चित्रमा बुद्ध र कमल
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
चितवन — बीचबाट बग्ने नारायणीले नारायणगढ र गैंडाकोटलाई भौगोलिक रूपमा विभाजन गरेको छ । तर यस क्षेत्रका चित्रकारको सहकार्यलाई भने यसले रोक्न सकेको छैन । त्यसैले बुद्ध जयन्तीको अवसर पारेर गैंडाकोट प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको चित्रकला प्रदर्शनीमा दुवैतर्फका कलाकारका सिर्जना अटाएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![चित्रमा बुद्ध र कमल](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/entertainment/chitrakala-2-1062024034325-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
प्रदर्शनीमा १३ चित्र राखिएका छन् । तीमध्ये ९ वटा चितवनका कलाकारका सिर्जना हुन् । हरेक चित्रमा बुद्ध छन् र सँगै कमल पनि ।
‘मैले यी चित्र हेरें । सबै बुद्धका चित्र छन् र हरेक चित्रमा बुद्धसँगै कमल पनि छ । यसो किन भएको होला ? बुद्ध र कमललाई किन एकै ठाउँ राखेको होला,’ चित्र हेर्दै चितवनका उदय अधिकारीले भने । उदय अधिकारी समीक्षक पनि हुन् । उनले चितवन र गैंडाकोट क्षेत्रमा चित्रकलाको अवस्था र सम्भावनाबारे पनि आयोजकहरूसँग सोधखोज गरे । कलालाई प्रोत्साहन र प्रचार गर्न भएका गतिविधिबारे जान्न खोजे । प्रदर्शनीसँगै ‘कला विमर्श’ पनि राखेका कारण आयोजक गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव भीमप्रसाद शर्माले उठेका प्रश्नहरूको उत्तर दिन सुरु गरे ।
‘कमल हिलोमा फुल्छ तर कोमल र सुन्दर छ । पवित्र पनि छ । यसैगरी बुद्धले पनि दरबार छाडे । दरबार छाड्नु भनेको जमिनसँग जोडिनु हो । रूखको तल बसेर लामो तपस्या गरे, ज्ञान प्राप्त गरे । त्यसैले बुद्ध र कमल समान छन् झैं लाग्छ,’ शर्माले भने । त्यसैले प्रदर्शनीका चित्रहरूमा बुद्धसँगै कमललाई राख्न भनिएको उनले बताए । ‘चितवन र गैंडाकोट मिलेर बेलामौकामा कला प्रदर्शनी भइरहेका छन् । तर यहाँ व्यवस्थित ग्यालरी छैन । चित्र बनाएपछि कलाको उचित मूल्य र सम्मान पाइयो भन्ने पनि खासै छैन । र, बनेका चित्रहरू कस्ता भए ? राम्रा, नराम्रा छन् ? यत्ति भन्दिने समीक्षक पनि पाउन गाह्रो छ,’ शर्माले सुनाए ।
प्रदर्शनीमा गोविन्दराज विनोदी, भीमप्रसाद शर्मा, रामहरि श्रेष्ठ, प्रकाश थापासहित डी बराल, बरुणबाबु घिमिरे, सुशील गुरुङ, आकृति घिमिरे, प्रमेश कँडेल, गोपाल तामाङ, नारायण सापकोटा, सन्तोष श्रेष्ठ र शुलभ पौडेलका एक/एकवटा चित्र छन् । चितवनका पुराना चित्रकार प्रकाश थापा ग्यालरी भए कलाकार, कलाप्रेमी र कला समीक्षकको एकै ठाउँ जमघट हुने अवसर जुर्ने बताउँछन् । ‘यसो भयो भने कलाकारले आफूलाई निखार्न पाउँछ । कलाप्रेमीले खोजेका सिर्जना पाउँछन् । कला समीक्षा बढे सिर्जना परिस्कृत हुँदै जान्छ । त्यसैले हामीले कला ग्राम र ग्यालरी आवश्यक छ भनेर भन्दै आएको हो । सुनुवाइ भएको छैन,’ थापाले भने ।
साहित्यकार गायत्री श्रेष्ठ आफू नारायणगढको बासिन्दा भएको तर चितवन नारायणगढ क्षेत्रमा चित्रकलाबारे खासै धेरै गतिविधि नभएको बताइन् । अर्का साहित्यकार सरिता तिवारीले कला विकासका लागि पालिकादेखि निजी क्षेत्रसमेतले सहयोग गर्नुपर्ने धारणा राखिन् । ‘सरकारी निकाय र स्थानीय तहलाई पनि यो काममा सहयोग गर्न आह्वान गर्नुपर्छ । साथै, उद्योग वाणिज्य संघ जस्ता निजी क्षेत्रका निकायले पनि यसमा ध्यान दिनुपर्छ,’ तिवारीले भनिन् । ‘चितवन र गैंडाकोट क्षेत्रका साहित्यदेखि कलासम्मका सर्जकहरू सहकार्यमै छन्,’ प्रतिष्ठानका उपकुलपति साहित्यकार गोविन्दराज विनोदीले भने, ‘गुणस्तरीय सिर्जनाको विकास र विस्तारका लागि मिलेरै काम गर्नुको विकल्प छैन ।’ बुद्ध जयन्तीको दिन पारेर गैंडाकोट प्रज्ञा प्रतिष्ठानको कार्यालयसँगैको ग्यालरीमा सुरु प्रदर्शनी जेठ २९ गतेसम्म चल्नेछ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)