इको क्लबदेखि चराविज्ञसम्म

गुलेली संकलन अभियानबाट संरक्षणमा लागेका भजनी–६ कैलालीका हिरूलाल डगौरा अहिले चरा संरक्षण र अध्ययनका पर्यायजस्तै बनेका छन् 

असार ८, २०८१

भवानी भट्ट

From eco clubs to vets

कञ्चनपुर — भोजराज श्रेष्ठ कक्षा चारमा अध्ययनरत थिए । ठीक त्यही बेला विद्यालयमा इको क्लब गठन भयो । त्यतिबेलासम्म उनलाई प्रकृति, वन्यजन्तु र चराबारे केही जानकारी थिएन । पछि भोजराजले चरा संरक्षणका लागि गुलेली नियन्त्रणमा लिने अभियान नै चलाए । जसका कारण उनी गाउँमा ‘गुलेली बाजे’ को नामले चर्चित छन् ।

कैलालीको भजनी नगरपालिका–६ महादेउलीका हिरुलाल डगौरा पनि त्यही अभियानमा जोडिए । गुलेली संकलन अभियानबाट संरक्षणमा लागेका डगौरा अहिले चरा संरक्षण र अध्ययनका पर्यायजस्तै बनेका छन् । 

३८ वर्षीय डगौरा व्यवस्थापनका विद्यार्थी हुन् । उनले व्यवस्थापनमै स्नातक गरेका छन् । ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनको रुचि भने नयाँ–नयाँ चराको खोजी तथा गणना गर्ने र वैज्ञानिक नामदेखि स्थानीय नामसम्म पत्ता लगाउनु हो । अहिले उनी चरा गणना र पहिचानकै लागि देशैभर पुग्ने गरेका छन् । पश्चिम नेपालमा हुने चरा गणनाका हरेक गतिविधिमा उनी विज्ञकै रूपमा सहभागी हुन्छन् । उनकै नेतृत्वमा अन्य प्राविधिकहरू खटिन्छन् । पन्छी संरक्षण संघमा फिल्ड अधिकृतका रूपमा कार्यरत उनी चरा गणनाकै लागि विभिन्न जिल्लामा पुगिसकेका छन् । 

१२ वर्षकै उमेरमा ४ कक्षामा पढ्दा इको क्लबमा आबद्ध भएका डगौराले चरा संरक्षणका लागि गरेको पहिलो काम गुलेली संकलन अभियान नै हो । गुलेली संकलन मात्रै होइन, साइकलमा टिफिन बोकेर स्कुल–स्कुलमा पुगेर चरा संरक्षणबारे सचेतना फैलाएको पनि उनको सम्झनामा ताजै छ । कैलालीको पूर्वी क्षेत्र भजनी, थापापुर, खैलाड, लालबोझी, सुख्खड र टीकापुर क्षेत्र हरेक विद्यालयमा पुगेको उनी बताउँछन् । ‘त्यतिबेला १० हजार बढी गुलेली संकलन भएको थियो,’ डगौरा भन्छन्, ‘तीन हजार त मेरै रेकर्डमा छ, अन्य साथीले पनि थुप्रै संकलन गरेका थिए ।’ गुलेली संकलन अभियानसँगै गाउँमा संरक्षणसम्बन्धी क्लब गठन भयो । त्यसपछि सरसफाइदेखि वृक्षरोपणलगायत गतिविधि हुन थाले । हरेक शुक्रबार सरासफाइ र वृक्षरोपण गरिन्थ्यो । यही बेला संरक्षणमा काम गरिरहेका विभिन्न संघसंस्थासँग जोडिएपछि उनी चराबारे जान्न थाले र उत्सुकता पनि बढ्दै गयो । 

From eco clubs to vets

उनले चराबारे राम्ररी थाहा पाएको भने २००४ मा हो, चराविद् हेमसागर बरालसँग भेट भएपछि । त्यतिबेला बरालले डगौरालाई (बर्ड्स अफ नेपाल) नामक किताब दिए । त्यो किताब हेरेपछि उनको मनमा क्लिक भयो । संरक्षणमा मात्रै लागेका उनलाई त्यसपछि चरा चिन्ने सौख पनि जाग्यो । ‘बर्ड्स अफ नेपाल हेरेर मैले पनि चरा चिन्ने र स्थानीय नाम लेख्न थालें,’ डगौराले भने, ‘घरनजिकै पुरैना तालमा गएर चरा हेर्ने र स्थानीय नाम लेख्न थाले ।’ चरा उड्यो वा बस्यो भने उनी नाम टिपिहाल्थे । त्यसपछि बिस्तारै चरा गणनामा पनि जोडिए । चरा गणना गर्दा पनि सुरुमा उनी वैज्ञानिक नाम थाहा नभएकाको स्थानीय नाम नै लेख्थे । 

भजनी आसपास र घोडाघोडी क्षेत्रमा २२ ताल छन् । उनी ती सबै तालमा पुगेका छन् । तर कतिपय पुरिइसकेका छन् । चराको प्रमुख बासस्थान मानिने पुरैना तालसमेत लोप भइसकेको डगौरा बताउँछन् । उनका अनुसार पुरैनामा १० हजारको संख्यामा चरा भेटिन्थे । घोडाघोडीमा पनि २०१३ देखि नियमित रूपमा चरा गणना गरिन लागेको हो । यहाँ पनि २ हजार हाराहारी चरा छन् । चरा गणनाका लागि सुदूरपश्चिमका तराई मात्रै होइन, पहाडी जिल्लामा पनि पुग्छन् । 

यति मात्रै होइन, मंगोलियाबाट चीन तिब्बत हुँदै नेपाल भएर भारतको राजस्थान पुग्ने कर्‍याङकुरुङ सारसको गणना र फोटो खिच्न उनी हरेक वर्ष मुस्ताङ पुग्छन् । सेप्टेम्बर–अक्टोबरमा आउने र मार्च–अप्रिलमा फर्किने भएकाले त्यतिबेला राम्रो तस्बिर लिन सकिन्छ । यही मौका छोप्न उनी एक महिनाजति मुस्ताङमा बिताउँछन् । चरा गणना तथा अध्ययनका लागि उनी रारा, सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा सुनसरी, झापा र मोरङसम्म पुगेका छन् । उनले साढे ६ सय बढी प्रजातिका चरा प्रत्यक्ष रूपमा देखेको बताउँछन् ।

From eco clubs to vets

युवा ग्यालरी

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully