काठमाडौँ — सन् १८१५ मा आजकै दिन (जुन १८) मा वाटरलुको युद्धमा फ्रान्स पराजित भएको थियो । युद्धमा नेपोलियन बोनापार्ट नेतृत्वको फ्रान्सेली सेना वेलिङटन र ब्लुचरको नेतृत्वमा रहेका सहयोगीहरूको गठबन्धनबाट पराजित भएको थियो । जसका कारण युरोपलाई आफ्नो अधीनमा राख्न फ्रान्सेली सपना पूरा हुन सकेन ।
त्यसअघि भने उनले सबैजसो युद्ध जितेका थिए । सन् १७६९ को अगस्ट १५ मा जन्मिएका नेपोलियन फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए । उनले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धमा सफलताका कारण ख्याति कमाए ।
उनी नेपोलियन प्रथमका रूपमा १८०४ को मे १८ देखि १८१४ अप्रिल ६ सम्म पहिलो पटक र १८१५ को मार्च २० देखि जुन २२ मा दोस्रो पटक फ्रान्सको सम्राट् भएका थिए । उनको १८२१ को मे ५ मा मृत्यु भएको थियो ।
