कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पप संगीतमा नेपालीपनको खोजी

‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड्स २०८०’ मा दीर्घसाधना सम्मान (लाइफ टाइम अचिभमेन्ट) थाप्ने क्रममा पप सम्राट ओमविक्रम विष्टले भने, ‘विदेशीले नेपाली बोलेको जस्तो गरी गीत गाउन थालियो, अर्काको शैली चोर्दा संगीत पनि चोरेको जस्तो भयो’

काठमाडौँ — नेपालमा पप कल्चर भित्र्याउने ओमविक्रम विष्ट पाँच दशकदेखि यो क्षेत्रमा सक्रिय छन् । विष्टको लामो समयको योगदानको कदर गर्दै उनलाई गत साता काठमाडौंमा आयोजित ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड्स २०८०’ मा दीर्घसाधना सम्मान (लाइफ टाइम अचिभमेन्ट) प्रदान गरियो ।

पप संगीतमा नेपालीपनको खोजी

सम्मान थाप्ने क्रममा उनले भने, ‘पहिला हामी पश्चिमा बाजा बजाएर विशुद्ध नेपाली गीत गाउँथ्यौं । तर, अहिलेको गीतको उच्चारण मलाई पच्दैन । ‘टिमीले मलाई’ जस्ता शब्द सुन्दा मीठो त सुनिएला तर त्यसमा नेपालीपन हुँदैन,’ विष्ट भन्छन् ।

आखिर पप संगीतमा यस किसिमको अभ्यासको थालनी कहिले भयो त नेपाली भाकाका आधुनिक, फिल्मका गीत, पश्चिमा पप र भारतीय पप संगीतबाटै १९८० तिर नयाँ विधा सुरु भयो, त्यो हो नेपाली पप । ‘पपुलर म्युजिक भनेको संस्कृतिजस्तै हो, परिवर्तन भइरहन्छ । प्रविधिसँगै परिवर्तन हुँदै आउँछ । नेपालमा रेडियो नेपालले रेकर्ड गर्न थालेसँगै पप संगीत प्रसारण हुन थालेको हो ।

आधुनिक गीत भनियो, पप संगीत भनियो,’ इथ्नोम्युजिकोलोजिस्ट लोचन रिजाल बताउँछन् । रेडियो नेपाल स्थापना हुनुअघि गाउँ–गाउँमा चलेको (पपुलर) भाका, गन्धर्वले गाउने लोकगीत नै लोकप्रिय थिए । लोचनका अनुसार १९७० मा पश्चिमबाट हिप्पी आउँदा, पप संगीतमा बज्ने इलेक्ट्रिक गितार, ड्रमदेखि स्याक्सोफोन भित्रियो । किङ रिचर्डहरू नेपाल आएको भन्ने सुनियो । त्यसपछि आधुनिक संगीतमा रकदेखि ब्लुज संगीत मिसिँदै आयो । अहिले त पश्चिमतिर चलिरहेकै संगीत नेपाली पप संगीतमा सुनिने गरेको रिजालको भनाइ छ ।

पप संगीतको आफ्नै शैली हुन्छ । दोहोरिरहने कर्ड, झट्ट सम्झिन सकिने धुन र लय पपभित्रका थुप्रै विधाले यी तत्त्व पछ्याउँछन् । धेरैले मन पराउने संगीत हो यो, युवा पुस्ताले रुचाउने विधा । रेडियो कान्तिपुरमा पप विधातर्फको अवार्ड उचाल्ने ‘सारंगी’ बोलको गीतलाई नै हेरौं । ११ महिनाअघि युट्युबमा सार्वजनिक गरिएको सुशान्त केसीको यो गीतले अहिलेसम्म आधा करोड भ्युज प्राप्त गरिसकेको छ । गीतलाई अत्यधिक युवा दर्शकले रुचाइदिएका छन् । गीतको लय र धुनले दर्शकको मन यसरी जित्यो कि युट्युबमा सार्वजनिक भएदेखि गीतले ओभरल ट्रेन्डिङको बाटो समायो । पिपुल्स च्वाइस अवार्ड जितेको ‘जे छौ तिमी’ ले पनि उस्तै तहल्का पिटेको छ ।

प्रविधिको विकाससँगै २००० बाट पप संगीतमा भने विष्टले भनेजस्तै विकृति देखिएको हो । ‘यथार्थमा विश्वकै संगीतमा परिवर्तन भइसक्यो । विश्वभर नयाँ बाजाहरू आएका छन् । हरेक किसिमको बाजा बजाउन सकिने सुविधा छ अहिले । रेकर्डिङ प्रविधिमै परिवर्तन भइसक्यो,’ पप सम्राट भन्छन्, ‘तर, गीत गाउने शैलीमा पहिला साधना बढी हुन्थ्यो । केही बिगि्रँदा रि–रेकर्ड गर्नुपर्ने, त्यसैले त्यतिबेला हाम्रो खटाई लामो हुन्थ्यो । अहिलेका युवा पुस्तालाई त्यो हिसाबमा एकदमै सहज छ । तर, अहिलेको पुस्ताको गाउने शैली अलि बढी पश्चिमातिर ढल्किएको छ ।’

विष्ट अहिलेको युवा पुस्ताले पश्चिमा बाजा मात्रै नभई गाउने शैलीदेखि लवज नै पछ्याउन थालेसँगै पप संगीतबाट नेपालीपन हराउँदै गएको हो । ‘विदेशीले नेपाली बोल्यो भने कस्तो हुन्छ ? त्यस्तै लवजमा गीत गाइन्छ । यसरी अर्काको शैली होइन, आफ्नो शैली निर्माण गर्न सक्नुपर्‍यो । म नै हुनुपर्‍यो, अर्काको कपी गरेर चर्चामा आउनु क्षणिक हो । मिलियन भ्युज पाइएला । त्यस्तो संगीत पप होइन । अंग्रेजी बाजा बजाइए पनि स्वरमा नेपालपन दिन सकियो,’ विष्ट भन्छन्, ‘शब्द बिगार्ने काम २००० बाट सुरु भएको हो । टिमी मलाई किन नबोलेको ? त्यो त पूरा विदेशीले बोलेजस्तो सुनियो नि । हाम्रो आफ्नो नेपाली भाषा छैन । अर्काको शैली चोर्दा संगीत पनि चोरेको जस्तो भयो ।’

विष्ट नेपालीको आफ्नै मेलोडी रहेको बताउँछन् । ‘मेरो मौनतामा भन्ने गीत अंग्रेजी गीत गाएजस्तै छ त ? गाउने शैलीमा नेपालीपन छ । हो, हामीले बिटल्सहरूबाट पप गीत सुन्दै आयौं । रक एन्ड रोल सुन्दै आयौं । तर, अहिले पश्चिमा बाजा मात्रै होइन अंग्रेजी शैलीमै गाइन्छ । हो, अहिलेको युवाको स्पर एकदम मीठो छ । तर, उनीहरूले शब्द र मेलोडीमा काम गर्नुपर्‍यो । यी पक्षलाई सपार्दै अगाडि बढ्नुपर्‍यो । पश्चिमा बाजालाई प्रयोग गर्दा नेपालीपन राख्नुपर्‍यो । अनि मात्र विश्वमा हाम्रो नेपाली संगीत पुग्छ,’ उनले सुनाए ।

लोचन भने बढ्दो प्रविधिसँगै नेपाली पप संगीतलाई नयाँ स्वरूप दिलाउन सकिने धारणा राख्छन् । ‘ज्ञान, सिर्जनाकै आधारमा पनि संगीतमार्फत नेपाली पप संगीतलाई विश्वमा पुर्‍याउन सकिन्छ । हाम्रो संगीत सुन्नेबित्तिकै नेपाली हो भन्ने बुझ्न सकुन्,’ लोचनले सुनाए । लोचनले पनि पप संगीत हुँदै रक गरेका हुन् । ब्यान्डमा पनि बजाए । अनि, नेपाली संगीत क्षेत्रको भविष्यलाई कल्पँदै स्थानीय संगीत निर्माण गर्न थाले, रैथाने बाजा बजाउन थाले । ‘नेपाली बाजा मात्रै होइन, संसारलाई सुहाउँदो संगीत बनाउँदै अगाडि बढ्नुपर्छ,’ रिजालले भने, ‘पप संगीत भनेको संगीत निर्माण मात्र सीमित छैन । फिल्म संगीत पनि पप संगीत नै हो । म्युजिकको व्यापार पनि पप संगीत नै हो । त्यसैले संगीत क्षेत्रलाई बलियो बनाउन पप संगीतलाई बलियो बनाउनुपर्छ ।’

जुनै पनि पुस्ताको नजिकको संगीत हो, पप । युवा पुस्ताले आफ्नो मानेको यो विधा डिजिटल प्लेटफर्ममा पुर्‍याउन सक्दो प्रयास गर्नुपर्ने बताउँछन् लोचन । ‘गितार नै बजाए पनि, नेपाली बाजा बनाए पनि नेपाली गीत नै लेखे पनि त्यसको साउन्ड/म्युजिकको मुड निर्माण गर्न सक्यौं भने त्यो नेपाली संगीत हो,’ उनी भन्छन् । नेपालमा संगीतको उद्योग निर्माण गर्दै हिम्मतका साथ नेपाली संगीतलाई डिजिटल प्लेटफर्ममार्फत फैलाउन सके नेपाली संगीतलाई पनि के–पपजस्तै उचाइमा पुर्‍याउन सकिने उनको बुझाइ छ । ‘पप संगीतलाई त पपुलर बनाउन सकिन्छ । नयाँ संगीतलाई पनि पपुलर बनाउन सकिन्छ । तर, नेपालमा चलिआएको कुरालाई पछ्याउँदै संगीत गर्छौं । तर, नयाँ उत्पादन गर्न सकिरहेका छैनौं,’ उनले थपे । अन्तर्राष्ट्रियस्तरमा नेपाली संगीतलाई पपुलर बनाउन व्यवस्थापनदेखि संगीत निर्माण टोलीमा लगानी गर्नुपर्ने उनको धारणा छ ।

‍गायक नवीन के भट्टराई पप संगीतलाई नेपालमा अझै बुझ्न नसकिएको बताउँछन् । नेपालमा ड्रम र इलेक्ट्रिक गितार समाउनासाथ पप संगीतका रूपमा व्याख्या गर्ने गलत बुझाइ रहेको धारणा राख्छन् उनी । ‘जुन संगीत समाजमा पपुलर हुन्छ, त्यो पप संगीत हो । चाहे त्यो जुनसुकै विधामा किन नहोस्,’ पप संगीतमा लामो समयदेखि सक्रिय नवीन भन्छन्,’ हामीकहाँ बीचमा त ड्रम राख्नेबित्तिकै पप म्युजिक भनेर बुझियो । बीचतिर त पप संगीत खत्तम नै भएको थियो ।’ सुशान्त केसी, सज्जनराज वैद्यको संगीतमा भने उनी त्यस किसिमको बुझाइ भेट्दैनन् ।

‘हरेक दशकमा पप संगीतमा परिवर्तन हुँदै आउँछ । एउटा संगीतबाट अर्कोमा परिवर्तन हुँदाको ट्रान्जिसन हुने समयमा यस्तो भएको हो,’ उनले भने, ‘गीतको शब्द र प्रविधि अहिले परिवर्तन भएको छ ।’ उनले एनालगको जमाना हुँदै पप संगीत गर्दै आइरहेका नवीन अहिले कम्प्युटरको माउसबाटै संगीत निर्माण हुन थालेको बताए । ‘हाम्रो पालामा चिया पिउँदै गर्दा अकस्टिक गितारमै संगीत बन्थ्यो । अहिलेका पुस्ताले युट्युबबाटै पनि संगीत सिक्ने अवसर पाएका छन्,’ उनी भन्छन्, ‘हाम्रो पालामा संगीतमा मानवीय छुवाई हुन्थ्यो । त्यतिबेला गीत शब्द हुन्थ्यो, ५/७ जना बसेर बजाउँथ्यौं । तर अहिले कम्प्युटरमै संगीत बन्छ ।’

पप विधामा गायिकातर्फको अवार्ड उचालेकी सुवानी मोक्तान थप्छिन्,’ रिमिक्सको समयमा पप संगीत अलि बढी लाउड हुन्थ्यो । तर, अहिले अलि बढी मेलोडी छ । गीतको शब्दमा ध्यान दिने लेखकहरू आएका छन् । पहिला एउटैजस्तै सुनिने आवाज हुन्थ्यो । तर, अहिले फरक अनि पृथक् स्वरहरू पप संगीतमा सुनिन थालेको छ ।’

प्रकाशित : असार ३, २०८१ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?