कुरूप देखाउने कला

‘मेकअप त राम्रो हुन गर्ने हो, कुरूप हुन पनि कोही मान्छे स्टुडियो आउला र ? यत्रो पैसा खर्च गर्ला र ?,’ अपेक्षाले सुनाइन्, ‘यस्तो भन्ने मान्छेहरू धेरै आइसके ।’

असार ४, २०८१

पर्वत पोर्तेल

The art of looking ugly

झापा — सिक्किमको मणिपाल विश्वविद्यालय मातहतको निधि कलेज, बिर्तामोडबाट वाणिज्य संकायमा स्नातकोत्तर सकेपछि झापा, बाहुनडाँगीकी अपेक्षा कार्कीको जागिरे जीवन सुरु भयो । पूर्वकै ठूलो र चिनिएको सहकारी संस्था सहारा नेपालमा अपेक्षाले करिब ७ वर्ष लेखा अधिकृतको जिम्मेवारी सम्हालिन् ।

सेवा सुविधा चित्तबुझ्दो नै थियो । जिन्दगी मज्जाले चलिरहेकै थियो । घर–अफिसको दैनिकी जारी नै थियो । अचानक उनलाई जागिर छाड्ने मुड चल्यो । लाख हाराहारीको तलब सुविधासहितको छँदाखाँदाको जागिर छाड्ने बहुलट्ठी निर्णयबाट अभिभावक खुसी हुने कुरै भएन । 

तर, अपेक्षाको निर्णयसामु अभिभावक निरीह भए । त्यसपछि छोरीलाई क्यानडा पठाउने अभिभावकको योजना पनि फेल खायो । किनभने अपेक्षाको मन विदेशतिर मोडिएन । बरु फेसन डिजाइनर बन्ने बालापनदेखिको सपना साकार गर्नेतर्फ केन्द्रित भयो । ‘फेसन डिजाइन पढ्ने इच्छा मारेर एकाउन्टिङ पढेकी थिएँ,’ अपेक्षाले सुनाइन्, ‘पुरानो इच्छालाई पुनः जगाउँदै मेकअप आर्टिस्टका रूपमा अघि बढ्ने निधो गरें ।’ जागिर, विदेश उड्ने सपना सबै त्यागेपछि उनको जीवनमा नयाँ मोड आयो । उनले मेकअप सिक्ने पक्का भयो । यो निर्णय लिनुअघि उनलाई मेकअप कसरी गर्ने ? विल्कुल हेक्का थिएन । मेकअपको छेउकुना कसरी मिलाउने उनले जानेकै थिइनन् । न ब्रस चलाउन आउँथ्यो, नत क्रिम पाउडर घसघास पार्न नै । 

The art of looking uglyअपेक्षाले मेकअप आर्टिस्ट बन्ने बाटो त रोजिन् । तर उनीसामु चुनौतीको अग्लो पहाड उभिएको थियो । उनले ब्युटिसियनको तालिम लिन लागिरहेकी थिइनन् । सिक्न चाहेको भिन्न बिधा थियो, एसएफएक्स अर्थात् स्पेसल इफेक्ट्स मेकअप । यो शैलीको मेकअपले मान्छेलाई सुन्दर नबनाएर कुरूप बनाउँछ । संसारमा सुन्दरताका लागि मात्रै मेकअप नभएर कुरूपताको पनि मेकअप हुन्छ भन्ने सन्देश एसएफएक्सले दिन्छ । खासगरी सिनेमा, नाटकहरूमा यस किसिमको मेकअप गरिन्छ । जसको सहायताबाट अनुहार र शरीरका विभिन्न भागहरूमा गहिरो चोट, नीलडाम, गम्भीर घाउ, रगतको टाटा देखाउन सकिन्छ । यो मेकअप नेपालमा पनि भर्खरै भित्रिँदै छ । खासगरी हलिउड सिनेमाहरूमा पहिल्यै भित्रिएको हो । बलिउडमा प्रयोगमा आउन थालेको धेरै भएको छैन । 

The art of looking ugly‘नेपालमा पनि भर्खरैदेखि मात्रै यो किसिमको मेकअप सुरु भएको छ,’ अपेक्षा सुनाउँछिन्, ‘आम मान्छेहरूले यो मेकअप गर्दैनन्, नेपाली सिनेमा र नाटकहरूमा यसको प्रयोग खासै भइरहेको छैन ।’ एसएफएक्सबारे उनले युट्युबमा देखिन् । त्यो देखेर पहिला त छक्क परिन् । यस्तो पनि मेकअप ? भित्रबाटै सोचिन्, म यही फरक खालको मेकअप सिक्छु । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैं उनले एसएफएक्स तालिम केन्द्रहरू खोज्न थालिन् । इन्टरनेटमा खोजबिन गर्दै जाँदा दिल्लीमा फेला पर्‍यो, एसएमए इन्टरनेसनल मेकअप एकाडेमी । तर, ज्यादै महँगो तालिम शुल्क । 

इच्छा लागेको कुरा गरिछाड्ने स्वभावका कारण चर्को शुल्कले उनलाई छेकबार लगाएन । अन्ततः ९ वर्षको छोरालाई माइतीघरमा छाडेर उनी दिल्लीतिर हानिइन् । ब्रससमेत चलाउने ढंग नभएकी उनले सुरुआतमा सिकिन् ब्युटी मेकअप । मान्छे राम्रो बनाउने मेकअपबाट सुरु गरेर मान्छेलाई कुरूप बनाउने शिल्प सिकेपछि उनको दिल्लीको प्रशिक्षण सकियो । ‘मेकअपको ब्रस चलाउन आउँदैनथ्यो,’ अपेक्षाले सुनाइन्, ‘छ महिने विशेष कोर्सपछि एसएफएक्समा अब्बल भएर फर्किएँ ।’ 

The art of looking uglyदिल्लीपछि केही समय थाइल्यान्डको बैंकक उडिन् उतैबाट । दिल्लीमा सिकेको सीपलाई बैंककमा फिनिसिङ गर्ने आइडिया सिकिन् । दिल्ली र बैंककमा रहँदा करिब १६ लाख जति खर्च गरेपछि उनी एसएफएक्समै अब्बल भएर झापा फर्किइन् । भारत र बैंककमा सिकेको सीपलाई उनले स्वदेशमै प्रयोग गर्ने निधो गरिन् । ६ महिनाअघि बिर्तामोडमा करिब ३५ लाख जति खर्चिएर मेकअप स्टुडियो सञ्चालन गरिन् । मेकअपको क्षेत्रमा सम्भावनासँगै चुनौती रहेको उनी ठान्छिन् । ब्युटीबाट ब्राइडर, फेसनबाट फेन्टासी हुँदै एसएफएक्स सिकेकी उनी यी चारवटै तरिकामा मेकअप गर्छिन् । 

एसएफएक्स मेकअप स्टुडियो जिल्लाकै पहिलो हो । यस्तो मेकअपबारे धेरैलाई थाहा छैन । उनीसँग दर्जन जति प्रशिक्षार्थीहरू पनि जोडिएका छन् । उनीहरूमार्फत एसएफएक्सबारे ‘माउथ उब्लिसिटी’ गरिरहेकी छन् । उनका अनुसार धेरैजसो त एसएफएक्स मेकअप देखेर छक्क पर्ने गरेका छन् । ‘मेकअप त राम्रो हुन गर्ने हो, कुरूप हुन पनि कोही मान्छे स्टुडियो आउला र ? यत्रो पैसा खर्च गर्ला र ?,’ अपेक्षाले सुनाइन्, ‘यस्तो भन्ने मान्छेहरू धेरै आइसके ।’ तर, उनी निराश छैनन् । आफूले सिकेको सीपलाई प्रयोगमा ल्याएरै छाड्ने उनको अठोट छ । 

के हो एसएफएक्स ?

स्पेसल इफेक्ट मेकअप (एसएफएक्स) एक फरक शैलीबाट मेकअप गर्ने कलात्मक प्रविधि हो । जसमा प्रोस्थेटिक मोल्डको संयोजन प्रयोग गरी अनुहारसहित शरीरका विभिन्न भागमा चोटपटक, घाउ र दागहरू देखाइन्छ । जुन झट्ट हेर्दा दुरुस्तै हुन्छ । यो मेकअपपछि आम मान्छेलाई त्यो चोटपटक नक्कली भन्ने भेउ पाउन गाह्रो हुन्छ । अनुहार, शरीरलगायतका छालामा यस्तो मेकअप गरिन्छ । यो मेकअपमा प्रयोग गरिने रंगहरू ठ्याक्कै रगत जस्तो, नीलडाम जस्तो अनि घाउ जस्तो देखिन्छ । जसलाई कलाको माध्यमबाट मेकअप आर्टिस्टले सही ठाउँमा प्रयोग र संयोजन गर्छ । 

The art of looking uglyजसले सर्वसाधारणलाई वास्तविक झैं भ्रम पर्न जान्छ । गम्भीर चोटहरूदेखि विभिन्न जीवहरूको आकृति पनि मेकअपमार्फत गर्न सकिन्छ । हलिउड सिनेमाहरूले सन् १९३० र ४० को दशकमै यो मेकअप प्रयोग गरेको पाइन्छ । धेरै हलिउड सिनेमाहरूमा यस किसिमको मेकअप प्रयोग भएको पाइन्छ । खासगरी हरेक सिनेमाहरूमा यो मेकअपको प्रयोग उच्च पाइन्छ । पछिल्लो समय बलिउडका थुप्रै सिनेमाहरूमा यो कला प्रयोग भएको छ । ‘नेपाली सिनेमा र नाटक क्षेत्रमा पनि यो मेकअप प्रयोग गर्ने इच्छा छ,’ अपेक्षाले सुनाइन्, ‘त्यसका लागि अवसरको पर्खाइमा छु ।’

युवा ग्यालरी

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully