कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सगरमाथा क्याम्प २ मा डिजेइङ

तेन्जिङ शेर्पाले हालै सगरमाथाको क्याम्प २ मा डिजेइङ गरेका छन् । चारैतिर हिमाल, चिसो मौसम र संगीतबीचको प्रस्तुतिमा दर्जनभन्दा बढी पर्वतारोही मज्जैले झुमे । 

काठमाडौँ — घाँटीमा हेडफोन, दुई हात पायोनियर डीजे प्लेयरमा । जसै, तेन्जिङ शेर्पाले डिजेइङ गर्थे, सगरमाथा क्याम्प–२ (६ हजार ४ सय मिटर) मा पुगेका सगरमाथा आरोहीका कम्मर, टाउको, शरीर त्यसै हल्लिन्थे । डीजे तेन्जिङले संगीत बजाउँदै गर्दा ठिंग उभिएका आरोहीका बाक्ला जुत्ता त्यसै हलचल गर्न थाल्थे । चारैतिर हिमाल, चिसो मौसम अनि संगीत । डीजे तेन्जिङले सगरमाथाको यस्तो मनोरम दृश्यबीच गरेको प्रस्तुतिमा नझुम्ने कमै थिए । 

सगरमाथा क्याम्प २ मा डिजेइङ

आधा घण्टासम्मको यही डिजेइङका धुन कतिका लागि अन्तिम नाच बन्यो, अन्तिम हाँसो बन्यो अनि एकअर्कासँगको रमाइलो क्षण । सगरमाथा आधार शिविरमा तेन्जिङको डिजेइङमा झुम्नेहरू कतिले घर फर्कने बाटो भेटेनन् । तेन्जिङलाई भने सपनाको

खुड्किलो पार गरेझैं भएको छ । सगरमाथामा डिजेइङ गर्ने उनको सपना जेठ ८ मा पूरा भएको हो । विश्वको अग्लो चुचुरोको फेदमा डिजेइङ गरेर तेन्जिङ हिमालदेखि कंक्रिटको सहर काठमाडौं फर्किसकेका छन् ।

‘मैले उनीहरूका लागि पनि संगीत बजाउन पाएँ । मेरो डिजेइङमा नाच्नेहरू कति सगरमाथाबाट फर्किएनन् । उनीहरूको अन्तिम खुसीमा संलग्न हुन पाएँ, खुसी छु,’ तेन्जिङ भन्छन् । डिजेइङका लागि विदेश घुमिरहँदा शेर्पा थरकै कारण धेरैले डीजे तेन्जिङलाई सोध्थे,’ सगरमाथाचाहिँ कतिचोटि चढ्यौ ?’ सगरमाथा चढ्ने पहिलो शेर्पासँग नाम मिलेका तेन्जिङसँग प्रश्नको जवाफ भने हुँदैनथ्यो । तेन्जिङले त्यो प्रश्न आउँदासम्म पनि न सगरमाथालाई नजिकबाट हेर्न पाएका थिए, न चढ्ने सोच नै बनाएका थिए । तेन्जिङलाई भने जहाँ पुग्दा पनि त्यही प्रश्नले पछ्याइरह्यो । त्यसपछि ठाने– एक पटक त हिमाल चढेर छाड्छु ।

जतिबेला उनी डिजेइङमा व्यस्त थिए, त्यतिबेलासम्म हिमाल उनको रोजाइमै पर्दैनथ्यो । क्लबिङमै रमाइरहने उनी नाइटलाइफमै रमाइरहे । सेताम्मे हिमालका चुचुराले उनलाई लोभ्याउँदैनथ्यो । १९९२ देखि २००८ सम्म सक्रिय रूपले क्लबमा डीजे गरे । १९९२ देखि १९९९ सम्म डीजे गर्ने यथेष्ट उपकरण नहुँदै ठमेलको क्लब ‘जली ब्लुज’ मा डिजेइङ गरे । त्यसपछि २००२ सम्म दरबारमार्गको ‘एक्स जोन’ मा ७ वर्ष काम गरे । अनि २००७ सम्म हायत रिजेन्सीको रोक्स बारमा डिस्क जकीका रूपमा बजाए । त्यसपछि होटल याक एन्ड यतीको क्लब प्लाटिनममा वर्ष दिन काम गरिसकेपछि अन्तर्राष्ट्रिय टुरमा निस्के । त्यही टुरमा उनलाई धेरैले सगरमाथा आरोहणमाथि प्रश्न उठाएका थिए । त्यही प्रश्नले तेन्जिङलाई हिमाल चढ्न लगायो, अग्लो चुचुरोमा डीजे गर्ने सपना देखायो ।

तेन्जिङका बुबा शिक्षक । सगरमाथादेखि परको देश अमेरिकाको न्युयोर्कमा जन्मिए तेन्जिङ । उतै हुर्के । बेलाबखत आइरहन्थे, हिउँदे बिदा मनाएर न्युयोर्क फर्कन्थे । तर, अन्तर्राष्ट्रिय टुरपछि सगरमाथामा डिजेइङ गर्ने उनको सपना यसरी हुर्कियो कि सन् २००९ मा तयारी थाले । त्यतिबेला तेन्जिङले सगरमाथा आधार शिविरमा डिजेइङ गर्ने ठूलै होहल्ला चलिसकेको थियो । तयारी पनि पूरा भइसकेको थियो, समाचारहरूमा खबर छापिसकेको थियो । तर, अन्तिम समयमा सरकारले अनुमति दिएन । पछि ब्रिटिस डीजे पलले आधार शिविरमा डीजे प्रस्तुति दिए । ‘विदेशीले गर्न खोज्दा पाउँदोरहेछ त’ भन्ने लागेपछि कम्मर कसेर लागिपरे ।

तत्कालीन पर्यटनमन्त्री सुदन किरातीकहाँ अनुमतिका लागि थुप्रै पटक धाए । पर्यटनमन्त्री भने सुरक्षाका समस्या केलाइरहे । तर तेन्जिङले उनीहरूलाई मनाउने हर प्रयास गरे । तेन्जिङको भित्री मनमा एउटै प्रश्न थियो– विदेशीले प्रस्तुति दिन पाउने, मैले आफ्नै देशको सगरमाथामा कार्यक्रम गर्न नपाउने ? आधार शिविरमा डिजेइङ गर्ने अनुमति नपाए पनि तेन्जिङले सगरमाथासँगै जोडिने काम भने गर्न थाले ।

नाम्चे युथ ग्रुपसँग मिलेर ‘एभरेस्ट डे’ (मे २९) मनाउन सुरु गरे । १७ वर्षदेखि ‘एभरेस्ट डे’ सञ्चालन गर्दै आइरहेका उनलाई यही कामले पनि डीजे प्रस्तुति दिनका लागि सहयोग गर्‍यो । जेठ ८ मा सगरमाथाको क्याम्प २ मा उभिएर आरोहीहरूलाई नचाएपछि भने तेन्जिङको त्यो सपना पूरा भएको छ । सगरमाथा आरोहण गर्ने आकांक्षा पनि पूरा भइसकेको छ । डीजे प्रस्तुतिसँगै तेन्जिङले सगरमाथा आरोहण गरिसकेका छन् । क्याम्प ३ सम्म पुग्दा हिउँ र हुरीबतासले दिएको सास्ती अब तेन्जिङका लागि मीठो सम्झना बनेको छ । डिजे अनुभव त अद्भुत नै रहेको बताउँछन् तेन्जिङ ।

हुन त यसअघिसम्म ५ हजार ९ सयको उचाइमा डिजेइङ गरेको रेकर्ड पाकिस्तानले राखेको थियो । तेन्जिङलाई अब त्यही रेकर्ड तोड्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउनु छ । आफूले त्यो रेकर्ड राख्नेमा निर्धक्क छन् उनी । ‘प्रमाणपत्र पाउन त एक वर्ष लाग्ला । तर, मैले गिनिज वर्ल्ड रेकर्डका सबै गाइडलाइन पूरा गरेको छु । त्यसैले सबैभन्दा अग्लो ठाउँमा डीजे गरेको रेकर्ड नेपालले राख्छ भन्नेमा म ढुक्क छु,’ उनले भने ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको निर्देशिकाअनुसार १० मिनेट डीजे बजाए पुग्थ्यो तर आरोहीहरूको उपस्थितिले त्यो चिसोमा पनि डीजे बजाउन तेन्जिङ तातिएका थिए । निर्देशिकाअनुसार मानिसहरूको उपस्थिति १० जना भए पुग्थ्यो तर खुला मौसम

पछ्याउँदै क्याम्प २ पुगेका सय बढी आरोही आफ्नो प्रस्तुतिमा रमाएको बताउँछन्, तेन्जिङ । ‘जाँदा त एउटा रेकर्ड राख्नका लागि गएको थिएँ’ । यहाँको जस्तो पार्टीको माहोल बनाउन त गाह्रो थियो । कोही त अक्सिजन पाइप मुखमा राखेर पनि रमाइरहेका थिए,’ तेन्जिङले आफ्नो अनुभव सुनाए, ‘मेरा लागि त समुद्रको तहमा बजाउँदा पनि उस्तै हो, हिमालको त्यो उचाइमा बजाउँदा पनि उस्तै अनुभव भयो ।’

तेन्जिङले सगरमाथामा डिजेइङ गर्छु, सगरमाथा चढ्छु भन्ने कुरा परिवारलाई नेपाल आउनुभन्दा एक साता अघि मात्रै सुनाएका हुन् । पत्नीले त्यसमा रोकटोक गर्लिन् भन्ने सोचेका थिए उनले । तर, पत्नीको सहयोग नै मिल्यो उनलाई । परिवारले साथ नदिएको भए सगरमाथा आरोहणदेखि डिजेइङको उपलब्धि प्राप्त नहुने तेन्जिङ बताउँछन् । ‘संसारकै अग्लो चुचुरो हाम्रो देशमा छ भने किन हामीले रेकर्ड नबनाउने भन्ने लागेको थियो,’ उनले भने, ‘त्यसैले मैले पर्यटन प्रवर्द्धनका हिसाबले पनि सगरमाथामा डीजे गर्ने सोचेको हुँ ।’

प्रकाशित : असार ५, २०८१ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×