कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

प्रादेशिक संरचनालाई राष्ट्रिय गौरवको आयोजनामा राख्न सिफारिस

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकार स्थापना भएको करिब ७ वर्षको अवधिसम्म पनि प्रादेशिक संरचना निर्माण कार्य अलमलमै रहेको छ ।प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न केन्द्रीय सरकार समक्ष सिफारिस गरेको छ ।

प्रादेशिक संरचनालाई राष्ट्रिय गौरवको आयोजनामा राख्न सिफारिस

सोमबार हेटौंडा–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रादेशिक संरचना तथा प्रशासनिक केन्द्र निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो । प्रादेशिक संरचना निर्माण गर्न प्रदेशले वर्षेनी बजेट विनियोजन गर्दै आएपनि विभिन्न कारणले फ्रिज हुने गरेको थियो ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालका अनुसार हेटौंडा–१७, हटियामा प्रदेशको प्रशासनिक निकायका भवन तथा संरचना निर्माण गर्ने तयारी भइरहेको छ । आयोजना स्थलमा वन क्षेत्रको केही जग्गा प्रयोग हुने भएकाले जग्गा प्राप्तिमा सहजीकरण गर्न गौरवको आयोजनाको रूपमा समेट्न सिफारिस गरिएको हो ।

‘वन क्षेत्रको जग्गाको भोगाधिकार प्राप्त गर्न सरकारको प्राथमिकता प्राप्त आयोजना हुनुपर्ने प्रावधानका अनुसार संघीय सरकार समक्ष सिफारिस गरेका हौं’, उनले भने ।

मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा नियमावलीका केही दफाहरू संशोधन गर्ने निर्णय गरेको छ । प्रदेश विश्वविद्यालय स्थापना, सञ्चालन र शैक्षिक कार्यक्रम निर्धारणका लागि अनुकूल नदेखिएका दफाहरू संशोधन गर्ने निर्णय गरेको हो ।

प्रदेश विश्वविद्यालयको विधान परिवर्तन गरी स्वीकृत गर्ने निर्णय समेत वैठकले गरेको छ । यसअघि निर्माण गरिएको विधानमा धेरै विषयहरू परिवर्तन गर्नुपर्ने देखिएकाले विधानलाई परिमार्जनसहित परिवर्तन गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले सिन्धुपाल्चोकको चौतारामा निर्माण भइरहेको प्राविधिक शिक्षालयमा पर्ने वन क्षेत्रको जग्गा भोगाधिकार प्राप्तिको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रकाशित : असार १७, २०८१ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×