कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

धान स्याहार्ने र रोप्ने मेसिनले किसानलाई सहज

रमेशकुमार पौडेल

चितवन — असार लागेसँगै चितवनको पूर्वी भेगमा धान रोप्ने मात्रै हैन स्याहार्ने चटारो पनि बढ्छ । चैतमा रोपेको धान जेठको अन्तिम तिरबाट पाक्न सुरु हुन्छ । पाकेको धान स्याहारेसँगै बर्खे धान रोप्न सुरु हुन्छ । मनसुन सक्रिय भएर पानी परेका बेलामा धान स्याहार्नु सकसपूर्ण हुन्छ । तर चितवनका किसानलाई मनसुनमा पाक्ने धान स्याहार्न ठूला मेसिनहरूले साह्रै सजिलो बनाएका छन् ।

कम्बाइन्ड हार्भेस्टर भनिने ठूलो मेशिन अहिले चितवनको चैते धान पाकेका फाँटहरुमा छ्याप छ्याप्ती देखिन्छन् । यो मेसिनले पाकेको धान काटेर पराल एकातिर, धानको दाना एकातिर बनाउँछ । खेतमै पुगेको ट्रयाक्टरको ट्रलीमै धान खन्याइदिन्छ । काट्ने, मुठा बाँध्ने, बोक्ने, धान झार्ने जस्ता काम गर्नै नपर्ने भएका कारण बर्खायाममा धान स्याहार्न कम्बाइन हार्भेस्टर किसानका लागि ठूलो सहयोगी भएको छ ।

यो मेसिन नहुँदा असारको वर्खामास पाक्ने चैते धान भित्राउन निकै गाह्रो हुने गरेको चितवन खैरहनी नगरपालिका–१२ सिसहनीकी रिता रेग्मीले बताइन् । चितवनमा चैते धानको खेति विशेष गरेर जिल्लाको पुर्वी भेगमा पर्ने रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाको राजमार्गदेखि दक्षिण राप्ती नदी आसपासका बढी हुने गरेको छ । १०/१५ वर्षयता चितवनमा चैते धान काट्न कम्बाइन हार्भेस्टरको प्रयोग बढ्दो छ ।

यो बेला खेतमा धान स्याहार्ने कम्बाइन हार्भेस्टर मात्रै हैन रोप्ने मेसिनहरू पनि देखा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वन इकाइ भरतपुका अधिकारीहरूका अनुसार ८० प्रतिशतभन्दा धेरै किसानले चैते धान स्यार्न कम्बाइन हार्भेस्टर प्रयोग गर्दछन् । धान रोप्ने मेसिनको प्रयोग त्यो अनुरुप भने छैन । चार वर्षयता प्रयोग गर्ने किसानको संख्या बढ्दो छ । चितवनमा मेसिनले धान रोप्न सुरु गरेको १० वर्ष भयो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यन्वन इकाइ भरतपुका प्रमुख महेश रेग्मीका अनुसार धान रोप्ने मेसिन चितवनमा ६ वटा छन् । तर कम्तिमा दुई सय मेसिन यहाँ आवश्यक छ । परम्परागत तरिकाले धान खेति गर्दै आएका किसानहरू झट्टै मेसिन तर्फ आकर्षित नहुने उनको अनुभव छ । मेसिनले धान रोप्न ठुला गह्रा, समथर जमिन, पानीको उचित मात्रा आवश्यक हुन्छ ।

धानको बीउ राख्दा नै छुट्टै तरिकाले ट्रेमा राख्नु पर्दछ । त्यसैले अनुभव नभएका किसानहरूले झण्झट मान्न सक्छन् । तर मेसिनले रोप्ने किसानहरूले यसैमा जोड गर्ने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यन्वन इकाइ भरतपुका कृषि अधिकृत तथा सूचना अधिकारी इन्द्र ढुंगनाले बताए । खर्च कम लाग्ने र धेरै फल्ने हुँदा मेसिनले धान राप्नु फाइदाजनक छ भन्छन् उनी ।


प्रकाशित : असार १२, २०८१ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्