कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने

दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका २०७८ मा छ, ७ वटै विषयमा ननग्रेडिङ ल्याएका विद्यार्थीसमेत ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने शिक्षा मन्त्रालयको निर्णय
बोर्डले साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने समयतालिका प्रकाशित गरेको थियो, पछिल्लो निर्णयले परीक्षाको समयतालिकामा समेत संशोधन हुने
सुदीप कैनी

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईको नतिजामा अस्वीकृत (ननग्रेडिङ/एनजी) ल्याएका सबै २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि (मौका) परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार यस्तो निर्णय गराएकी हुन् ।

एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने

बिहीबार सार्वजनिक नतिजामा ४ लाख ६४ हजार ७ सय ८५ मध्ये ५२ प्रतिशत विद्यार्थी एनजीमा परेका थिए । तीमध्ये दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका २०७८ मा उल्लेख छ ।

यो व्यवस्थाअनुसार १ लाख १५ हजार ८ सय ३४ जना मात्रै ग्रेडवृद्धि परीक्षाका लागि योग्य थिए । शिक्षामन्त्री श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सबै ननग्रेडिङ विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले बताए । ‘सबै एनजी ल्याउने छात्रछात्रालाई ग्रेडवृद्धि परीक्षाको मौका दिने मन्त्रीस्तरीय निर्णय भएको हो । राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रलाई पनि उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ,’ उनले भने । केन्द्रले लागू गरेको निर्देशिकामा दुई विषयसम्म ननग्रेडिङ ल्याएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने उल्लेख छ । दुई विषयभन्दा बढीमा ननग्रेडिङमा परे चैतमा सञ्चालन हुने वार्षिक परीक्षामा मात्र सहभागी हुन पाउने व्यवस्था छ ।

निर्देशिकाको उक्त व्यवस्थासमेत संशोधन हुने मन्त्रालयले जनाएको छ । उक्त व्यवस्था संशोधन भए कक्षा १२ को नतिजामा त्यही पद्धति कार्यान्वयन हुनेछ । गत वैशाखमा सञ्चालित कक्षा १२ को नतिजा पनि प्रकाशित हुने तयारीमा छ । पाठ्यक्रम विकास केन्द्रमा शिक्षामन्त्री अध्यक्ष हुने व्यवस्था छ । परीक्षा बोर्ड र केन्द्रले थप निर्णय गरेपछि मन्त्रीस्तरीय निर्णय कार्यान्वयनमा जानेछ । बोर्डले साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा तालिका प्रकाशित गरेको थियो । उक्त निर्णयपछि परीक्षाको तालिकामा समेत संशोधन हुने बोर्डले जनाएको छ ।

परीक्षा तयारीका लागि कक्षा सञ्चालनमा विश्वविद्यालयलाई समेत आग्रह गर्ने निर्णय भएको हो । नतिजामा २ लाख २२ हजार ४ सय ७२ (४७.८७ प्रतिशत) विद्यार्थी मात्रै ग्रेड प्राप्त गर्न कक्षा ११ मा भर्ना हुन योग्य भएका थिए । सबैभन्दा बढी विद्यार्थी गणित, विज्ञान र अंग्रेजी विषयमा अस्वीकृत भएका छन् ।

गणितमा १ लाख ७७ हजार, विज्ञानमा १ लाख २६ हजार, अंग्रेजीमा १ लाख विद्यार्थी ननग्रेडिङ भएका छन् । त्यस्तै सामाजिकमा ७३ हजार, नेपाली र अर्थशास्त्रमा ६९/६९ हजार विद्यार्थी ननग्रेडिङमा परेका छन् । शिक्षा मन्त्रालयको निर्णयअनुसार ७ वटै विषयमा ननग्रेडिङ हुने विद्यार्थीले पनि साउनमा सञ्चालन हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । नतिजामा कतिपय विद्यालयका शतप्रतिशत विद्यार्थीसमेत असफल भएको पाइएको छ । २०७२ देखि लागू लेटर ग्रेडिङ पद्धतिमा सबै विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था थियो ।

तर यसले गर्दा विद्यार्थीमा पठन संस्कृति हराउँदै गएको भन्दै २०७८ मा निर्देशिका संशोधन गरेर सैद्धान्तिक (लिखित) तर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडेड हुने व्यवस्था गरिएको थियो । जसका कारण कक्षा ११ मा भर्ना हुन पाउनेभन्दा नपाउने विद्यार्थीको संख्या बढी छ । कक्षा १० मा उक्त व्यवस्था यसपालिदेखि मात्रै लागू भएको हो ।

प्रकाशित : असार १४, २०८१ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×