कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गाउँमा रंगमञ्च

काठमाडौंमा गोठाले, बर्दियामा थारू, सिन्धुपलाञ्चोकमा सेलो र मोरङमा झोरहाट नाटकघर बनाएका घिमिरे युवराज यतिबेला आफ्नै जन्मथलो सुन्दर हरैंचाको विराटचोकमा नयाँ नाटकघर बनाउन जुटिरहेका छन् 

विराटनगर — देशमा भर्खरै लोकतन्त्र भित्रिएको थियो । २०६४ सालतिर घिमिरे युवराज शिल्पी थिएटरको गोठाले नाटकघरको जग खन्दै थिए, काठमाडौंमा । करिब १७ वर्षपछि युवराज उसैगरी पुनः नाटकघरको जग खन्न व्यस्त छन् । तर यसपालि ठाउँ फेरिएको छ । र, त्यो हो, विराटनचोक ।

गाउँमा रंगमञ्च

गणतन्त्रसँगैको संघीय व्यवस्थाले देश विकेन्द्रित भएको छ । स्थानीय, प्रदेश र संघ गरी तीन तहका सरकार अस्तित्वमा छन् । ‘अब सरकार मात्रै हैन, कला, साहित्य, नाटक जस्ता विधा पनि विकेन्द्रित हुन जरुरी छ,’ युवराज भन्छन्, ‘सधैं काठमाडौंको मुख ताक्ने समय अब गयो ।’

खासमा युवराज प्रायःजसो देश दौडाहा गरिरहन्छन् नाटक बोकेर । उनी महिला, दलित, मधेशीका उत्पीडनका मुद्दालाई नाटकको मुख्य विषय बनाउँछन् । पछिल्लो समय पर्यावरणीय संकटलाई उनले नाटकमार्फत सामाजिक आन्दोलनसँग गाँस्ने यत्न गरिरहेका छन् । ‘हिउँको पृथ्वी यात्रा’ मार्फत उनले पर्यावरणमाथिको तीव्र दोहनबारे देशभरि सचेतना जगाउँदै हिडें । नाट्य दौहाडा गर्दागर्दै उनलाई एक दशकअघि नै एउटा जुक्ति फुरेको थियो, गाउँमा रंगमञ्चको ।

त्यही जुक्तिलाई उनले कार्यान्वयन तहमा पुर्‍याए । बर्दियामा थारू नाटकघर, सिन्धुपलाञ्चोकमा सेलो र मोरङमा झोरहाट नाटकघर बनाए । यतिबेला उनी आफ्नै जन्मथलो सुन्दर हरैंचाको विराटचोकमा नयाँ नाटकघर सुरु गर्दै छन् । ‘गाउँमा रंगमञ्च’ को अवधारणाअनुसार नाटकघर निर्माण भइरहेको उनी बताउँछन् । ‘नाटकघर काठमाडौंमा मात्रै हैन, बाहिर पनि हुनुपर्छ भन्ने सोचेर नै नयाँ नाटकघर निर्माणमा लागेको हो,’ युवराजले भने, ‘धमाधम निर्माण भइरहेको नाटकघर केही महिनामै सञ्चालनमा आउनेछ ।’

२० भन्दा बढी थिएटरको भ्रमण गरेपछि उनलाई लाग्यो, ‘काठमाडौं बाहिर ठूलो जनसंख्या छ । जो नाटक हेर्न वञ्चित छन् । नाटकबारे बुझ्नसम्म पनि पाएका छैनन् ।’ उनले काठमाडौंबाहिर दर्शक मात्रै हैन, क्षमतावान् कलाकारहरू पनि भेटे । यात्राका क्रममा भेटिएका धेरै प्रतिभालाई उनले रंगमञ्चमा जोड्दै पनि लगे । काठमाडौंवासीका लागि कला, साहित्य, सिनेमा हरेक कुराको सहज पहुँच छ । तर, गाउँका दर्शकहरू ती सबै अवसरबाट वञ्चित छन् । ‘राज्य संघीयतामा गएको हो भने प्रशासन मात्रै हैन, आम मान्छेका साहित्यिक–सांस्कृतिक अधिकारहरू पनि विकेन्द्रित हुनुपर्‍यो नि,’ युवराज भन्छन् ।

उनले काठमाडौंबाहिर कही न कहीं थिएटर सेन्टर हुनुपर्छ भन्ने सोचका थिए । ‘म जन्मेको क्षेत्रमा शिल्पीलाई जमिन उपलब्ध भएपछि यहीं नाटकघर बनाउन सहज भयो,’ युवराजले थपे, ‘यो सबै प्रक्रिया पूरा गर्न स्थानीयवासीको नैतिक समर्थन जरुरी थियो । आफ्नै ठाउँ भएकाले थप सजिलो भयो ।’ काठमाडौंको राम्रो कुरा के भने त्यहाँ नाट्य संस्कार स्थापित भइसक्यो । तर, राज्यले सहयोग नगर्दा टिकट मनीको भरमा जेनतेन नाटकघर चलिरहेका छन् । टिकट महँगो हुन्छ । जसले नाटक हेर्न चाहने तर पैसा नहुने एउटा ठूलो जमात नाटक हेर्न छुट्ने गरेको छ ।

अब पैसा नहुनेहरूले पनि नाटक हेर्न सक्ने वातावरण बनाउँदै छन् युवराजले । गाउँका मान्छेहरूलाई महिनामा कम्तीमा दुई पटकसम्म थिएटरमा ल्याउँदै छन् । जसले उनीहरूको सिर्जनात्मकता पनि विकसित भएर जाने उनको अनुमान छ । ‘नाटक घर सिर्जनात्मक ठाउँ हो । यहाँ आउने मान्छेले अलि खुकुलो भएर सोच्न थाल्छ,’ युवराज भन्छन्, ‘अनेकखाले सामाजिक विभेद, जातीय उत्पीडन, अन्धविश्वासलगायतबाट बाहिर निस्किएर हेर्न कला, साहित्य अत्यन्तै जरुरी हुन्छ ।’

सुन्दर–हरैंचाका तत्कालीन नगरप्रमुख शिवप्रसाद ढकाललाई युवराजले केही वर्षअघि नाटक देखाए । अनि नाटक घर निर्माणका लागि जमिन उपलब्ध गराउन प्रस्ताव गरे । ढकाल मन्जुर भए । तर, सिंगो कार्यपालिका र समाजलाई मन्जुर गराउन झन्डै चार वर्ष लाग्यो । अन्ततः करिब १५ कट्ठा जमिन शिल्पीले नाटकघर निर्माणका लागि पायो । जसमा ५ कट्ठामा बन्द र खुला दुई नाटकघर । अनि बाँकी १० कट्ठामा बगैंचा रहनेछ ।

करिब ४ सय ७० जना दर्शक क्षमताको मुक्त (खुला) रंगमञ्चको निर्माण भर्खरै सकियो । यो युरोपको एम्पी थिएटर शैलीमा निर्माण गरिएको छ । ‘आम मान्छेलाई आउन सहजताका लागि कुनै पर्खाल हुनु हुँदैन भन्ने उद्देश्य खुला रंगमञ्चको हो,’ युवराज भन्छन्, ‘जहाँ पनि टिकट तिर्दा मान्छेले यातना व्यहोरिरहेको छ । नाटक केन्द्र हरेक गाउँलेको अधिकार हो । कोही पनि मन लागेका बेला आउन, नाटक हेर्न, बस्न, टहलिन र रमाउन सक्छ ।’

मुक्त रंगमञ्च र क्याफे तयार भइसक्यो । जसमा शिल्पीले ३५ लाख चानचुन खर्च गरिसक्यो । अब होस्टेलसहितको बन्द रंगमञ्च निर्माणका लागि भने शिल्पीले प्रदेश सरकारलाई गुहारेको छ । नाटकघर निर्माणमा प्रदेश सरकारले अपनत्व ग्रहण गरोस् भन्ने योजना शिल्पीको हो । केही समय प्रदेश सरकारका विभिन्न मन्त्रालय, मुख्यमन्त्री र मन्त्रीको ढोका चहारेका युवराजले सुनाए, ‘प्रदेश सरकारसँग सांस्कृतिक नीति छैन । शिक्षा र चेतनाबाट कसरी विकास गर्न सकिन्छ भन्नेबारे ठोस योजना पाइनँ ।’

युवराजका अनुसार नाटकघर, आवास गृह, तालिम केन्द्र, पुस्तकालय, योग गर्ने ठाउँलगायत निर्माणमा अब १ करोड ६५ लाख जति बजेट खर्च हुन्छ । २०८२ सालभित्र योजना सक्ने योजनामा शिल्पी छ । ‘हामीले यो परियोजनालाई दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी) जस्तो बनाउने प्रयत्न गरिरहेका छौं,’ उनले थपे, ‘दक्षिणी एसियाली देशका रंगकर्मीलाई जोड्ने सम्बन्ध सेतुको काम गर्ने हाम्रो योजना छ ।’ नजिकै भारत, बंगलादेश, भुटान र म्यानमारलगायतका देश छन् । जहाँबाट नाटक सिक्न प्रशिक्षार्थीहरू ल्याउन सके देशलाई फाइदा पुग्ने बताउँछन् उनी ।

मुक्त रंगमञ्च के हो ?

यो नितान्त नौलो प्रयोग त हैन । तर, यो शब्दको क्वाइन चाहिँ शिल्पीले नै गरेको हो । युरोपको एम्पी थिएटर, काठमाडौंको डबली रंगमञ्च, कचहरी, सडक नाटकका तत्त्व फ्युजन गरेर मुक्त रंगमञ्च जन्मिएको हो । खुला ठाउँमा पनि व्यवस्थित र कलात्मक नाटक हुन सक्छ । बन्द रंगमञ्चभित्रका सबै तत्त्वहरू खुला रंगमञ्चमा पनि हुन सक्छन् ।

तर, बन्द रंगमञ्चमा पर्खालले एक खालको मान्छेलाई रोकेको छ । तर पर्खालले कसैलाई बाहिर नपार्ने गरी खुला ठाउँमा गर्ने रंगमञ्चलाई मुक्त रंगमञ्च भनिएको हो ।

‘यसमा प्रकाश, मञ्च, भेषभूषाको स्तरीय व्यवस्था र दर्शकलाई पनि आदरका साथ राख्ने व्यवस्था हुन्छ,’ युवराजले भने, ‘दर्शकलाई पूर्वसूचना दिइन्छ । अनि ससम्मान कुर्सीमा राखेर हेर्ने व्यवस्था मिलाइन्छ ।’

कचहरी, सडक नाटकलगायतका कारण दर्शकहरूले यातना भोग्नुपरेको तीतो अनुभव छ युवराजको । ‘आम मान्छेको नाटकमा पहुँच स्थापित गर्न मुक्त रंगमञ्च सुरु गरिएको हो,’ युवराजले भने, ‘कला, साहित्य, सिनेमा हेर्न पाउनु हरेक नागरिकको अधिकार हो ।’

प्रकाशित : जेष्ठ १, २०८१ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×