सन् १८३८ मा आजकै दिन : भिक्टोरियाको राज्याभिषेक 

असार १४, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १८३८ मा आजकै दिन (जुन २८) मा बेलायती महारानी एलेक्जेन्ड्रिया भिक्टोरियाको राज्याभिषेक भएको थियो । उनी १८३७ जुन २० मा बेलायतको महारानी भएकी थिइन् । भिक्टोरियाले बेलायतमा ६३ वर्ष २ सय १६ दिन शासन गरेकी थिइन् । 

संवैधानिक राजसंस्था प्रमुख भए पनि भिक्टोरियाले सरकारी नीतिलाई प्रभावित पार्ने सामर्थ्य राख्थिन् । ‘भिक्टोरिया युग’ ले परिचित उनको शासनकालमा बेलायतमा औद्योगिक, राजनीतिक, वैज्ञानिक तथा सैन्य क्षेत्रमा व्यापक परिवर्तनहरू भएका थिए ।

त्यसका साथै, बेलायती साम्राज्य सबैभन्दा बढी विस्तार भएको थियो । भिक्टोरिया युगमा भारत, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका गरी विश्वको करिब २० प्रतिशत भूभाग बेलायतअन्तर्गत थियो । 

१८१९ मे २४ मा जन्मिएकी भिक्टोरियाको १९४० मा राजकुमार अल्बर्टसँग विवाह भएको थियो । १९६१ मा अल्बर्टको मृत्युपछि केही समय सार्वजनिक कार्यक्रममा देखिन छाडेकी उनी पुनः राजकाजमा सक्रिय भएकी थिइन् । भिक्टोरियाको १९०१ जनवरी २२ मा ८१ वर्षको उमेरमा निधन भएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully