कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

मूल्यवान कम्पनीमा माइक्रोसफ्ट, एप्पललाई पछ्याउँदै एनभिडिया

कम्प्युटर चिप उत्पादन बजारमा विश्वको ८० प्रतिशत हिस्सा ओगट्दै आएको एनभिडियाले पछिल्लो समय शक्तिशाली एआई टुलका लागि चिप विकास र आपूर्ति गर्दै आएको छ

काठमाडौँ — विश्वको सबैभन्दा मूल्यवान कम्पनीहरूको सूचीमा पर्दै आएका कम्पनीहरू हुन्– माइक्रोसफ्ट, एप्पल, अल्फाबेट (गुगल), साउदी आराम्को, अमेजन, मेटा प्लाटफर्म (फेसबुक) जस्ता प्रख्यात ब्रान्ड । यी सबैलाई उछिनेर अब विश्वको मूल्यावान कम्पनी बन्ने सम्भावनाको नजिक पुगेको छ– एनभिडिया ।

मूल्यवान कम्पनीमा माइक्रोसफ्ट, एप्पललाई पछ्याउँदै एनभिडिया

हाल त्यति नसुनिएको र एक/दुई वर्षअघिसम्म व्यावसायिक रूपमा खासै दृश्यमा नदेखिको यो कम्पनी अहिले अधिक चर्चामा छ । कुल बजार आकार (पुँजीकरण) का हिसाबले यो साता विश्वको तेस्रो मूल्यवान कम्पनी बनेसँगै एनभिडिया लगातार चर्चामा छ ।

गत वर्षको तुलनामा हाल एनभिडियाको सेयर ६ गुणाले वृद्धि भई २.८ ट्रिलियन (२८ खर्ब १० अर्ब डलर) पुगेको छ । कम्पनीको प्रगति हेर्दा यसले निकट भविष्यमा नै एप्पल र माइक्रोसफ्टलाई उछिन्ने बजार विज्ञहरूको प्रक्षेपण छ । हाल एप्पलको कुल बजार मूल्य २.९ ट्रिलियन र माइक्रोसफ्टको ३.१ ट्रिलियन डलर छ । केही वर्षयता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित प्रविधि र प्लाटफर्महरूको प्रयोग र निर्माण बढेसँगै एनभिडियाको बजार पनि मौलाएको हो । सेमिकन्डक्टर चिप निर्माताका रूपमा उदाएको एनभिडियाको कुल बजार मूल्य अमेजन, अल्फाबेट, मेटा, टेस्ला, वालमार्टको भन्दा ठूलो छ ।

‘एआईको उछालले धेरैलाई फाइदा पुर्‍याएको छ तर सबैभन्दा ठूलो फाइदा हासिल गर्नेचाहिँ एनभिडिया हो,’ टाइम म्यागाजिनले सन् २०२४ का सर्वाधिक प्रभावशाली कम्पनीमा सूचीकृत गर्दै एनभिडियासम्बन्धी विवरणमा भनेको छ, ‘सन् २०२२ को अन्तिममा सुरु भएको एआई दौडपश्चात् कम्पनीको मूल्यमा ४५० प्रतिशतले वृद्धि भएको छ ।’ कम्प्युटर चिप उत्पादन बजारमा विश्वको ८० प्रतिशत हिस्सा ओगट्दै आएको एनभिडियाले पछिल्लो समय शक्तिशाली एआई टुलहरूका लागि चिप विकास र आपूर्ति गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ एआई क्षेत्रका विशेष हस्ती कहलिन थालेका छन् । नयाँ प्रविधि निर्माण गर्न सरकार र निजी क्षेत्रका कम्पनीहरूले सेमिकन्डक्टर चिपमा मनग्गे लगानी गर्नैपर्ने हुआङको धारणा छ । यसो नगरे प्रविधिमा पछि परिने उनले बताउने गरेका छन् ।

आफ्ना सबै ग्राहकलाई निष्पक्ष ढंगले एनभिडियाका चिप उपलब्ध गराउँदै आएको र कसैले अतिरिक्त चिप खरिद गरेर थुपार्ने काम नगरेको विषयमा पनि आफूले सुनिश्चितता गरेको एनभिडिया प्रमुख हुआङको दाबी छ । प्रतिस्पर्धी बजारका बाबजुद एनभिडियाका उत्पादनहरूको उत्पादन मागभन्दा कम रहेको र माग घट्ने छाँटकाँट नरहेकाले आगामी दिन कम्पनीका लागि थप सुखद हुने टाइम म्यागाजिनको आकलन छ । गुगल पाल्म २, च्याट जीपीटी ४ लगायत लार्ज ल्याङग्वेज मोडलमा आधारित कम्पनीहरूसँगै अनेकौं एआई तस्बिर र भिडियो जेनेरेटिङ प्लाटफर्महरूले ठूलो आकारको डेटाबेस र ग्राफिक्सहरू व्यवस्थापन गर्न एनभिडियाको चिप प्रयोग गर्न थालेपछि एआईसँगै यो कम्पनीको पनि बजार फस्टाएको हो ।

वित्तीय बजार विश्लेषण गर्ने ब्रान्ड फाइनान्सको वार्षिक ‘टप ब्रान्ड्स’ को सूचीमा सन् २०२३ मा एनभिडियाका ११७ औं स्थानमा थियो । यसपालि एकैचोटि ३० औं स्थान माथि उक्लिएको छ । एआई प्रविधिले ल्याउने क्रान्तिसँगै स्मार्ट डिभाइस र डेटा सेन्टरलाई आपसमा जोड्न एनभिडियाका चिप अपरिहार्य बन्दै गएका छन् । मेटाजस्ता ठूला कम्पनीहरूको माग परिपूर्ति गरेसँगै गत वर्ष एनभिडियाको आम्दानी दोब्बर वृद्धि भई ६१ अर्ब डलर पुगेको थियो । कम्पनीले ३० अर्ब डलर खुद मुनाफा आर्जन गरेको बिजनेस इनसाइडरले उल्लेख गरेको छ । ‘सो अवधिमा एप्पलको बजार ३८३ अर्ब डलर थियो भने मुनाफा ९७ अर्ब डलर थियो,’ समाचारमा भनिएको छ, ‘तर एप्पलको वृद्धि असाध्यै सुस्त दरमा भइरहेको छ ।’

एनभिडियाका ग्राफिक कार्ड, ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) जस्ता चिप स्मार्टफोनदेखि गेमिङ कम्प्युटर, थ्रीडी मोडलिङ, आर्टिफिसियल इन्टेलिजेन्स, स्वचालित कार, डेटा सेन्टरलगायतमा प्रयोग हुँदै आएका छन् । यो कम्पनी भिडियो गेमलगायत जटिल डिजिटल ग्राफिक्समा विश्वव्यापी रूपमा प्रयोग हुने जीपीयूको प्रमुख निर्माता हो । लामो समय भिडियो गेमहरू र एनिमेसनलगायतमा आफूलाई केन्द्रित राखेको एनभिडियाको अहिलेको उछाल एआई प्रविधि र प्लाटफर्महरूप्रतिको विश्वव्यापी आकर्षणले ल्याएको हो ।

प्रकाशित : जेष्ठ १९, २०८१ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×