कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

अस्ट्रेलियालाई हराउने अफगान नायक

ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेल अफगानिस्तानका लागि ऐतिहासिक बन्यो । अस्ट्रेलियालाई २१ रनले हराएको खेलको चर्चा धेरै पछाडिसम्म पनि भइरहनेछ । र, यो जितका नायक रहे बलर गुलबदिन नइब ।
हिमेश

काठमाडौँ — अफगानिस्तानका लागि क्रिकेट खेल मात्रै होइन । उसले अस्ट्रेलियासँग जोरी खोज्न सक्ने अरू केमा नै छ र ? क्रिकेटमा हुँदो रहेछ । ट्वान्टी–२० विश्वकप २०२४ को आइतबार भएको सुपर–एट खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई हरायो नै । क्रिकेटको कुनै पनि ढाँचामा अफगानिस्तानले अस्ट्रेलियालाई हराउको यो नै पहिलो पटक हो ।

अस्ट्रेलियालाई हराउने अफगान नायक

त्यसैले अफगानिस्तानका लागि क्रिकेट खेलभन्दा धेरै हो । सेन्ट लुइसमा भएको खेलमा प्राप्त २१ रनको जितले पूरा प्रतियोगितालाई नै जीवन्त पनि बनाइदिएको छ । त्यस खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै छ विकेटमा १ सय ४८ रन बनाए । त्यसपछि अस्ट्रेलियालाई २७ रनमै समेट्यो । खेल आफैंमा रोमाञ्चक रह्यो, किनभने जित अन्तिम ओभरमै मात्र निस्केको थियो ।

अस्ट्रेलियाले यो खेल जितेको भए, सेमिफाइनल समीकरण पूरा भइसक्थ्यो । अस्ट्रेलिया र भारत अन्तिम चार पुगिसक्थे, सबै टिमको अन्तिम खेलको नतिजा पनि कुर्नुपर्ने थिएन । त्यो स्थितिमा अफगानिस्तानसामु चाँडै घर फर्किनेबाहेक अर्को विकल्प थिएन । तर स्थितिले नाटकीय मोड लिएको छ । अब अस्ट्रेलियालाई सेमिफाइनल पुग्ने हो भने भारतलाई हराउनुपर्नेछ । ग्रुप–वानमा भारतको चार अंक छ भने अस्ट्रेलिया र अफगानिस्तान दुई/दुई अंकमा छन् । बंगलादेशले अंकको खाता खोल्न सकेको छैन । अफगानिस्तानको अन्तिम खेल बंगलादेशविरुद्ध छ, त्यसैले सबै सम्भावना पनि कायम छ । अफगानिस्तानको यस यस ऐतिहासिक जितका नायक रहे, गुलबदीन नइब ।

उनले चार ओभरमा २० रन खर्चेर चार विकेट लिए । विश्वास गर्नै गाह्रो छ, अफगानिस्तानले प्रयोग गरेका हुन्, आठौं बलर थिए । कमजोर सुरुआत लिएको अस्ट्रेलिया एक समय तीन विकेटमा ३२ रनको खराब स्थितिमा थियो । त्यो अवस्थाबाट अस्ट्रेलियाले बलियो प्रदर्शन गर्‍यो । तर जति बेला अस्ट्रेलियाले अब चाहिँ केही गर्ला जस्तो देखिएको थियो, नइबले मार्कस स्टोइनिस र टिम डेविडको विकेट लिए । पछि ग्लेन म्याक्सवेलको पनि विकेट लिए र यो भने साँच्चै बहुमूल्य रह्यो । यी अस्ट्रेलियाली ब्याटरले ३५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनी ५९ रन बनाएपछि नायबको सिकार बने । पछि उनले एस्टन अगरको पनि विकेट लिए । उनको यही प्रदर्शन अगाडि अफगान इनिङ्समा प्याट कसिन्सको ह्याट्रिक उपलब्धि हराएरै गयो ।

यो यस्तो खेल रह्यो, जसको चर्चा धेरै पछाडिसम्म भइरहनेछ । अनि यो यस्तो जित हो, जसले फेरि एकपल्ट अफगानिस्तान अब पहिलेको जस्तो टिम रहेन भने र प्रमाणित गरेको छ । कम्तीमा टी–ट्वान्टीमा त अफगानिस्तान कोहीभन्दा कम रहेन । कुनै खास दिन अफगानिस्तानले

ट्वान्टी–२० क्रिकेटमा जसलाई पनि हराउन सक्छ, अब विशेष दिन कुर्नु पर्दैन । यस्ता जित किन पनि सम्भव हुन थालेको छ भने अफगानिस्तानसँग नइब जस्ता खेलाडी छन् । अनि उनको कथा पनि आफैंमा अद्वितीय छ र यसले पनि अफगान क्रिकेटबारे धेरै भन्छ । अस्ट्रेलियाविरुद्धको जितमा उनी नै ‘प्लेयर अफ द म्याच’ रहे । उनी भन्छन्, ‘यो जितको अफगानिस्तान, त्यहाँका जनता सबैका लागि विशेष अर्थ छ । हामीले यस्तै एक ऐतिहासिक मोडका लागि पर्खिरहेको पनि धेरै भयो । अफगानिस्तान क्रिकेटकै लागि यो ठूलै उपलब्धि हो ।’

अन्तर्राष्ट्रिय क्रिकेटमा नइबको यहाँसम्मको यात्रा पनि आफैंमा अद्वितीय छ । त्योभन्दा बढी अविश्वसनीय छ । नइबलाई धेरै होइन, ११ वर्षसम्म पनि अफगानिस्तान भन्ने देश पनि थियो भन्ने थाहा थिएन । उनी आफू को हो र कहाँबाट आएको, त्यो पनि थाहा थिएन । अरू धेरै अफगान जस्तै उनी पनि पाकिस्तानमा हुर्के बढेका हुन्, शरणार्थी भएर पेशावर सहरमा । अलिकति ठूलो भएपछि मात्रै उनले आफ्नो देशबारे बुझ्न थाले र त्यसबारे चासो लिन थाले । पेशावरमा रहँदाको एउटा फाइदा के रह्यो भने नइबले त्यहीं मज्जाले क्रिकेट खेल्न पाए । शरणार्थी शिविरभित्र उनी जस्ता किशोरहरूका लागि क्रिकेट दिनदिनैको समस्याबाट टाढा रहने एक मात्र उपाय थियो । एक दशकभन्दा अगाडि अफगान क्रिकेटबारे एउटा वृत्तचित्र बनेको थियो र त्यसको नाम थियो, ‘आउट अफ द एसेज’ । त्यसमा १७ वर्षका नइब पनि देखा पर्छन् । उनी त्यति बेला गैरव्यावसायिक बडी–बिल्डरका खेलाडी थिए । त्यस वृत्तचित्रमा लगातारको युद्धबाट गुज्रिरहेको अफगानिस्तानमा क्रिकेट कसरी अगाडि बढ्यो भनेर देखाइएको छ । त्यति बेला अफगानिस्तानले आईसीसीको वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभ खेलिरहेको थियो । जर्सीमा भएको त्यो प्रतियोगिताको विजेता पनि अफगानिस्तान नै रह्यो र कप्तान थिए, तिनै नइब । पछि उनी सन् २०१९ को वान डे विश्वकप खेलेको टिमका कप्तान पनि भए । त्यही प्रतियोगिताका बेला पनि उनले भनेका थिए, ‘क्रिकेट हाम्रो लागि खेल मात्र होइन । क्रिकेटले आम अफगानलाई एकै स्थानमा ल्याउने गरेको छ । विश्वास गरौं, अफगानिस्तानमा सधैंका लागि शान्ति छाउने छ र क्रिकेटले अझ धेरै विकास गर्नेछ ।’

सन् १९९५ मै मात्र हो, अफगान क्रिकेट बोर्डको स्थापना भएको । अनि सन् २००० मै मात्र हो, तालिबानले क्रिकेटमाथिको प्रतिबन्ध हटाएको पनि । त्यसको पनि एक वर्षपछि अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को पनि सदस्यता पायो । सन् २०१८ आइपुग्दा नपुग्दा अफगानिस्तानले टेस्ट खेलिसकेको थियो । अहिले आइपुग्दा अफगानिस्तानले यसपल्टको विश्वकपमा अस्ट्रेलियालाई नै पराजित गरेको छ । भनिन्छ, अचेल पनि आम अफगानीलाई खुसी हुनका लागि एउटा राम्रो बहाना हुने गर्छ, क्रिकेट । नइब जस्ता खेलाडी अफगानिस्तानसँग हुने हो भने यस्ता खुसी दोहोरिएर आइरहने निश्चित छ ।

प्रकाशित : असार १०, २०८१ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×