काठमाडौँ — सन् १९६४ मा आजकै दिन (जुन १९) मा बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनको जन्म भएको थियो । उनी २०१९ जुलाई २४ देखि २०२२ सेप्टेम्बर ६ सम्म बेलायतका प्रधानमन्त्री थिए ।
सन् २००१ मा सांसद बनेका जोन्सन २००८ मा लन्डनको मेयर निर्वाचित भए । २०१२ मा पुनः मेयरमा निर्वाचित जोन्सन २०१५ को आमनिर्वाचनमा सांसद भए । २०१६ को ब्रेक्जिटसम्बन्धी जनमत संग्रहमा पार्टी नेता तथा प्रधानमन्त्री डेभिड क्यामरुनविरुद्ध उभिएपछि उनी पार्टीभित्र शक्तिशाली भए ।
त्यसलगत्तै बनेको टेरेजा मे नेतृत्वको सरकारमा उनी विदेशमन्त्री बने । तर प्रधानमन्त्रीले युरोपेली संघसँग वार्ता गर्न असमर्थ भएको भन्दै जोन्सनले पदबाट राजीनामा दिए । ब्रेक्जिट पार लगाउन नसकेपछि मेले दलबाट राजीनामा दिएपछि जोन्सन २०१९ जुलाईमा दलको नेता तथा प्रधानमन्त्री बने ।
संसद्बाट ब्रेक्जिट प्रस्ताव पारित गराउन नसकेपछि भने उनले २०१९ मा आमनिर्वाचन घोषणा गर्दै पार्टीलाई बहुमत दिलाए । तर कोभिडसम्बन्धी नियमहरूको उल्लंघन तथा पार्टी नेताहरूको बचाउमा उत्रेका कारण विवादित भएपछि उनले पदबाट राजीनामा दिएका थिए ।
