कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चन्द्रमाबाट नमुना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान

चन्द्रमामा पानीलगायत महत्त्वपूर्ण खोज गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी

काठमाडौँ — चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । सिन्ह्वा न्युज एजेन्सीका अनुसार मानवरहित चिनियाँ चन्द्रयान चांग'ई-६ ले चन्द्रमाको सुदूर हिस्साको नमुना लिएर पृथ्वीमा फर्किएको हो । उक्त यान मंगलबार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको हो ।

चन्द्रमाबाट नमुना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान

चन्द्रमाबाट ल्याइएको नमुना ग्रह निर्माणका बारेमा महत्त्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी सावित हुन सक्ने वैज्ञानिकहरूले जनाएका छन् । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन(सीएनएसए) ले 'मिसन पूर्ण रूपमा सफल' भएको बताएको छ । चांग'ई-६ मिसन सफलतापूर्वक पूरा भएकोमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बधाइ दिएका छन् । साथै उनले ब्रम्हाण्डका बारेमा नयाँ-नयाँ खोज गर्न पनि वैज्ञानिकहरूलाई आग्रह गरेका छन् ।

मानव-जगत्‌को भलाइका लागि अनुसन्धान र खोज प्रक्रियालाई निरन्तरता दिँदै मुलुकलाई अगाडि बढाउनसमेत उनको अनुरोध छ । विभिन्न देशहरूले चन्द्रमामा मानिस बस्न सक्ने/नसक्नेबारे अनुसन्धान गर्नका लागि पनि विभिन्न समयमा यानहरू पठाइरहेका छन् । चन्द्रमामाको सुदूर हिस्सामा यान पठाउने भने चीन एक्लो मुलुक हो । चन्द्रमामा हिउँको अंश भएको वैज्ञानिकहरूले आशंका व्यक्त गर्दै आएका छन् । जसबाट अक्सिजन, पानी र हाइड्रोजन बनाउन मद्दत पुग्न सक्छ ।

सिन्ह्वाका अनुसार दक्षिणी एटलान्टिक महासागरको करिब ६ हजार किलोमिटर माथिको दूरीमा 'रिटर्नर' 'अर्बिटर' बाट छुट्टिएको थियो । पृथ्वीको वायुमण्डलमा 'क्याप्सुल' मंगलबार दिउँसो १:४१ बजे प्रवेश गरेको पनि सिन्ह्वाले जनाएको छ । जमिनी सतहको करिब १० किलोमिटरमाथि प्यारासुट खुलेको र पूर्वनिर्धारित स्थानमा 'रिटर्नर' अवतरित भएको थियो ।

बेइजिङ एरोस्पेस कन्ट्रोल सेन्टरका इन्जिनियर पेङ देयुनले चाङ'ई-६ मिसन निकै नै कठिन रहेको पनि बताएका छन् । इनर मंगोलियाबाट उक्त 'रिटर्नर' लाई एयरलिफ्ट गरी बेइजिङ लगिने भएको छ । उक्त रिटर्नरले ल्याएको नमुना बेइजिङमै वैज्ञानिकहरूले अनुसन्धान गर्नेछन् । 'प्रयोगशालालाई हस्तान्तरण भएपछि सबैभन्दा पहिले हामीले नमुना रहेको कन्टेनर खोल्नेछौँ । नमुना निकाल्नेछौँ । चन्द्रमाको सतहबाट जम्मा पारिएको नमुना र सतहमुनिबाट लिइएको नमुना अलग गर्नेछौँ,' चाङ'ई-६ मिसनका डेपुटी चिफ डिजाइनर वाङ किओङ भन्छन् ।

चिनियाँ यानले ल्याएको नमुनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ । उक्त यान चीनले मे महिनाको पहिलो साता चीनको हैनान प्रान्तमा रहेको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चन्द्रमामा पठाएको थियो ।

प्रकाशित : असार ११, २०८१ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×