‘कन्टेन्ट’ बनाउने उनी अहिले एउटा ब्रान्डको कम्तीमा पनि २० हजार लिने गरेको बताए । सोसल मिडियाबाट आम्दानी गर्नका लागि मिहिनेत र आइडिया आवश्यक पर्ने उनले बताए ।

”Social Site Content Creator”

सिर्जना कलेज अफ फाइन आर्ट क्याम्पस पुगेको पहिलो दिनको भिडियो बनाइन् राजी महर्जनले । चिसो मौसम बिहान ५ बजेर उठेर कलेज पुगेको भिडियो थियो, त्यो । सामान्य रूपमा बनाएको उनको भिडियो एकाएक भाइरल भइदियो । उनले सोचेकी पनि थिइनन्, भाइरल होला भनेर । अरू भिडियो ४–५ हजार भ्युज गइरहेको अवस्थामा उक्त भिडियोको भ्युज १ लाख पुग्यो ।

भिडियो भाइरल भएपश्चात् भने आफू आत्तिएको उनले बताइन् । भनिन्, ‘भिडियो भाइरल भएपश्चात् सबै जनाले चिन्छन्, कमेन्ट आउँछन् भनेर आत्तिएको थिएँ ।’ नराम्रो ‘कमेन्ट’ देखेर धेरै पटक रोइन् पनि उनी । उनले आफ्नो गतिविधिहरू नै ‘कन्टेन्ट’का रूपमा प्रयोग गर्छिन् । आफूलाई फन्नी भिडियोहरू मन पर्ने भएकाले त्यही शैलीमा भिडियोहरू बनाउने उनको भनाइ छ । भ्लग जस्तो रमाइलो पारामा उनी भिडियो बनाउँछिन् र लोकप्रिय पनि भइरहेका छन् । 

फ्यानहरूले कस्तो मनपराउँछन् भन्ने प्रश्नमा उनी भन्छिन्, ‘फन्नी टाइपको भिडियोहरू नै धेरैले मन पराउनुहुन्छ, त्यही भएर म त्यस्तै भिडियो बनाउँछु ।’ ‘कन्टेन क्रिएटर’को २ वर्षको अनुभवले पनि कुन भिडियो कतिबेला भाइरल हुन्छ त्यो भन्न नसकिने उनको भनाइ छ । उनका अनुसार मिहिनेत गरेको भिडियोको कहिले भ्युज जाँदैन त कहिले सामान्य रूपको भिडियो पनि भाइरल बनिदिन्छ ।

”Social Site Content Creator”

भिडियो खिच्ने, इडिटिङ गर्नेदेखि भ्वाइस ओभर गर्ने सबै काम उनी एक्लै गर्छिन् । एउटा मोबाइलको सहाराले उनलाई ‘सेलिब्रेटी कन्टेन्ट क्रिएटर’ बनाएको छ । राम्रो आम्दानी पनि गरिरहेकी छन् । कोलगेट, वाईवाई जस्ता थुप्रै ब्रान्डहरूको मार्केटिङ गरेकी छन् । उनले भनिन्, ‘ब्रान्डहरूले कन्टेन्ट बनाउने शैलीलाई पछ्याएको हुन्छ, आफ्नो शैलीमा नै ब्रान्डहरूलाई जोडेर हामीले आम्दानी गर्ने गर्छौं । 

कति रकम लिएर ‘कन्टेन्ट ब्रान्डिङ’ गर्न थाल्नुभयो भन्ने प्रश्नमा राजीले भनिन्, ‘सुरुवातमा ५ हजारबाट सुरु गरेको हो, त्यसबेला धेरै नै लिएँ भन्ने लाग्थ्यो, थुप्रै भिडियो बनाएर दिएँ, अहिले कम्पनी हेरेर हुन्छ । सामान्यतया एउटा ब्रान्डिङको २० हजार लिने गरेको छु ।’

ब्रान्डहरूको ३० देखि ४५ मिनेटसम्मको भिडियोहरू बनाउने गरेको उनले बताइन् । उनले अहिले दैनिक ‘कन्टेन्ट पोस्ट’ गर्छिन् । उनलाई भ्युजले भने तनाव सिर्जना गराइदिन्छ । धेरै भ्युजको अपेक्षा राख्नु आफ्नो कमजोरी लाग्छ, उनलाई । ‘कन्टेन्ट क्रिएटर’का रूपमा करिअर अगाडि बढाइरहेकी उनलाई आफ्नो आइडिया र नयाँ सिर्जनाले अरूभन्दा फरक बनाउन सक्ने उनको भनाइ छ ।

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully