कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई ११ लाख राहत

गुल्मी — शुक्रबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको परिवारलाई सरकारले ११ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । संघीय र प्रदेश सरकारको तर्फबाट प्राप्त ११ लाख रुपैयाँ राहत रकम परिवारलाई उपलब्ध गराइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई ११ लाख राहत

शुक्रबार मालिका गाउँपालिका–६ अर्जेमा पहिरो घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको थियो । संघीय सरकारको तर्फबाट प्रतिव्यक्ति १/१ लाख र एकै परिवारका ५ सदस्यको मृत्यु भएकोले थप १ लाख तथा प्रदेश सरकारका तर्फबाट प्रतिव्यक्ति १/१ लाख राहत हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली, जेठी बुहारी २६ वर्षीया सिता, नातिनी ८ वर्षकी सपना र ८ महिनाकी अर्की नातिनी विपनाको मृत्यु भएको थियो । घरमा बसेका सबै सदस्यको मृत्यु भएपछि उनका तीनभाई छोराहरु अहिले जेठो बुवाको घरमा बसेर किरिया बसेका छन् ।

पहिरोको डरले बसाइँ सरेका थिए, पहिरोले नै लियो ज्यान

करिब २० वर्षअघि घरमाथिबाट पहिरो खसेर जोखिम भएपछि साबिक अर्जे–४ का भेषबहादुरलाई गाउँलेले नजिकै घर बनाउने जग्गा मिलाइदिए । त्यही जग्गामा उनले २०६०/०६१ सालतिर घर बनाएर बसे । तीनभाई छोरा र दुईबहिनी छोरी हुर्काए ।

छोरीहरु बिहे गरेर गए । छोराहरु कमाउन परदेश पसे । जेठी बुहारी २ साना छोरीहरुसहित सासुससुराको हेरचाह गरेर घरमै बसिन् । पहिला जोखिमपूर्ण घर छाडेर नयाँ ठाउँमा बसेका भेषबहादुरलाई पहिरोको जोखिम लाग्दैनथ्यो । लाग्थ्यो होला त उनी पानी पर्दा छिमेकीको घरमा जान्थे होला ।

तर नसोँचेकै भयो । दुई दिन लगातार परेको पानीपछि शुक्रबार राति गएको पहिरोले उनको घरमात्र पुरेन, भेषबहादुरको परिवारका ५ जनाको जीन्दगी नै पुर्‍यो । ‘आखिर पहिरोमै परेर ज्यान जान लेखेको रहेछ,’ स्थानीय शिक्षक बुद्धि भण्डारी भन्छन्, ‘पुरानो घरमा पहिरोको डरले नयाँ ठाउँमा घर बनाए पनि पहिरोले छोडेन ।’

भारतमा रोजगारीमा रहेका मृतक भेषबहादुरका ३ भाई छोराहरु आइतबार गाउँ आएर किरिया बसेका छन् । जेठा छोरा विमलले दिल्लीमा एक वर्षसम्म आमाको उपचार गरी ५ महिना अघिमात्र घर पठाएका थिए । पहिरोमा ज्यान गुमाएकी सीता पनि श्रीमान्सँग भारतमै थिइन् । सासुससुराको हेरचाहको लागि उनी घर आएकी थिइन् ।

माइलो छोराले श्रीमती पनि भारतमै लगेका छन् भने कान्छो अबिबाहित छन् । बिहीबार माइतीघर आएकी उनकी छोरी ज्वाइँ शुक्रबारमात्र फर्केका थिए । बाबुआमाले बस्न भनेर आग्रह गर्दा पनि घर फर्केका छोरीज्वाइँको घरफर्केका कारण ज्यान जोखिएको स्थानीयले बताए । पहिरोको नजिकै रहेका सुर्केस विक, हिराबहादुर बिक, गोपाल परिवारलाई सुरक्षित स्थानमा राखिएको छ ।

प्रकाशित : असार १९, २०८१ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×