देउडाका शब्द बुन्ने राजेन्द्र

अढाई दशकदेखि निरन्तर देउडा गीत सिर्जनामा जुटिरहेका राजेन्द्र शाहका सिर्जनामा सुदूरपश्चिमको मौलिकता र संस्कृति झल्किएका साथै जीवन र जगत्का अनेक आयामहरू अटाएका हुन्छन् 

असार ११, २०८१

अर्जुन शाह

Rajendra weaves the words of Deuda

धनगढी — साठीको दशकमा मुर्झाएको देउडा संगीत ७० को दशकदेखि पुनर्जीवित भयो । त्यसयता विस्तारै चर्चामा आएको देउडा पछिल्ला वर्षहरूमा त सुदूरपश्चिम र कर्णालीको साहित्यिक तथा सांगीतिक धमनी नै भएको छ । यस क्षेत्रका हरेक जनजनको हृदयमा घन्किरहेका देउडाले माया, प्रेम, सद्भाव र भाइचारासँगै लोभलाग्दो संस्कृति नै जगेर्ना गरिरहेको छ । यिनै देउडाको साधनामा समर्पित सर्जकको नाम हो राजेन्द्र शाह (बीपी) । 

अढाई दशकदेखि अविराम देउडा गीत सिर्जना गरिरहेका राजेन्द्रले हालसम्म हजारभन्दा बढी चलनचल्तीमा रहेका देउडा गीतका शब्द कोरिसकेका छन् । स्वरका धनी गायकका लागि ठाडीभाका र लोकदोहोरी गीतको सिर्जनामा पनि राजेन्द्रका शब्द रचनाहरू उत्तिकै निख्खर लाग्छन् । बाजुराको बुढीगंगास्थित ओलीसैनमा जन्मिएका ४३ वर्षीय राजेन्द्रले कञ्चनपुरको महेन्द्रनगरलाई आफ्नो सिर्जनाको कर्मथलो बनाएका छन् । सुखदुःख, माया–पिरती, दर्द र पीडा मिसिएका शब्द सिर्जना गर्नमा माहिर राजेन्द्रका सिर्जनाले जिन्दगीका गोरेटोहरू पहेल्दै प्रफुल्लित हुने अवसर दिन्छ । उनका सिर्जनामा सुदूरपश्चिमको मौलिकता र संस्कृति झल्किएको मात्र हुन्न, जीवन र जगत्का अनेक आयामहरू भेटिन्छन् ।

राजेन्द्रले गीत लेख्न सुरु गरेयताको यात्रामा देउडा संगीतले पनि अनेक आरोह/अवरोह पार गरेको छ । मेलापात र चाडपर्वमा पस्किने चलन त पहिलेदेखि चलिआएकै हो । प्रविधिको विकासक्रमसँगै क्यासेट र टेपरेकर्डरको जमानादेखि भीसीडी हुँदै अहिले चलनचल्तीमा रहेको म्युजिक भिडियोका देउडा गीतका सर्जकको पहिलो पंक्तिमा पर्छन् उनी । बाल्यावस्थादेखि नै लेखन र साहित्यमा अभिरुचि राख्ने राजेन्द्रले ०५५ मा ऐठित व्यथा नामक कवितासंग्रह प्रकाशन गरे । त्यतिले धीत नमरेपछि उनी ०५६ मा काठमाडौं पुगेर लोकगीतको पहिलो क्यासेट निकाले । हर्क खडायत, रमानन्द जोशी, लक्ष्मी न्यौपाने र दुर्गा गुरुङको स्वर रहेको ‘आँसु’ एल्बमका गीतहरू उनै राजेन्द्रले सिर्जना गरेका थिए । 

०५७ सालमा अत्तरियाको रिमा रेकर्डिङबाट सार्वजनिक भएको देउडा गीतको क्यासेट एल्बम ‘सिरु’मा रहेका गीतहरूको रचनाकार पनि उनै राजेन्द्र थिए । त्यसपछि ०५८ मा तत्कालीन अवस्थाको संकटकाल, माओवादीले गरिरहेको हिंसात्मक द्वन्द्व र साँफे–मंगलसेन लगायत देशभर भइरहेका विनाशकारी घटनाक्रमलाई समेटेर उनले देउडा गीतको क्यासेट एल्बम ‘कालीरात’ रचे । गायकहरू राजाराम भाट, हरिश्चन्द्र कडायत, हरिना साउद, बसन्ती भट्टराई र हर्क खडायतको स्वर रहेको कालीरातले श्रोताहरूको मन जितेर निकै लोकप्रिय बन्यो । 

‘कालीरात’ एल्बमले राजेन्द्रलाई देउडा गीतको सिर्जनामा आम श्रोतामाझ स्थापित गरायो । ‘त्यस रचनाले नाम मात्र होइन, दाम पनि दियो,’ राजेन्द्रले भने, ‘मलाई त्यसबाट बिछट्टै हैसला प्राप्त भयो । त्यसपछि त मैले आफ्नो सम्पूर्ण जीवन देउडा गीतसंगीतकै सिर्जनामा समर्पित गरें ।’ ०६३ सालदेखि सुदूरपश्चिमका देउडा गायकहरू संगीता शाही, प्रकाश थापा, विनोद बाजुराली, लालबहादुर धामी, भीम थापालगायतसँग उनको सहकार्य हुन थाल्यो । ‘त्यसपछि त मेरो सिर्जनाको यात्राले नयाँ मोड लियो,’ उनले भने । त्यसपछि बाणुल्या खुट्को, जञ्जाल्या पिरती, हिउँचुलिका डाँफ्या, जुग जान्याँ पिरती, हेपिएका चेली, दुई स्वास्नीको घर, रैबार छेक्न्याँ डाँडो, हिमाल राम्रो हिउँले, चिठी पत्र लेखी, दिपाइलको गढी, पातल पलाया रैनाँ, धान काटी कुनियाँ, टाढाको बस्यारो, लोकतन्त्र र शान्ति, सुमधुर सम्झना लगायतका दर्जनौं चर्चित देउडा गीतमा उनले शब्द भरे । 

०६५–०६६ पछि गीतका म्युजिक भिडियो बनाएर सीडीमा बिक्री गर्ने चलन सुरु भयो । देउडा गीतका भीसीडीले व्यावसायिक स्वरूप नलिएको त्यो समयमा उनले देउडा संस्कृति नामक देउडा गीतको म्युजिक भिडियो बजारमा ल्याए । ‘त्यतिबेला लाखौं खर्चेर काठमाडौंबाट क्यामरालगायत प्रविधि र जनशक्ति बाजुरा लगेर देउडा गीतहरू सुटिङ गरेका झल्झल्ती सम्झन्छु,’ राजेन्द्रले भने, ‘पछि क्रमशः देउडा संस्कृति भाग २, ३ लगायत दर्जनौं गीतमा मैले नै शब्द सिर्जना गरेको थिएँ ।’ 

Rajendra weaves the words of Deuda

क्यासेटको बजार सकिएको र भर्चुअल बजार नचलिसकेको समयमा उनले बासनपुरी धान, डाँफ्या हिमालैमा, बास बसन्ती न्याउला, सेती महाकाली, ढल्क्यो जोवन, हिरालाल जोखौंकी, मेरी न्युँती ढुंगी, परेलीमै आँसु सुक्न देऊ, मान्छेको परानी, अनन्तेका मेला, चर्न बखरी गै, देशको दशा जस्ता दर्जनौं चर्चित गीतहरू सिर्जना गरे । ०७० तिरबाट भीसीडी युग अन्त्य भएसँगै कतिपय अग्रजदेखि नयाँ कलाकार यस क्षेत्रबाट पलायन भए । 

यही रिक्ततामा देउडा गीतको बजारलाई फेरि पुनर्जीवित गर्ने र पुरानो माहोल फर्काउन तल्लीन राजेन्द्रले ०७३ मा ‘यो अछामी बड्डो’ बोलका गीतक रचना गरे । पछिल्लो समय चल्तीका देउडा गायक लालबहादुर धामी र टीका पुनको स्वरको रचनाले देउडा गीतको बजारलाई ह्वात्तै माथि उठायो । ‘देउडा परिवर्तनशील संगीत हो । आयामहरू परिवर्तन भए । तर राजेन्द्र शाह बीपीले देउडा गीत सिर्जनाको धरातल छाडेनन् र आफूलाई रूपान्तरित गर्दै लिए,’ देउडा गायक लालबहादुर धामी (अछामी बड्डो) भन्छन्, ‘अहिले त जुनसुकै उमेर समूहका दर्शक श्रोताहरूको पनि रुचिको क्षेत्र हो देउडा हो । देउडाको यो स्थान बनाउनमा उनको महत्त्वपूर्ण योगदान छ ।’ 

यसै अवधिमा उनको रचनामा ध्वज महराले ‘गैजा डोटी गैजा’ र ‘डोटी गौंडा’, टेक बोगटीले ‘रानीले नुवाइँगै’ र ‘ता छुटेर रानी’, प्रकाश थापाले ‘रेलगाडी लेट भयो’ गाए । त्यस्तै विनोद बाजुरालीको स्वरको ‘बाटो लामु रारा’ र ‘बास बसन्ती न्याउला’ श्रोतामाझ लोकप्रिय रहे । ती देउडा गीतहरू सुदूरपश्चिम र कर्णाली क्षेत्रमा सदाबहादर गुन्जिरहेका छन् । राजेन्द्रले तमाम ठाडी भाका पनि सिर्जना गरेका छन् । देउडा र ठाडी भाकामा फरक छ । देउडा रिदमसहित एकल, युगल वा सामूहिक गाउने विधा हो । ठाडी विशिष्ट खालको मौलिक गीति विधा हो । ठाडी भाकामा वनजंगल वा निर्जन ठाउँमा दुःख वेदनाका गीतहरू लामो भाका हालेर एक्लै गाउने गरिन्छ ।

एक सयभन्दा बढी चर्चित ठाडी भाकाहरूमा शब्द सिर्जना गरेका राजेन्द्रले ‘बाजुरा वैकुण्ठ रैछ’, ‘सेती महाकाली’, ‘समृद्ध संस्कृति’ लगायतका संस्कृति, इतिहास र पर्यटन प्रवर्द्धन गर्ने गीत रचेका छन् । यस्तै ‘मान्छेको परानी’, ‘खाउँ भन्या मोइ छैन’, ‘दिपाइलको गडी’, ‘क्वै नेता चीन लाग्या’, ‘कै पुल्ती मार्‍र्या हौँ’, ‘कन लायो आग’ लगायत सिर्जना सुदूरपश्चिमका वनपाखा र मेलापातमा सदाबहार गुन्जिरहने ठाडी भाका हुन् । 

लोकदोहोरी लेखनमा पनि उनले आफूलाई छुटाएका छैनन् । पुरुषोत्तम न्यौपाने र विष्णु माझीको स्वरमा रहेको ‘सुमधुर सम्झना’, खुमन अधिकारी र विष्णु माझीको स्वरमा ‘परेलीमै आँसु सुक्न देऊ’, प्रकाश थापा र संगीता शाहको स्वरको ‘सुनमा सुगन्ध’ लगायतका लोकदोहोरी उनले लेखेका हुन् । देउडा गायक प्रकाश थापा भन्छन्, ‘राजेन्द्र शाह बिपी देउडा सर्जक समयसापेक्ष कलम चलाउन सक्छन् । गाउँघरका कला संस्कृति टपक्क टिप्न सक्छन् । अनेक कोणबाट दूरदृष्टि राखेर सिर्जना गर्न सक्ने खुबी भएका लेखक हुन् राजेन्द्र ।’

युवा ग्यालरी

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully