कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पहिलो मिस एआई केन्जा

हिजाब पहिरनमा देखिने केन्जा आफूलाई अभियन्ता र इन्फ्लुएन्सरका रूपमा चिनाउँछिन् । मोरोक्कोको फिनिक्स एआई एजेन्सीकी संस्थापक मेरियम बेस्साले केन्जाको निर्माण गरेकी हुन् ।
सजना बराल

काठमाडौँ — मोरोक्कोकी केन्जा लइलीले विश्वको पहिलो मिस आर्टिफिसियल इन्टेलिजेन्स (मिस एआई) को उपाधि जितेकी छन् । विश्वभरका १५ सय एआई मोडलमध्ये केन्जा सर्वोत्कृष्ट बनेकी हुन् ।आफ्नो देश र मध्यपूर्वका महिलाको सशक्तीकरणका लागि पहल गर्दै आएकी उनी एआई ब्लगर हुन् । उनी इन्स्टाग्राममार्फत जनचेतनामूलक भिडियो सम्प्रेषण गर्छिन् । 

पहिलो मिस एआई केन्जा

‘मानिसहरूले जस्तो अनुभव त म गर्न सक्दिनँ तर पहिलो मिस एआई बनेकामा वास्तवमै उत्साहित छु,’ न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा केन्जाले भनेकी छन्, ‘एआई प्रविधि अझै परिष्कृत गर्ने काममा मलाई यो उपाधिले थप प्रोत्साहन गरेको छ ।’

मिस एआईमा फ्रान्सकी ललिना दोस्रो र पोर्चुगलकी ओलिभिया सी तेस्रो भएकी छन् । केन्जाले १३ हजार डलर, ललिनाले ५ हजार डलर र ओलिभियाले २ हजार डलर र अन्य पुरस्कारसमेत प्राप्त गरेका छन् । मिस एआईको ताज ग्रहण गर्ने बेला केन्जाले एआई सामान्य टुल मात्र नभएर यसले उद्योग क्षेत्रलाई नै रूपान्तरण गर्न सक्ने, विद्यमान मान्यतालाई चुनौती दिन सक्ने र पहिले नभएका अवसरहरू सिर्जना गर्न सक्ने धारणा राखेकी थिइन् । हिजाब पहिरनमा देखिने केन्जा आफूलाई अभियन्ता र इन्फ्लुएन्सरका रूपमा चिनाउँछिन् । मोरोक्कोको फिनिक्स एआई एजेन्सीकी संस्थापक मेरियम बेस्साले केन्जाको निर्माण गरेकी हुन् ।

‘केन्जाको मुहारमा देखिएको एकरूपता उत्कृष्ट थियो, उनका हात, आँखा र पहिरनमा निर्माताले विशेष ध्यान दिएर राम्रो काम गरेका छन्,’ मिस एआईकी निर्णायकमध्ये एक एतियानाले भनेकी छन्, ‘केन्जाको व्यक्तित्व र वास्तविक विश्वको समस्या सम्बोधन गर्ने उनको प्रयत्नले पनि हामीलाई प्रभावित बनायो ।’ केन्जाले आफ्नो ‘प्रभाव’ लाई महिला सशक्तीकरणसँगै वातावरण संरक्षण र रोबोटका सकारात्मक पक्षबारे जनचेतना फैलाउने कार्यमा लगाउने प्रण गरेकी छन् ।

वर्ल्ड एआई क्रिएटर अवार्ड्स (वाइका) र फ्यानभुले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा दोस्रो भएकी ललिना आफ्ना कन्टेन्टमा समावेशिता प्रवर्द्धन गर्न चाहन्छिन् । पोर्चुगलकी एआई मोडल ओलिभिया ट्राभल ब्लगर हुन् । उनका निर्माताले मिडजर्नी प्रयोग गरी ओलिभियाका तस्बिर सिर्जना गर्ने गरेका छन् । तिनलाई अझै सुन्दर बनाउन एडोबी एआई प्रयोग गर्ने गरेको बिजनेस इनसाइडरले उल्लेख गरेको छ ।

‘सौन्दर्य भनेको हेर्ने नजरमा भर पर्ने कुरा हो भनिन्छ तर वाइकाको प्रतियोगिताले यो सत्यको नयाँ आयाम उजागर गरेको छ,’ ओलिभियाको भनाइ छ, ‘यसको हिस्सा बन्न पाउनु मेरा लागि गौरवको कुरा हो ।’ प्रतियोगितामा मिस ग्रेट ब्रिटेनकी निर्णायक स्याली एन फसेट र उद्यमी एवं लर्ड सुगर्सका जनसम्पर्क सल्लाहकार एन्ड्रिउ ब्लोचसँगै एमिली पेल्लेग्रिनी र एतिएना लोपेज निर्णायक थिए । एमिली र एतिएना इन्टरनेसनल एआई इन्फ्लुएन्सर हुन् ।

गत वैशाखमा आवेदन खुला गर्दा विश्वभरका १५ सय एआई मोडलले प्रतियोगिताका लागि अनलाइन फारम भरेका थिए । तीमध्ये उत्कृष्ट १० को सूची गत जेठमा वाइकाले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको थियो । त्यसमा भारत र बंगलादेश गरी दक्षिण एसियाका दुई एआई मोडल पनि छानिएका थिए । उत्कृष्ट १० को सूचीमा मासिक १५ हजार डलर आम्दानी गर्ने मोरोक्कोकी केन्जासँगै महिला स्वास्थ्यको पक्षमा सचेतना फैलाउँदै आएकी भारतकी जारा शताभरी पनि थिइन् ।

रोमानियामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजीबीटीआईक्यु) को अधिकारका पक्षमा वकालत गर्ने अइयना रेनबोसँगै पुरुषप्रधान पेसामा आफूलाई प्रस्तुत गर्ने टर्कीकी सेरेन अइलगायतका एआई युवती प्रतियोगिताको उत्कृष्ट १० मा परेका थिए । फ्रान्सकी एना केर्डी, टर्कीकी असेना इलिक, बंगलादेशकी इलिजा खान र ब्राजिलकी अइल्या लोउ पनि उत्कृष्ट १० मा परेका थिए ।

प्रकाशित : असार २८, २०८१ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×