कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४४

पहिरनमा चित्रकला

विराटनगरकी नेहाशा पोखरेलले ‘कमेरो’ ब्रान्डमार्फत पोसाक र जुत्ताहरूमा चित्र कोर्छिन् । उनले सुर्खेत, बागलुङलगायत जिल्लामा पुगेर बालबालिकालाई निःशुल्क चित्र कोर्न पनि सिकाएकी छन् । 
पर्वत पोर्तेल

विराटनगर — करिब एक दशकअघिसम्म विराटनगरकी नेहाशा पोखरेललाई चित्रकारितामा खासै रुचि थिएन । खासमा २०१७ डिसेम्बरबाट हो उनी चित्रकारितासँग जोडिएको । २०१५ मा बैंग्लोरबाट मनोविज्ञान, समाजशास्त्र र साहित्यमा स्नातक सकिन् । त्यसपछि कामको सिलसिलमा उनी पश्चिम बंगालको राजधानी कोलकाता पुगिन् ।

पहिरनमा चित्रकला

त्यहाँ उनले ‘फेसन कन्सलटेन्ट’ का रूपमा करिब वर्ष दिन बिताइन् । त्यही क्रममा उनले चित्र कोर्न थालिन् । ‘वर्ष दिनजति काम गरेपछि यो काम मेरा लागि होइन भन्ने लाग्यो,’ कोलकाता बसाइको अनुभव साट्दै उनले भनिन्, ‘त्यसपछि नेपाल फर्किएँ ।’

कोलकाताबाट घर फर्किंदा लगभग ‘डिप्रेसन’ को तहमा थियो उनको मानसिक स्वास्थ्य । त्यसबाट निस्किने मुख्य हतियार नै चित्रकारिता बन्यो । चित्र कोर्न थालेपछि उनको मानसिक स्वास्थ्यमा पनि क्रमिक सुधार आयो । ‘चित्रले मलाई खुसी दिन थाल्यो,’ उनको अनुभव छ, ‘चित्र बनाउन नथालेको भए आज मेरो हाल के हुन्थ्यो थाहा छैन ।’ यही बीचमा उनी स्वयंसेवक बनेर बागलुङ पनि पुगिन्, भीएसओ नामक गैरसरकारी संस्थामार्फत । त्यहाँ करिब तीन महिना बिताइन् । पछि सुर्खेतमा पनि काम गरिन् । चित्र बनाउने काम जारी नै राखिन् । गाउँका बालबालिकालाई पनि चित्र कोर्न सिकाइन् ।

सुर्खेतबाट फर्किने बेलासम्ममा त उनले करिब पाँच दर्जन चित्र तयारी पारिसकेकी थिइन् । लगत्तै चित्रकला प्रदर्शनी गरिन्, काठमाडौंमा । ‘फाइन्डिङ माइसेल्फ’ थिमको प्रदर्शनीमा तीन दर्जनभन्दा बढी मूर्त– अमूर्त चित्र समावेश थिए । प्रदर्शनीमा राखिएका दुई दर्जन चित्र त महँगो मूल्यमा नै बिक्री भए । ‘चित्र बिकेपछि मलाई झन् ऊर्जा मिल्यो,’ नेहाशाले सुनाइन्, ‘सोखका लागि बनाएका चित्रहरू बिक्री भएपछि थप काम गर्ने जोस आयो ।’

भारतमा पढेर आएकी छोरीले प्रतिष्ठित संस्थामा जागिर खाओस् भन्ने सोच थियो अभिभावकको । तर, उनले अभिभावकको सोचविपरीत काम सुरु गरिन् । जसले उनका बुबाआमा निकै चिढिए । चित्र बनाउँने कुरामा उनलाई विल्कुल सहयोग भएन । ‘बैंग्लोर पढेर आएर चित्र बनाएर बस्ने ? भन्नुभयो,’ उनले अभिभावकको असन्तुष्टिबारे सुनाइन्, ‘काम गर्नुपर्छ चित्र बनाएर बस्ने समय छैन भन्नुहुन्थ्यो ।’

बुबाआमालगायत परिवारका सदस्यलाई चित्रकारिता पनि काम हो भन्ने बुझाउन नेहाशालाई धेरै समय लाग्यो । अरुलेझैं पेन्टिङलाई काम सोचिएन । ‘प्रदर्शनी गरेर चित्र बिक्न थालेपछि भने बुबाआमा खुसी हुनुभयो,’ अहिले त उहाँहरूले मेरो कामप्रति गर्व गर्न थाल्नुभएको छ ।’ कलाकारितालाई काम नै नबुझने अवस्था नेपाली समाजको छ । तर, अहिलेचाहिँ साहित्य, कला पनि राम्रो काम र पेसा हो । यसबाट पनि पैसा कमाउन सकिन्छ भन्ने आम मानिसहरूले बुझ्न थाल्नु सकारात्मक भएको उनी बताउँछिन् । ‘समाजले कला पनि पेसा हो, काम हो भन्ने बुझन् थाल्नु नै ठूलो उपलब्धि हो,’ उनी भन्छिन्, ‘यो कलाको सम्मान पनि त हो नि ।’

नेहाशा अहिले विराटनगरमै छिन् । ‘कमेरो’ नामको एउटा ब्रान्डमार्फत उनी पोसाक पहिरन, जुत्ताहरूमा पनि चित्र कोर्छिन् । खासगरी पछिल्लो समय उनी माटोका भाँडाहरूमा गरिने चित्रकलामा केन्द्रित भएकी छन् । ‘कमेरो’ दर्ता गरेको भने दुई वर्ष मात्रै भयो । काम गर्न थालेको करिब ४ महिना । ‘कमेरो आमाले जुराइदिएको नाम हो,’ नेहाशाले सुनाइन्, ‘यही नाममार्फत म कलालाई अगाडि बढाउने योजनामा छु ।’

स्विटर बुन्न पनि सिकेको वर्ष दिन जति भयो उनले । युट्युबबाटै सिकिन् स्वेटर बुन्न । नेहाशाले साडी र कमिजहरूमा चित्र बनाउँछिन् । जुत्ताहरूमा पनि चित्र कोरेर बेच्छिन् । त्यसका साथै पुरानो कमिजमा पनि पेन्टिङ गरिदिन्छिन् ।

माटोको भाँडाहरूमा पनि पेन्टिङ गर्न थालेकी उनी मैथिली चित्रकलामा प्रति धेरै मोह रहेको बताउँछिन् । ल्यान्डस्केप र एक्स्ट्राइक उनलाई सबभन्दा धेरै मन पर्ने कला हो । मिथिला आर्टप्रति पछिल्लो समय रुचि बढ्दो छ । ‘पोट्रेटमा खासै रुचि छैन,’ थप्छिन्, ‘रियलस्ट्रिक पेन्टिङ बरु मनपर्छ ।’ पोखरेल परिवारकी एक्ली छोरी नेहाशाले समाजका विविध समस्यालाई कलामार्फत उतार्दै आएकी छन् । उनले आगामी वर्ष समाजका विविध समस्यालाई चित्रमा उतारेर प्रदर्शनी गर्ने योजना सुनाइन् ।

कोभिड महामारीका कारण उनले पढाइ अघि बढाउन भने सकिनन् । ‘मास्टर्स बाँकी थियो,’ उनले थपिन्, ‘चित्रकारितामा व्यस्त हुन थालेपछि पढाइ छुट्यो ।’ तर, छुटेको पढाइलाई भविष्यमा निरन्तरता दिने उनको योजना छ । विराटनगरको षडानन्द चोकनजिकै एउटा घर भाडामा लिएर चित्रकारितासँगै क्याफे पनि सञ्चालन गरिहरेकी छिन् उनले । ‘बानु विस्ट्रो’ नामक क्याफेको भुइँतलामा उनको चित्रकलाको ग्यालेरी पनि छ ।

छतलाई डेकोरेट गरेर क्याफे सञ्चालन गरिएको छ । जुगाड गरिराखिएका वर्षौं पुराना सामानहरूले क्याफेलाई आकर्षक बनाएको छ । हजुरआमाको नामबाट क्याफेको नाम जुराइएकी हुन् उनले । वर्षौं पुरानो टाइपराइटर, ग्रामाफोनदेखि वर्षौं पुराना खड्कुरा, गाग्रीलगायत अन्य पुराना सामग्रीहरू देख्न सकिन्छ क्याफेमा । ‘९० प्रतिशत सामान त घरबाटै जुगाड गरेर राखेकी हुँ,’ उनले भनिन्, ‘पुराना सामानहरूको महत्त्व अहिले झन् बढेर गएको छ ।’

भाइ शाश्वतले चीनमा होटल मेनेजमेन्ट पढेर फर्किएका थिए । विदेश नजाने अड्डी कसेर बसेका दिदीभाइले एक दिन परिकल्पना गरे, ‘कला ग्यालरीसँगै क्याफेको ।’ नेहाशा चित्रमा दख्खल । भाइ शाश्वतको होटल मेनेजमेन्टको पढाइ । दुई जनाको फरक शिल्पपछि जन्मिएको हो, ‘बानु विस्ट्रो’ । फुर्सदका समयमा नेहाशा भाइलाई चिया पकाउन पनि सघाउँछिन् ।

१२ लाख जति खर्च गरेर तीन महिनाअघि मात्रै सुरु गरेको क्याफेमा पाँच जना युवाहरूले रोजगारी पनि पाएका छन् । नेहाशालाई विदेश जान कहिल्यै मनै भएन । ‘जान चै जान्छु तर घुमघामका लागि मात्रै,’ उनी भन्छिन् । एयरपोर्टमा भीड देख्दा भने दुःख लाग्ने बताउँछिन् । ‘सबै जना गए भने यो देशको हालत के हुन्छ होला ?’ उनी चिन्तित हुन्छिन् । विदेशमा पनि भाडा माझ्ने हो, बरु यतै माझ्ने संकल्प गरेर बसेकी उनी भन्छिन्, ‘जे गर्छु म मेरो ठाउँमै गर्छु । मेरो देशकै विकासका लागि गर्छु ।’

प्रकाशित : असार १९, २०८१ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×