नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ

असार १४, २०८१

कान्तिपुर संवाददाता

Prateek Thapa, the accused in the fake Bhutanese refugee case, was arrested

काठमाडौँ — नक्कली भुटानी  शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् ।

निमित्त प्रहरी महानिरीक्षक (एआईजी) दीपक थापाका अनुसार प्रतीक शुक्रबार बौद्धबाट पक्राउ परेका हुन् । प्रतीक पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन् । 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले थापालाई फरार सूचीमै राखेर यो अपराधमा संलग्नहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । बाबु रामबहादुर थापा गृहमन्त्री भएका बखत विचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरुसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो । 

२०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार थिए । २०८० वैशाख २१ मा प्रेस विज्ञप्ति जारी गरी प्रतीकले आफू यसमा संलग्न नरहेको भन्दै अनुसन्धानलाई सघाउने बताएका थिए । तर प्रहरी अनुसन्धानकै क्रममा उनी फरार थिए । त्यसपछि प्रहरीले ०८० वैशाख ३१ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई यही प्रकरणमा पक्राउ परेपछि अनुसन्धानको सुई प्रतीकतिर पनि सोझिएको थियो । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, प्रतीक थापा, विचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित ३० जनाविरुद्ध राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र कीर्ते गरी ४ वटा कसुरमा ०८० जेठ १० मा मुद्दा दायर भएको थियो । त्यसमध्ये १८ जनामात्रै पक्राउ परेकामा बाँकी फरार थिए । फरार रहेका प्रतीक त्यतिबेलै विदेश भागेको बताइएको थियो । 

प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै विचौलियाबाट १ करोड रुपैयाँ लिएको तथ्य अनुसन्धानका क्रममा खुलेको थियो । 

यो प्रकरणमा जिल्ला अदालत काठमाडौंले दुई जनालाई धरौटीमा रिहा गरी बाँकी १६ जनालाई पुर्पक्षका लागि कारागार पठाएकोमा  उच्च अदालत पाटनले पूर्वगृहमन्त्री खाणसहित ९ जनालाई धरौटीमा रिहा गरी बाँकी जिल्लाकै आदेश सदर गरेको थियो । ७ जनाले समेत उच्चको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएकामा सर्वोच्चले उच्चकै आदेश सदर गरेपछि पूर्वउपप्रधानमन्त्री रायमाझी, सचिव पाण्डे (हाल निलम्बित), विचौलिया दुलाल, भण्डारीसहितलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षमै पठाउन आदेश दिएकोमा उनीहरु हाल केन्द्रीय कारागारमा छन् ।    

कान्तिपुर

Link copied successfully