नामजस्तै युनिक झोला र ब्याग

कोभिड–१९ पछि मात्रै युनिक लेदर्स ह्यान्डिक्र्याफ्टले सयभन्दा बढी डिजाइनका झोला र ब्याग बजारमा ल्याएको छ । ‘कतिपयले मैले बनाएका झोला र ब्याग हुबहु बनाएर हेम्पको लोगो राखेर बेच्छन्,’ उद्योग सञ्चालक नवराज अधिकारीले भने, ‘कति व्यापारीले ग्राहकलाई आफैंले बनाएको भनेर प्रमाण देखाउन मेरो कारखानामा समेत ल्याउने गरेका छन् ।’

असार ९, २०८१

सीमा तामाङ

Unique bags and bags as the name suggests

काठमाडौँ — अघिल्ला वर्षका बजेट भाषणहरूको तुलनामा यस वर्ष एउटा फरक दृश्य देखियो । र, धेरैको दृष्टि त्यसमा पर्‍यो । त्यो थियो, अर्थमन्त्री वर्षमान पुनले बोकेको झोला । यसअघि ब्रिफकेसमा बजेट भाषण बोकेर जाने अर्थमन्त्रीहरूले भन्दा पुनले यस पटक फरक झोला बोकेका थिए ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न भन्दै अर्थमन्त्री पुनले सांकेतिक रूपमा परिवर्तनको झल्को दिन बजेट–भाषणको ब्रिफकेस नै फरक प्रयोग गरेको बजेट भाषणकै क्रममा उल्लेख गरेका थिए । अर्थमन्त्रीले स्वदेशी उत्पादन र फरक झोला बोकेपछि धेरैको चासो यसमा पर्‍यो । त्यो झोला ‘युनिक लेदर्स ह्यान्डिक्राफ्ट’ उद्योगमा निर्माण भएको थियो । र, त्यस उद्योगका सञ्चालक थिए– नवराज–संगीता दम्पती ।

धादिङका नवराज अधिकारीले झन्डै डेढ दशकदेखि कश्मीरी अर्थात् हातले बुट्टा भरेका वा इम्ब्रोडयरीका सामान बनाउँदै आएका थिए । तर, कोभिड–१९ को प्रभाव सकिएपछि कश्मीरी सामान बनाउन छोडेर नेपाली कटन कपडाका विभिन्न झोला बनाउन थालेका हुन् । नेपालमै बुनेको कटन कपडा प्रयोग गरी उनले विभिन्न झोला तथा पर्स उत्पादनलाई विविधता दिन थाले । पछिल्लो समय ग्राहकको रोजाइमा समेत पर्न थालेको छ ।

Unique bags and bags as the name suggestsगुणस्तरीय र नेपाली उत्पादन भएकाले नै सरकारको रोजाइमा पनि पर्न सफल भएको अधिकारीले बताए । ‘त्यसबेला अर्थ मन्त्रालयका कर्मचारीको टोली १०/११ वटा पसल घुमेर हाम्रो पसलमा आइपुगेको रहेछ,’ उनले भने, ‘हामीले उत्पादन गरेको ल्यापटप ब्याग मन परेपछि रङ सोधेर २५ सय रुपैयाँमा किनिएको हो । गुणस्तरीय र टिकाउ नहुने भएको भए सायद रोजाइमै पर्दैन थियो कि !’

धादिङका नवराज अधिकारी २०४८/४९ तिर काठमाडौं आएदेखि ठमेलस्थित कश्मीरी लेदर फ्याक्ट्रीमा काम गर्थे । कारखानामा हेल्परको काम सुरु गरेका उनले मेसिन चलाउनेदेखि डिजाइन र प्याटर्नसम्म काट्न थाले । तर मासिक १३ हजार रुपैयाँले घर खर्च मात्रै धान्ने भएपछि उनी मलेसिया जाने निधो गरे । घरको ९० हजार जति ऋण थियो । त्यसमा ७० हजार ऋण थपेर मलेसिया लागे । तीन वर्ष लगाएर ऋण तिरिसक्नेबित्तिकै उनी नेपाल फर्के । विदेशमा रहँदा पनि आफ्नै कारखाना खोल्ने सपना देखेको उनी सम्झन्छन् ।

२०६३ जेठमा २ लाख ऋण लिएर आफ्नै कारखाना खोले । ‘कश्मीरी सामान बनाउने सीप थियो, त्यसैलाई प्रयोगमा ल्याएको हुँ,’ अधिकारीले भने, ‘कश्मीरी अर्थात् हातले बुट्टा भरेका वा इम्ब्रोडयरीका सामान बनाएर कारखानाबाटै होलसेलमा बेच्थें ।’ कारखाना खोलेको झन्डै ८ वर्षपछि चिनजानकै मान्छेको इको रिसोर्टमा पसल राखेको उनी बताउँछन् । ‘ठमेलमा आफ्नै पसल राख्ने इच्छा भए पनि ‘सलामी’ तिर्नुपर्ने हुँदा सकेका थिएनौं,’ उनले भने, ‘चिनेको मान्छेले सलामी तिर्नु नपर्ने भनेपछि राख्यौं । तर रिसोर्टभित्र रहेकाले खुद्राभन्दा होलसेलकै कारोबार बढी हुन्थ्यो ।’

Unique bags and bags as the name suggestsकश्मीरी सामान उत्पादन गर्दा एक लाख रुपैयाँको सामान दियो भने त्यो पैसा उठाउन वर्ष दिन नै लाग्ने उनको भनाइ छ । ‘यसरी नै चलिरहेको थियो, तर कोभिड–१९ सुरु भएपछि झन्डै ३ वर्ष घरमै बित्यो,’ उनले भने, ‘घरमै रहिरहेका बेला यही क्षेत्रमा नयाँ केही खोज्नुपर्छ, गर्नुपर्छ भन्ने भयो ।’

कोभिडका कारण स्टक सामान बिग्रेर धेरै फाल्नुपरेको समेत उनी सम्झन्छन् । कोभिडका कारण व्यवसायीहरू विस्थापित भइरहेका बेला चुनौती लिएर नै कश्मीरी सामान हटाएर नेपाली कटनका सामान बनाउन थालेको उनले सुनाए । कोभिडको प्रभावपछि अधिकारीले आफ्नै डिजाइनमा ‘नेपाली कटन’ प्रयोग गरी ब्यागहरू बनाउन थालेका हुन् । ‘अहिले आफैं डिजाइन गर्छु, प्याटर्न काट्नेदेखि सिलाउनेसम्म गर्छु, चुनौतीका साथ काम सुरु गरेको थिएँ,’ उनले भने, ‘ग्राहकले हाम्रै उत्पादन खोज्दा सफल भएजस्तो पनि लाग्छ ।’

कारखानामा प्रत्यक्ष काम गर्ने १५ जनालाई रोजगारी दिएका छन् । पहिला भाडाको घरमा कारखाना रहे पनि अहिले नेपालटारस्थित आफ्नै घरमा कारखाना सारेको उनले बताए । कोरोनापछि ठमेलमा सटरहरू खाली र सलामी तिर्नु नपर्ने भएपछि खुद्रा व्यापारलाई लक्षित गरी छुट्टै सटर लिएको उनले बताए । कारखाना र पसल गरी करिब १ करोड रुपैयाँ लगानी भइसकेको अधिकारीले बताए ।

‘ठमेलको पसल श्रीमती संगीताले चलाउँछिन्, उनकै नाममा दर्ता छ,’ उनले भने, ‘म पहिलेदेखि कारखानामा थिएँ, अहिले पनि त्यही हेर्छु ।’ पसलमा ७० रुपैयाँदेखि ५ हजारसम्म पर्ने विभिन्न प्रकारका ब्याग, पर्सहरू पाइने संगीताले सुनाइन् ।

Unique bags and bags as the name suggestsयुनिक लेदरद्वारा उत्पादित झोलाहरूमा ‘नेपाली कपडा कटन’ को धेरै प्रयोग हुने गरेको छ । नेपालमै बनेको कटनको कपडा र लेदरलाई झोलामा उनले आकर्षक तरिकारले प्रयोग गरेका छन् । ‘हामीलाई आवश्यक पर्ने कच्चा पदार्थ स्थानीय बजारबाटै लिन्छौं,’ अधिकारीले भने, ‘कटनको कपडा मात्र नभई अर्डर आएको खण्डमा ‘हेम्प’ का झोलाहरू पनि बनाउँछौं ।’ तर केही व्यवसायीले कटनका झोलालाई समेत हेम्प भनेर बेच्ने गरेको उनको बुझाइ छ ।

युनिक लेदर्स ह्यान्डिक्र्याफ्टले आफ्ना लागि ‘युनिक लेदर मेड इन नेपाल’ लोगो राखेर, भाटभटेनीका लागि ‘प्रकृति लोगो’, कुपन्डोलस्थित साना हस्तकलाका लागि ‘साना’ लोगो राखेर सामान बनाएर दिने गरेको समेत उनले बताए । अनलाइनमार्फत सामान बेच्ने ‘रोलो’ का लागि ‘रोलो’ लोगो राखेर पनि ब्यागहरू बेच्ने गरेका छन् । यद्यपि कतिपय व्यापारीले युनिक लेदर्सका सामान किनेर आफ्नै भनेर बेच्ने गरेको समेत अधिकारीले बताए । ‘कतिपयले मैले बनाएका ब्याग र झोला हुबहु बनाएर हेम्पको लोगो राखेर बेच्छन्,’ उनले भने, ‘कति व्यापारीले ग्राहकलाई आफैंले बनाएको भनेर प्रमाण देखाउन मेरो कारखानामा समेत ल्याउने गरेका छन् ।’

Unique bags and bags as the name suggestsजहाँ हेर्‍यो उस्तै र आफैंले बनाएको दाबी गर्ने पसलदेखि वाक्क भएर आएका विदेशी पनि भेटिने गरेको उनले सुनाए । ‘कोरोनापछि मात्रै सय वटाभन्दा बढी डिजाइनका झोला र ब्याग ल्याइसक्यौं । चलेका डिजाइनमा थप काम गर्छौं, बजारमा ल्याउँछौं,’ उनले भने, ‘नचलेको डिजाइन छोड्दै नयाँतर्फ लाग्छौं ।’ 

नेपालमै बन्ने ब्यागको फित्ता चुँडिने वा अनेक समस्या हुन्छन् । ‘जहाँ छिट्टै बिग्रन्छ त्यो भागमा धेरै काम गरेर बलियो बनाएका छौं । बलियो, आकर्षक र ग्राहकले मन पराउने सामान बनाउन हामी केन्द्रित छौं,’ अधिकारीले भने, ‘कतिपयले नेपालमै बनेको, आफैंले बनाएको भन्दा पनि पत्याउँदैनन् ।’

Unique bags and bags as the name suggestsआफूले डिजाइन गरेका ब्याग आफ्नो भनेर दाबी गरेको देख्दा नरमाइलो लाग्ने उनले बताए । ‘आफू मिहिनेत नगर्ने तर अरूको चोर्न खोज्छन्, कहिलेसम्म सक्छ चोरुन्,’ उनले भने, ‘म नयाँनयाँ डिजाइनमा काम गर्छु, बजारमा ल्याउँछु ।’ आफैंले नपुर्‍याए पनि विदेशमा व्यापार गरिरहेका साथीहरूमार्फत अमेरिका, जापान, टर्कीलगायत मुलुकमा आफ्ना ब्याग पुगिरहेको उनले सुनाए ।

युवा ग्यालरी

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully