१४ देशका १०० पब्जी खेलाडी नेपालमा

नेपालमा पहिलो पटक आयोजना भएको दुई करोड ६० लाखको प्रतियोगिताका लागि नेपालबाट डीआरएस गेमिङ र होरा स्पोटर्स गरी दुई समूह प्रतिस्पर्धामा छन् । कम्पिटिसनका उत्कृष्ट चार समूहले विश्वकपमा प्रतिस्पर्धा गर्न पाउनेछन् । 

असार १, २०८१

सजना बराल

100 PUBG players from 14 countries in Nepal

काठमाडौँ — पाकिस्तानका २० वर्षीय राजा हसिब पछिल्लो तीन सातादेखि काठमाडौंमा छन् । काठमाडौंका धेरै पक्ष पाकिस्तानका सहरहरूसँग मिल्दोजुल्दो भएको उनको अनुभव छ । आफू पुगेकामध्ये पशुपतिनाथ मन्दिर निकै आकर्षक लागेको उनले बताए । यस्तै, उज्वेकिस्तानका हमिदउल्लाह पनि काठमाडौं आएको करिब एक महिना भयो । यहाँको खाना राम्ररी नरुचेको भए पनि बाँकी सबै गज्जब लागेको उनले बताए ।

ई–स्पोर्ट्स क्षेत्रमा आफूलाई ‘क्रिप्टो’ नामले चिनाउने राजा हसिब र ‘ब्याड ब्वाय’ का रूपमा चिनिएका हमिदउल्लाहसहित रुस, युक्रेन, बंगलादेश, मंगोलिया, किर्गिस्तान, काजकिस्तान, अर्मेनिया, स्पेन, बेलारुस, बहराइन गरी मध्य र दक्षिण एसियाली क्षेत्रका १ सय खेलाडी, कोच, रेफ्री र व्यवस्थापकसहित करिब ३ सय जनाको टोली हाल काठमाडौंमा छन् । ठमेलको फेयरफिल्ड मेरियट होटलमा बसेका उनीहरू दिनभर बूढानीलकण्ठको भंगालस्थित पीएमएसल स्टुडियोमा प्रतियोगिताका लागि भेला हुन्छन् ।

स्टुडियोबाट हरेक दिन युट्युबका विभिन्न च्यानलमा प्रत्यक्ष प्रसारण हुने ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल)– सेन्ट्रल एन्ड साउथ एसिया (सीएसए) स्प्रिङ २०२४’ हेर्नेको संख्या उल्लेखनीय छ । बिहीबार पब्जी मोबाइल ई‍–स्पोर्ट्स साउथ एसिया च्यानलबाट मात्रै फाइनल राउन्डको पहिलो खेलको लाइभ स्ट्रिमिङ हेर्नेको संख्या १७ हजार नाघेको थियो । साँझ सात बजे सोही खेल ‘सीआर सेभेन होर’ च्यानलमा २७ हजारले लाइभ हेरेका थिए । 

100 PUBG players from 14 countries in Nepal

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ 

क्राफ्टन, लेभल इन्फाइनाइट र नडविङ गेमिङको संयुक्त आयोजनामा जारी यो प्रतियोगिता मध्य तथा दक्षिण एसियाकै प्रतिष्ठित ई–स्पोर्ट्स इभेन्ट हो । पब्जीको विश्वकपमा सहभागी हुने छनोट बिन्दुका रूपमा लिइने यो सुपर लिग स्तरको प्रतियोगितामा भाग लिन क्षेत्रीय प्रतियोगिताहरूबाट छनोट भएका सहभागीहरूबीच भिडन्त हुने गर्छ । नेपालबाट डिआरएस गेमिङ र होरा स्पोटर्स गरी दुई समूहले भाग लिइरहेको यो इभेन्ट नेपालमा पहिलो पटक आयोजना भएको हो । 

जेठ ९ बाट सुरु भएको पीएमएसल सीएसए–२०२४ प्रतियोगिताको लिग चरणको खेल जेठ २७ मा समाप्त भई कुल २० खेल समूहमध्ये १६ समूह फाइनलमा पुगेका थिए । बिहीबारबाट सुरु फाइनल खेल शनिबार समाप्त हुँदै छ । यस प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख अमेरिकी डलर (२ करोड ६० लाख रुपैयाँ) छ । ‘नगद पुरस्कारभन्दा पनि यो कम्पिटिसनका उत्कृष्ट चार समूह विश्वकपमा जान पाउने भएकाले सबैको ध्यान त्यतातिर छ,’ नेपाली पब्जी समूह होर ई–स्पोर्ट्सका खेलाडी हिमसन गुरुङले भने, ‘हाम्रो लक्ष्य पनि पब्जी मोबाइल विश्वकप र पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्ने हो ।’ पाँचौ हुने समूहले ‘पब्जी मोबाइल वर्ल्डकप–२०२४’ को सर्भाइभल चरणमा खेल्न पाउनेछ । 

तीन दिनसम्म चल्ने ग्रान्ड फिनालेले नै अर्को महिना साउदी अरबियाको रियादमा हुन लागेको पब्जी मोबाइल वर्ल्डकपमा मध्य र दक्षिण एसियाबाट कुन–कुन समूह पुग्छन् भन्ने तय गर्नेछ । यसकारण टप फाइभमा पर्न खेलाडी प्रयासरत छन् । पब्जी मोबाइल वर्ल्डकपको कुल पुरस्कार राशि ३० लाख अमेरिकी डलर अर्थात् झन्डै ४० करोड रुपैयाँ छ । नेपालमा जारी लिग चरणका खेलमा सबैभन्दा बढी ५७ बोनस अंकसहित मंगोलियाको समूह ‘फोर मेरिकल भाइब्स’ पहिलो भएको थियो । 

100 PUBG players from 14 countries in Nepal

समूहले पुरस्कारमा ७ हजार डलर (करिब साढे ९ लाख रुपैयाँ) प्राप्त गरेको थियो । कुल ५३ बोन अंक पाएर दोस्रो स्थानमा आएको काजकिस्तानको ‘रुख ईस्पोर्ट्स’ ले ५ हजार डलर जित्यो । आकर्षक खेल कौशल प्रस्तुत गरेको कमलवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस) को ‘म्याडबुल्स’ समूह अंक तालिकाको तेस्रो स्थानमा छ । नेपालको डीआरएस गेमिङ चौथो र मंगोलियाको आईएचसी ई–स्पोर्ट्स लिग चरणमा पाँचौ‌ं भएका थिए । 

पाकिस्तानमा वार्षिक आयोजना हुने राष्ट्रिय स्तरको पब्जी मोबाइल प्रो–लिग लगातार तीनपटक जितेको ‘आईएट’ समूहका सदस्य युसेफ ‘गोस्ट’ हाल ‘आरथ्रीजी’ समूहबाट जारी प्रतियोगितामा भिडिरहेका छन् । पब्जी विश्वकपमा तीन पटक पाकिस्तानको प्रतिनिधित्व गरिसकेका गोस्ट नेपालमा ई–स्पोर्ट्सको राम्रो माहोल रहेको बताउँछन् । ‘यहाँका थुप्रै युवाहरू ई–स्पोटर्सका फ्यान रहेछन्,’ उनले कान्तिपुरसँग भने, ‘सडकमा निस्किँदा मान्छेहरूले पब्जी खेलाडीलाई चिनेर कुरा गर्न आउँदा रहेछन् । पाकिस्तानमा पब्जीको यस्तो माहोल छैन, यतिबिघ्न चर्चित पनि छैन ।’

उज्बेकिस्तानमा भने पब्जी खेलाडीलाई सरकारले नै प्रोत्साहन गर्ने भएकाले प्रशस्त खेल समूह बनिरहेको हमिदउल्लाहले जनाए । लिग चरणबाट उत्कृष्ट १६ मा छानिएको ‘एभरेस्ट गेमिङ’ समूहका उनले यस्ता प्रतियोगिताहरूमा भाग लिन विदेश जाँदा वा स्वदेशमै आयोजिता प्रतियोगिताका बेला विद्यालयमा परीक्षा परे सरकारले खेलाडीलाई वैकल्पिक समयमा जाँच दिन मिल्ने व्यवस्था गरिदिएको बताए । ‘प्रतियोगितामा जानलाई कागजपत्र मिलाउनेदेखि सरकारी प्रकियामा सरकारले हामीलाई सहजीकरण गर्दै आएको छ,’ उनले भने, ‘यसले गर्दा स्कुलपिच्छे एकसे एक पब्जी खेलाडी जन्मिरहेका छन् ।’ उज्वेकिस्तानमा एभरेस्ट शब्द नौलो र पृथक् भएकाले समूहको नामक एभरेस्ट गेमिङ राखेको पनि उनको भनाइ छ । 

100 PUBG players from 14 countries in Nepal

सन् २०२२ को पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली डीआरएस गेमिङका ग्यान्टे अर्थात् समीर गुरुङ नेपाल सरकारले पनि ई–स्पोटर्सलाई पहिचान गर्नु खुसीको कुरा भएको बताए । आगामी आर्थिक वर्षको बजेट भाषणमा ई–स्पोर्ट्सको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने उल्लेख भएको स्मरण गराउँदै उनले यसलाई कार्यान्वयनमा ल्याए स्थानीय खेलाडी थप प्रोत्साहित हुने र अन्तर्राष्ट्रिय खेलाडी निम्त्याउँदा यहाँको पर्यटन प्रवर्द्धनमा पनि सहयोग मिल्ने धारणा राखे । ‘हाम्रो सरकारले ई–स्पोटर्सलाई राम्रो गरिरहेको छ भन्ने सुनेको छु,’ उनले भने, ‘दर्ता गर्न मिल्नेदेखि यो क्षेत्रमा बजेट पनि छुट्याइएको छ । कार्यान्वयन कस्तो हुन्छ, त्योचाहिँ हेरौं अब ।’

युवा ग्यालरी

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully