कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

युरोपमा लाखे

दुई दशकअघि बेलायतको राजधानी लन्डन उत्रिएका विनोद चिपालु परम्परागत लाखे नाच संरक्षणमा सक्रिय छन् । पछिल्लो समय उनी बेलायतमा मात्र नभई अन्य युरोपेली देशका स्टेजमा लाखे नाचमै प्रस्तुत भइरहेका देखिन्छन् । 

लन्डन — बेलायतको राजधानी लन्डन उत्रिएपछि विनोद चिपालुले एउटा अठोट लिए, ‘बेलायतमा पनि लाखे नाच जीवन्त राख्छु । लाखे नाचबाटै नेपाललाई चिनाउँछु ।’ उनको अठोट न बेलायतको खुल्ला परिवेशमा डगमगायो, न व्यस्ततामा । नेपालमै आधुनिकताको प्रभावका कारण यो परम्परागत नाच संकटमा परेका बेला चिपालु भने बेलायतदेखि युरोपसम्म हरेक स्टेजमा लाखे नाचमै प्रस्तुत भइरहेका छन् । 

युरोपमा लाखे

धिमे बाजापछि नेवार समुदायको अर्को पहिचान लाखे नाच काठमाडौंको मुख्य पर्व इन्द्रजात्राको प्रमुख आकर्षण मानिन्छ । लाखे नाच मनोरञ्जन मात्रै नभई यसले नेवार समुदायको आस्था र परम्परागत संस्कृतिलाई समेत प्रतिविम्बित गर्ने चिपालुको विश्वास छ । बेलायती नेपाली डायस्पोरामा लाखे नाच उच्चारण हुनेबित्तिकै स्मृतिमा एकमात्र नाम आउँछ– विनोद चिपालु ।

‘मेरो यति पारिश्रमिक भन्ने छैन । मेरो एकमात्र उद्देश्य देश चिनाउने हो,’ चिपालुले कान्तिपुरसँग भने, ‘विशेष गरी नेपाललाई चिनाउने कार्यक्रममा मात्र गर्छु । जहाँ पायो त्यहीं र छाला जुत्ता लगाएर गर्दिनँ, पवित्र चोखो भएर नाच्छु ।’ नेवार समुदायको विशेष जात्रा वा पर्वमात्र होइन, यहाँ नेपालीले गर्ने महोत्सव र कार्यक्रममा लाखे नाचमार्फत प्रस्तुत हुन्छन् चिपालु ।

‘बेलायतमा काम र व्यवसायको व्यस्तता त छ तर मनले चाहे सबै पुग्ने रहेछ,’ उनी भन्छन् । उनीसँग नेपालबाटै जमानामा ल्याएको मुखुन्डो, पोसाक र गरगहना छन् । उनी मनदेखि नै नाच्छन्, नाच्न थालेपछि सबै बिर्सने गरी । कुनै जमाना १० मिनेटसम्म निरन्तर नाचेका उनी अचेल बढीमा ४–५ मिनेट मात्र नाच्न सक्ने बताउँछन् । स्टेज जानुअघि हल्का रिहर्सल गरे पुग्छ उनलाई । बेलायत आएपछि उनले युरोपकै पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूके, हिमालयन यती, पासा पुचः गुथि यूकेका गतिविधि र तमुधिं यूकेको नेपाली मेलामा लाखे नाच प्रदर्शन गर्दै आएका छन् ।

बेलायतमा लाखे नाच्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा चिपालुले यो परम्परा अब दोस्रो पुस्तालाई हस्तान्तरण गर्दै छन् । ‘बेलायतमै जन्मेहुर्केका पुस्तालाई आफ्नो मौलिक कला, संस्कृति र परम्पराबारे जानकारी दिन र यसलाई पछिसम्म जीवन्त राख्न मैले हस्तान्तरण गर्न लागेको हुँ,’ उनले प्रस्ट्याए । यही अगस्ट तेस्रो साता लन्डनमा दीप नाच आयोजना गर्ने उनको तयारी छ । सोही क्रममा लाखे महोत्सव गर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गरिने उनले बताए ।

उक्त महोत्सवमा देवी देवताको १० अवतार गणेश, भैरव, मञ्जुश्री, कालीनाच, ताण्डप, कुमारी, भेलु आदि नाच हुने चिपालु बताउँछन् । महोत्सवका लागि पासा पुचः गुथि यूके र इनास यूकेको समेत सहयोग छ । यसका लागि स्कटल्यान्डबाट चरण प्रधान, अमेरिकाबाट यज्ञमान शाक्य र नेपालबाट योगेश्वर अमात्य आउँदै छन् । नेपालबाट अन्य कलाकार र बेलायतवासी विदेशीलाई बोलाएर कार्यक्रम भव्य गर्ने सोच चिपालुको छ ।

नेपाल छँदा नै लाखे नाच्न सिकेका हुन् उनले । चिपालुले ९ वटा स्कुलमा विद्यार्थीलाई यो नाच सिकाउने गर्थे । सन् २००० मा कलाकारका रूपमा कला देखाउन बेलायत आएका थिए चिपालु । उनको जन्मघर काठमाडौं छाउनी हो । १५ वर्षको उमेरदेखि कला क्षेत्रमा लागेका उनले नेपाल छँदा कैयौं फिल्म, नाटकमा अभिनय गरे । यहाँ आएपछि ढिकी याद आयो नामक एल्बमका गीतमा उनले संगीत पनि भरेका छन् ।

उनले छोरीको नामबाट प्लमस्टिडमा विगत १२ वर्षदेखि मिनी मार्ट मिल्सा स्टोर चलाइरहेका छन् । अढाइ लाख पाउन्ड लगानी गरेर यो व्यवसाय थप विस्तार गरेको उनले सुनाए । छिट्टै मिल्सा टपरी रेस्टुरेन्ट सुरु गर्ने गृहकार्यमा पनि छन् उनी । उनलाई व्यवसायमा श्रीमती सविना श्रेष्ठ चिपालुको उल्लेख्य साथ छ । एक छोरा, एक छोरी र श्रीमतीका साथ लन्डन बुलबिचमा बस्छन् चिपालु ।

प्रकाशित : असार ६, २०८१ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×