कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपालमा पहिलो पटक रोबोटिक शल्यक्रिया 

काठमाडौँ — अक्सर अपरेसन थिएटरमा भेटिने डा. नुतन शर्मा यसपटक चाहिँ भित्तामा जडित ठूलो स्क्रिन हेर्दै हातमा ग्याजेटजस्तो केही चलाइरहेकी थिइन् । मानौं उनी भिडियो गेम खेलिरहेकी छन् । 

नेपालमा पहिलो पटक रोबोटिक शल्यक्रिया 

सँधै छुरा र अरु यस्तै धारिलो उपकरणले बिरामीको शल्यक्रिया गर्दा उठेर खट्ने डा. शर्मा खासमा त्यही काम स्क्रिनमा हेरेर गरिरहेकी थिइन् । र, उनको इसाराको चालमा शल्यक्रिया गरिरहेको थियो एक रोबोटले ।

एकपछि अर्को गरी उनले तीन शल्यक्रिया गरिन् र त्यो सबै निरीक्षण गरेर बसिरहेकी भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डा. लीना मेहरोटाले पूर्ण सफलताका शल्यक्रिया सकेको खुसीमा उत्साहका साथ ताली पिटिन् ।

‘यो मेरो जीवनकै सर्वाधिक ठूलो उपलब्धि र गहिरो खुसीको कुरा हो खासमा’ रोबोटिक सर्जरीपछि डा. शर्माले भनिन्, ‘किनभने नेपालको स्वास्थ्य क्षेत्रका लागि एक ठूलो फड्को हो ।’

बीएन्डबी अस्पतालका सहायक निर्देशक निरज वैद्यका अनुसार नेपालमै पहिलो पटक रोबोटमार्फत शल्यक्रिया सम्पन्न भएको हो । ‘धेरै खर्चिलो र तयारीका लागि निकै समय पनि लाग्ने यो रोबोटिक सर्जरी अब स्त्री तथा प्रसूति रोगका बिरामीलाई मात्रै नभएर अन्य रोगको शल्यक्रियामा पनि प्रयोगमा ल्याइँदैछ,’ गत मंगलबार भएको पहिलो सफल प्रयोगबाट उत्साहित उनले भने, ‘यसका लागि हामी रोबोट चलाउने तरिकामा अभ्यस्त हुने क्रममै छौं ।’

डा. वैद्यका अनुसार, यो उपलब्धिले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ युगको सुरुआत गरेको छ । शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदाजनक भएको डा. शर्माले बताइन् । उनका अनुसार रोबोटिक प्रणालीले ठूलो घाउ नपारीकनै बढी चुस्तताका साथ शल्यक्रिया गर्न सक्छ । ‘यसले गर्दा जटिलताको जोखिम घटाउँछ र शल्यक्रिया परिणामहरूमा सुधार ल्याउँछ,’ उनले भनिन्, ‘यसका साथै, रोबोटिक शल्यक्रिया न्यूनतम चिरफारमा सम्पन्न हुने हुँदा बिरामीहरूलाई पीडा खासै हुँदैन र घाउ अनि खत पनि धेरै रहन्न ।’

तीन सय असी डिग्रिमै घुमेर शल्यक्रिया गर्न सक्ने रोबोटको चुस्त काम टाढैबाट गर्न सकिने हुनाले चिकित्सकहरु बिरामीबाट संक्रमित हुने सम्भावनालाई पूरै हटाएकोले यो स्वास्थ्यकर्मीहरुका लागि पनि लाभदायक भएको उनी बताउँछिन् ।

प्रकाशित : असार १३, २०८१ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×