कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

काभ्रेमा ३४.३ प्रतिशत रोपाइँ 

काभ्रे — काभ्रेमा ३ हजार ४ सय ७६ क्षेत्रफल अर्थात् ३४.३ प्रतिशत भागमा रोपाइँ गरिसकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयको विवरण अनुसार, शुक्रबारसम्ममा काभ्रेमा वर्षे धान रोपाइँ हुने खेतीयोग्य कुल क्षेत्रफल १० हजार १ सय ८ हेक्टर क्षेत्रफलमध्ये ३ हजार ४ सय ७६ क्षेत्रफल अर्थात् ३४.३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

काभ्रेमा ३४.३ प्रतिशत रोपाइँ 

बनेपा नगरपालिकामा ९० प्रतिशत, पनौती नगरपालिकामा ७० प्रतिशत, बेथानचोक गाउँपालिकामा ६० प्रतिशत, धुलिखेल नगरपालिकामा ५० प्रतिशत, मण्डनदेउपुर नगरपालिकामा ३५ प्रतिशत, नमोबुद्ध नगरपालिकामा ३० प्रतिशत, रोशी गाउँपालिका र चौंरीदेउराली गाउँपालिकामा २५ प्रतिशत, तेमाल गाउँपालिकामा १५ प्रतिशत, भुम्लु गाउँपालिकामा ८ प्रतिशत, महाभारत गाउँपालिकामा ५ प्रतिशत, पाँचखाल नगरपालिकामा २ प्रतिशत र खानीखोला गाउँपालिकामा शून्य प्रतिशत वर्षे धान रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार, सिँचाईको सुविधा भएको क्षेत्रमा धेरै र असुविधा भएको क्षेत्रमा रोपाइँ कम भएको छ । शनिबारदेखि पानी पर्न सुरु भएकाले रोपाइँको प्रतिशत बढ्ने अनुमान गरिएको छ ।

जिल्लाको हावापानीलाई सुहाउने खालको विशेष गरेर खुमल र मकवानपुर जातको उन्नत धानको बीउ सिफारिस गरिएको कृषि विकास कार्यालय काभ्रेका प्रमुख दवाडीले बताए । उनका अनुसार, भूगोल उपयुक्त उन्नत जातको धान सिफारिस भए पनि किसानहरुले एसजे-जी१०, चाइना सुपर जातका हाइब्रिड धान पनि रोप्ने गरेको पाइएको छ ।

सेमिअटोमेटिक मेसिन प्रयोगबाट रोपाइँ

काभ्रेको मण्डनदेउपुर-९ धाइटारमा नयाँ प्रविधिबाट रोपाइँ सुरु गरिएको छ । भियतनाममा विकास भएको सेमिअटोमेटिक धान रोप्ने मेसिनको प्रयोगबाट धाइटारमा शनिबार रोपाइँ गरिएको हो । उक्त मेसिन प्रयोगबाट काभ्रेमा पहिलो पटक रोपाइँ गरिएको जिल्ला कृषि विकास कार्यालय काभ्रेले जनाएको छ ।

पहाडी भेगमा पनि मेसिन प्रयोगबाट रोपाइँ गर्न सकिन्छ भन्ने उदाहरण देखाउन २१ औं राष्ट्रिय धान दिवसको अवसरमा धाइटारमा ४ रोपनी क्षेत्रफलमा अभ्यास गरिएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख दवाडीले बताए । ‘यो मेसिनले एक पटकमा ६ लाइनसम्म रोप्छ,’ उनले भने, ‘मेसिनको प्रयोग गर्दा दूरी मिलाएर राखिने भएकाले धानको बीउ कम लाग्ने, एकैनासको बिरुवाहरु हुने, यसले एकतिर लागत घटाउने, अर्कोतिर उत्पादन बढाउँछ ।’ समग्र यो मेसिन प्रयोग किसानहरुको लागि निकै प्रभावकारी हुने देखिएको उनले बताए ।

उनका अनुसार, धानको बिउ राख्न पहिले आकार अनुसारको फ्रेम/ट्रे बनाइन्छ । फ्रेमको तलपट्टि म्याट/प्लास्टिक राखिन्छ, त्यसमाथि धुलो माटो, धानको बिउ राखिन्छ । यसले धानको बिरुवा उम्रन सहज बनाउँछ । १५/२२ दिनभित्रमा धानको बिरुवा उम्रने र यसरी म्याटमा उम्रिएको बिरुवा मेसिनमा राखेर रोपाइँ गरिन्छ । धाइटारको परिणाम हेरेर यसको प्रयोगलाई विस्तार गर्दै लाने योजना कार्यालयको छ ।

नगरपालिकामा नयाँ प्रविधिबाट धान रोप्ने काम नयाँ भएको मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले बताए । मेसिनको प्रयोगबाट किसानलाई उत्पादन लागत घटाउन मद्दत गर्नुको साथै यान्त्रिकरणतर्फ आकर्षित गरेर उत्पादकत्व बढाउन र श्रम लागत घटाउन सहयोग गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ थियो ।

प्रकाशित : असार १६, २०८१ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×